सोमबार, असोज २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा टिकट हात पार्न केन्द्रसम्मै लबिङ, एमाले विभाजन हुँदा कांग्रेसलाई अवसर

Siddartha premir insuranceSiddartha premir insurance

बुटवलमा टिकट हात पार्न केन्द्रसम्मै लबिङ, एमाले विभाजन हुँदा कांग्रेसलाई अवसर

एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकाले एमालेका लागि बुटवलमा चुनौती थपिएको छ। कांग्रेस भने यो पटक एमालेको किल्ला जसरी पनि भत्काउने रणनीतिमा छ। पाँच दलीय गठबन्धनको सरकार भएकाले पनि कांग्रेसका नेताहरु यो पटक थप हौसिएका छन्।
 |  शुक्रबार, चैत ११, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

शुक्रबार, चैत ११, २०७८

बुटवल– नेपालको राजनीतिमा महत्वपूर्ण मानिने बुटवल उपमहानगरमा भावी मेयरका लागि नेताहरुले केन्द्रीय नेताहरुसँग लबिङ सुरु गरेका छन्। आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको माहोल तातिँदै जाँदा नेताहरुको दौडधुप पनि बढेको छ।

triton college

मुख्य गरी नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु नगर प्रमुखको टिकटका लागि जिल्लादेखि केन्द्रसम्मका नेताहरुकहाँ धाइरहेका छन्। मेयरमा अन्य दलहरुले दाबी गरे पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेका उम्मेदवारका बीचमा नै हुनेछ। एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर एवं निर्वाचन क्षेत्र समेत भएकाले यो पटक एमालेलाई अस्तित्व रक्षा गर्न चुनौती छ।

एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकाले एमालेका लागि बुटवलमा चुनौती थपिएको हो। कांग्रेस भने यो पटक एमालेको किल्ला जसरी पनि भत्काउने रणनीतिमा छ। पाँच दलीय गठबन्धनको सरकार भएकाले पनि कांग्रेसका नेताहरु यो पटक थप हौसिएका छन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा गठबन्धन गर्ने ठोस सहमति नभए पनि बुटवलमा भने कांग्रेसका नेताहरु गठबन्धनबाटै चुनाव जित्ने पक्षमा देखिन्छन्। यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गरेर कांग्रेस बुटवलमा चुनावमा भिडेको थियो। त्यतिखेर एमालेबाट मेयरमा निर्वाचित शिवराज सुवेदीलाई कांग्रेसका खेलराज पाण्डेले चुनौती दिएका थिए।

सुवेदीले पाण्डेलाई २ हजार ३ सय ९८ मतान्तरले पराजित गरेका थिए। एमालेका सुवेदीले २३ हजार २४९ र माओवादी केन्द्रको समेत समर्थन पाएका कांगे्रसका उम्मेदवार पाण्डेले २० हजार ८५१ मत लिएका थिए। यो मतका आधारमा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले टिकट पाए एमालेका लागि अस्तित्व रक्षा गर्न नै चुनौती हुने एमालेका एक नेताले बताए। 

Metro Mart
vianet

एमालेमा आकांक्षी धेरै, केन्द्रीय नेताको भर  

एमालेबाट बुटवलमा मेयरका लागि आकांक्षी धेरै छन्। पार्टी अध्यक्ष केपी ओलीसँग निकट भएका नेताहरुले टिकटका लागि लबिङ थालिसकेका छन्। बहालवाला मेयर शिवराज सुवेदी दोहोरिनका लागि केन्द्रीय नेताहरुसँग तीव्र लबिङमा छन्। स्थानीय र जिल्ला तहमा सुवेदीको कार्यशैली र विकास निर्माणमा सुवेदीसँग एमालेका नेता र कार्यकर्ता नै असन्तुष्ट भएपछि सुवेदीले केन्द्रबाट नै लबिङ सुरु गरेका हुन्। 

यसअघि पनि गोपाल राना र बाबुराम भट्टराईको नाम सिफारिस हुँदा उनले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलमार्फत टिकट लिएर मेयरमा उठेका थिए। सुवेदीले २०७४ मा पनि उपाध्यक्ष विष्णु पौडेललाई बाइपास गरेर केन्द्रबाटै सिधै टिकट ल्याएकाले यो पटक पनि उनको सम्भावना बलियो रहेको नेताहरुको भनाइ छ। 

एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकाले एमालेका लागि बुटवलमा चुनौती थपिएको छ। कांग्रेस भने यो पटक एमालेको किल्ला जसरी पनि भत्काउने रणनीतिमा छ। पाँच दलीय गठबन्धनको सरकार भएकाले पनि कांग्रेसका नेताहरु यो पटक थप हौसिएका छन्। 

पार्टीका केन्द्रीय सदस्य समेत रहेका सुवेदी वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल मार्फत अध्यक्ष केपी ओलीबाट टिकट ल्याउन लागिपरेका छन्। उपाध्यक्ष विष्णु पौडेलले भने व्यवसायी समेत रहेका गोपाल रानालाई अघि सारेका छन्। राना युवा पुुस्तामा भिजेको र अघिल्लो पटक पनि मेयरका लागि तयार भएकाले उनको सम्भावना पनि उत्तिकै छ। रानाले विष्णु पौडेल मार्फत लबिङ थालेका छन्। रानाले पनि पछिल्लो समय ओलीसँग निकट सम्बन्ध कायम गरेका छन्।

एमालेमा अर्को प्रमुख दावेबार हुन् उपप्रमुख गोमादेवी आचार्य। आचार्यले बुटवल उपमहानगरमा अघिल्लो पटक लोकप्रिय मत ल्याएकी थिइन्। सुवेदीको भन्दा ६ हजार बढी मत ल्याएको र कामको हिसाबले प्रमुखमा अपग्रेडको तयारीमा जुटेको उनी बताउँछिन्। आचार्यले पार्टीले समावेशिता, लैंगिकताका सवालमा संवेदनशिल भएकाले आफूूले टिकट पाउने निकटहरुसँग बताउँछिन्। एमालेबाट सावित्रा अर्याल, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, बाबुराम भट्टराईको पनि चर्चा छ। एमालेको बिहीबारको बैठकले उपमहानगर र महानगरको उम्मेदवार सम्बन्धित क्षेत्रको कमिटी, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रबाट टुंग्याउने निर्णय गरेको छ। यसबाट बुटवलमा उपप्रमुखका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्माहरुको भूमिका बढेको छ। 

कांग्रेसमा एकै गुटका धेरै आकांक्षी 

यो पटक सत्ता गठबन्धन हुने आशमा नेपाली कांग्रेसमा मेयर बन्नका लागि आकांक्षीहरुको लस्करै देखिन्छ। एमाले विभाजन र गठबन्धन कायम हुने भएपछि नेताहरुमा मेयर बन्ने लालसा थपिएको हो। कांग्रेसमा बुटवलको मेयरका मुख्य आकांक्षी हुन् बुटवल उपमहानगर सभापति समेत रहेका नेता खेलराज पाण्डे। २०७४ सालको निर्वाचनमा पाण्डे एमालेका शिवराज सुवेदीसँग झिनो मतले पराजित भएका थिए। त्यसैले अहिले कांग्रेसबाट पाण्डेलाई अघि सार्दा चुनाव जित्न सहज हुने विश्लेषण छ। सादगी जीवनका कारण पाण्डेलाई टिकट दिँदा न्याय हुने कांग्रेसीहरुकै भनाइ छ। तर, कांग्रेस महाधिवेशनका बेलामा पाण्डे गुटमा बढी सक्रिय भएको आरोप पनि लागेको छ। यति हुँदाहुँदै पनि कांग्रेसबाट बलियो उम्मेदवारका रुपमा पाण्डेकै चर्चा छ। 

त्यस्तै कांग्रेसबाट अर्का बलियो दाबेदार हुन् क्षेत्रीय सभापति हरि लम्साल। दुुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालेका लम्सालले टिकट पाउने सम्भावना पनि उत्तिकै छ। उनले औपचारिक रुपमा नभने पनि नेताहरुसँग लबिङमा लागेका छन्। पाण्डे र लम्सालमध्ये एक जनाले टिकट पाउने सम्भावना छ। दुवै संस्थापन इतरका भएकाले टिकटमा संस्थापनको हस्तक्षेपको आकलन पनि गरिएको छ। यद्यपि गठबन्धन हुँदा भने पाण्डे र लम्साल नै अन्य पार्टीको रोजाइमा पर्नेछन्।

कांग्रेसबाट मेयरका लागि व्यवसायीहरु सुरेन्द्र श्रेष्ठ, चुन्नु पौडेलको पनि चर्चा छ। त्यस्तै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देहीका इन्चार्ज डा. बालकृष्ण चापागाइँको पनि चर्चा छ। कांग्रेसमा टिकट ल्याउनमा गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र नेता चन्द्र भण्डारीको भूमिका पनि निर्णायक हुने देखिएको छ।  

उपप्रमुखमा पनि चर्चा चुलिँदै  

गठबन्धन भएको अवस्थामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले भने उपप्रमुखमा दाबी गरेका छन्।  माओवादी केन्द्रमा उपप्रमुखमा मञ्जु भुसाल, मनोज राना मगर लगायतका नेताहरुको चर्चा सुरु भएको छ। यद्यपि माओवादी केन्द्रले औपचारिक रुपमा कुनै छलफल अघि बढाएको छैन। बुटवल उपमहानगर कमिटी नै विवादले नेतृत्वविहीन भएकाले माओवादी अलमलमा छ।  

त्यस्तै नेकपा एमालेबाट विभाजन भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन हुँदा उपपप्रमुखमा दाबी गर्ने जनाएको छ। समाजवादीबाट उपप्रमुखमा चिन बहादुर गुरुङले दाबी गरेका छन्। बहालवाला जनप्रतिनिधि समेत रहेका गुरुङ समाजवादीका बुटवल नगर अध्यक्ष हुन्।

त्यस्तै उपप्रमुखमा एमालेबाट टंक पोखरेल, खेम लुइँटेल, महेन्द्र लिगल र कल्पना थापाको समेत चर्चामा छ। त्यस्तै राष्ट्रिय जनमोर्चाबाट व्यवसायी समेत रहेका पदम श्रेष्ठको पनि चर्चा छ। 


प्रकाशित: Mar 25, 2022| 13:10 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।