सोमबार, असोज २१, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अस्तव्यस्त विकासले बुटवलमा हिँड्नै सकस

बुटवल उपमहानगर, प्रदेश सरकार र संघीय सरकारको समेत सडक निर्माण एकैचौटी सुरु हुँदा राजमार्गदेखि भित्री सडकसम्म नगरबासीले धुलो खान बाध्य छन् भने सडकमा यात्रुले सास्ती पाएका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

शुक्रबार, फागुन २७, २०७८

बुटवल– स्थानीय तहको कार्यकाल सकिनै लाग्दा बुटवलमा एकैचोटी भित्री सडकको निर्माण सुरु भएपछि नगरवासीले पाउनुसम्मको सास्ती पाएका छन्। बुटवल उपमहानगर, प्रदेश सरकार र संघीय सरकारको समेत सडक निर्माण एकैचौटी सुरु हुँदा राजमार्गदेखि भित्री सडकसम्म नगरबासीले धुलो खान बाध्य छन् भने सडकमा यात्रुले सास्ती पाएका छन्। मुख्य राजमार्ग क्षेत्र विगत दुई वर्षदेखि भत्किएर खाल्डैखाल्डा छन्। 

triton college

संघीय सरकारको योजनाअनुसार बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक २ वर्ष अघि नै ६ लेनका रुपमा सम्पन्न गर्नुपर्ने हो। तर, ठेकेदार कम्पनीको लापरवाही र डिभिजन सडक कार्यालयको बेवास्ताका कारण अहिले बल्ल सडकको दायाँबायाँ नाली निर्माण धमाधम चलिरहेको छ। एकातर्फ मुख्य राजमार्ग क्षेत्रका दायाँबायाँ नाली निर्माणले भित्री सडकसँगको सम्बन्ध विच्छेद गराएको छ भने अर्कोतर्फ बुटवल उपमहानगरले अधिकांश सडक निर्माण स्थानीय तहको चुनाव अगावै सकाउने गरी काम गर्न निर्माण कम्पनीलाई दबाब दिएको छ।

निर्वाचनको मुखैमा बुुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले आफ्नो काम देखाउनका लागि भित्री सडकको काम जसरी पनि सक्न निर्देशन दिएपछि सडकको निकास नै नहुने गरी भए पनि काम शुरु गरिएको हो। बुटवल उपमहानगरभित्रका १९ वटै वडामा सडक ग्राभेल, पिच धमाधम भइरहेको छ। वडा कार्यालयले २५ लाखसम्मका सडक योजना आफै‌ले बनाएको छ भने करिब दुई दर्जनको हाराहारीमा भित्री सडक कालोपत्रे र ग्राभेल बुटवल उपमहानगरपालिकाले कार्यान्वयनमा लगेको छ।

कुनै संकेत चिन्ह समेत नराखेर सडक निर्माण भएपछि सडक छेउका नागरिकले धुलो र यात्रुले हैरानी भोग्नुपरेको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए। ‘बुटवलको विकास यति अस्तव्यस्त छ कि अहिले चारैतिर सडक बन्द छ। संकेत चिन्ह पनि नराख्दा सडक पार गर्न कठिन छ,’ जिसीले भने। 

बुटवल उपमहानगर, प्रदेश सरकार र संघीय सरकारको समेत सडक निर्माण एकैचौटी सुरु हुँदा राजमार्गदेखि भित्री सडकसम्म नगरबासीले धुलो खान बाध्य छन् भने सडकमा यात्रुले सास्ती पाएका छन्।

उनले सडक निर्माणको अनुगमन समेत नहुँदा निर्माण व्यवसायीहरूले समेत लापरवाही गरेको बताए। ‘सडक छेउमा व्यापार गरेका, घर भएकाहरूले धुलो खाँदा खाँदा स्वास्थ्यमा समेत समस्या आइरहेको छ। यस्तो अस्तव्यस्त विकासबारे जनप्रतिनिधिको ध्यान किन पुगेन?’ जिसीको प्रश्न छ। उनका अनुसार काम देखाउने नाममा गुणस्तरहीन काम भइरहेको छ। 

Metro Mart
vianet

बुटवल उपमहानगरले अधिकांश सम्झौता माघ–फागुनमा गरेको छ। ती सम्झौताका कामहरू सकेसम्म वैशाख अगावै सकाउन निर्माण कम्पनीलाई ताकेता गरेको एक निर्माण व्यवसायीले बताए। ‘हामीलाई यति प्रेसर छ कि कम्तीमा ६ महिना लाग्ने काम सम्झौता भएको ३ महिना पनि नपुग्दै सकाउन दबाब आइरहेको छ,’ उनले भने, ‘यस्तो हतारमा गर्ने विकासको काम कति गुणस्तरीय होला, आम सर्वसाधारणले मूल्यांकन गर्ने विषय हो।’ 

अधिकांश सडकका योजना चैत मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ। बुटवलको बेलभरिया चौकदेसिख कर्साघाटसम्म कालोपत्रेको काम भइरहेको छ। पहिलो चरणमा २ करोड ४ लाख २३ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै दोस्रो चरणका लागि टेन्डर आह्वान भएको योजना शाखाका अधिकृत डोलराज पौडेलले बताए। उनका अनुसार दोस्रो चरणमा ७५ लाख ३१ हजार लागत लाग्ने छ। 

त्यस्तै बुटवल–११ मा देवसिद्ध चौकदेखि सिमारोडसम्म १ करोड ८० लाख ५ हजार लागतमा कालोपत्रे सडक धमाधम चलिरेहको छ। २०७९ वैशाख २१ सम्म सम्पन्न गर्नुपर्ने गरी यो निर्माण शुरु भएको हो। गाल्भा जगत्रादेवीले ठेक्का सम्झौता लिएर काम अघि बढाएको छ। यो सडक पुस २२ गते सम्झौता भएको हो। त्यस्तै बुटवल वडा नम्बर ११ रंगशाला मार्ग ६ करोड ७० लाख १४ हजार ६ सय रुपैयाँमा निर्माण भइरहेको छ। १.२ किमि सडक २०७९ जेठ १५ गते सम्पन्न गर्ने गरी श्री रायमाझी प्रदीप जेभीले जिम्मेवारी लिएको छ। 

यसैगरी वडा नम्बर ५ र ६ थौक मण्डी जाने बाटो सम्झौताको चरणमा रहेको छ। यसका लागि २७ लाख २३ हजार रुपैयाँ छुट्याइएको छ। यसैगरी वडा नम्बर ७ लखनपथ सडक निर्माण पनि भइरहेको छ। ४२ लाख ६८ हजार ठेक्का सम्झौतामा सिभिल बिल्डर्स एण्ड इञ्जिनियरिङ कम्पनीले निर्माण थालेको हो। चैत मसान्तसम्ममा यो सडक पूरा गर्नुपर्ने छ।

यसैगरी अमरसिंह पथका लागि सिभिल बिल्डर्स एण्ड इञ्जिनियरिङ कम्पनीले २८ लाख ५३ हजारमा सडक निर्माण गरिरहेको छ। चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ। यीबाहेक प्रदेश सरकारले निर्माण गरेको कालिकापथ पनि धमाधम निर्माण भइरहेको छ। बुटवलको कालिकापथ सडक निर्माणले होटल, रेष्टुरेन्ट, पसल तथा घरहरू धुलाम्मे भएपछि स्थानीयको स्वास्थ्यमा समस्या परेको छ। उक्त सडक हुँदै दैनिक यात्रा गर्नेहरूको स्वास्थ्यमा समेत नराम्रोसँग असर गरेको छ। निर्माण कम्पनीले सडक बनाउने क्रममा धुलो नियन्त्रणका लागि राख्नु पर्ने भए पनि त्यसो नगरिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च बुटवल उपमहानगरले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

‘अहिले बुटवलमा यसरी सडक बनेका छन कि हिँड्ने बाटो नै छैन,’ देवीनगरमा भेटिएका कमल भण्डारीले भने। उनका अनुसार बुटवलमा नयाँ मान्छे हिँड्न सक्ने अवस्था छैन। पूर्वाधार निर्माण नै देखिने भएकाले हतारहतारमा बुटवललाई नाकाबन्दी गरेर सडक निर्माण शुरु भइरहेको हो। यद्यपि बुटवल उपमहानगरले भने कोरोना महामारीले अघिल्लो वर्ष रोकिएका आयोजना शुरु भएकाले पनि एकैचौटी काम भएको जस्तो देखिएको बताएको छ।

उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले नागरिकलाई अवरोध नहुने गरी काम गर्न निर्देशन दिइएको बताए। उनले बुटवल उपमहानगरसँगै प्रदेश र संघीय सरकारका योजनाहरू पनि अघि बढेकाले सर्वसाधारणलाई असहज भएको बताए। ‘कोरोनाले गर्दा अघिल्लो वर्ष रोकिएका कामहरू पनि भएका छन्, वडाको काम पनि भइरहेको छ। त्यसैले एकैचौटी काम भएको हो,’ उनले भने, ‘अवरोध नहुने गरी काम गर्न निर्माण कम्पनीलाई भनिएको छ।’ 

प्रकाशित: Mar 11, 2022| 13:39 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।