काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो।
छलफलमा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमतिबमोजिम रिहाइ गर्न आग्रह गरे।
गृहमन्त्री खाँणले प्रक्रिया पुर्याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाइ गर्न पहल गर्ने आश्वासन दिएका छन्।
गृहमन्त्रीको सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ।
छलफलमा नेपाल सरकारकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पार्टीका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ।