मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन नजिकिएसँगै जनप्रतिनिधिमा पार्टी परिवर्तनको लहर [नामसहित]

निर्वाचन नजिकिएसँगै जनप्रतिनिधिमा पार्टी परिवर्तनको लहर [नामसहित]

अधिकांशले एमसीसी पास गरेको विषयलाई मुख्य कारण बनाउँदै आफू निर्वाचित भएको पार्टी छाड्न थालेको पाइन्छ। यसबाहेक स्थानीय राजनीतिक दलको कामकारबाही चित्त नबुझेर पनि जनप्रतिनिधिहरूले आफ्नो मूल पार्टी छाडेको देखिन्छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- स्थानीय निर्वाचन नजिकिँदै जाँदा देशभरिका स्थानीय तहका जनप्रतिनिधिहरूले धमाधम पार्टी परिवर्तन गर्न थालेका छन्। अधिकांशले एमसीसी पास गरेको विषयलाई मुख्य कारण बनाउँदै आफू निर्वाचित भएको पार्टी छाड्न थालेको पाइन्छ। यसबाहेक स्थानीय राजनीतिक दलको कामकारबाही चित्त नबुझेर पनि जनप्रतिनिधिहरूले आफ्नो मूल पार्टी छाडेको देखिन्छ। 

मोरङ :

फागुन २५ गते मोरङ रंगेलीका माओवादीका मेयर र उपमेयरलाई आफ्नो पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली नै रंगेली पुगेका थिए। 

रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराललाई अध्यक्ष ओलीले नै टीका लगाएर नेकपा एमालेका प्रवेश गराएका हुन्। उनीहरुसँगै रंगेलीका वडा १, ५ र ७ बाट निर्वाचित वडाअध्यक्षहरू एमालेमा प्रवेश गरे।

रुपन्देही :

रूपन्देहीका १६ स्थानीय तहमध्ये चार स्थानीय तहका प्रमुखले चुनावको मुखमा पार्टी परिवर्तन गरेका छन्। रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट एमाले प्रवेश गरेका छन्। अघिल्लो चुनावमा सनोजकुमार संघीय समाजवादी फोरम र हीरा केवट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। 

उनीहरूसँगै माओवादी केन्द्रबाट निर्वाचित ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन पनि एमालेमा प्रवेश गरेकी छन्। जसपाबाट चुनाव जितेका सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला भने एमाले हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका छन्। मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँ गत स्थानीय निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका हुन्। हाल उनी लोकतान्त्रिक समाजवादीका नेता छन्।

डोटी :

डोटीमा यसै साता कांग्रेस तथा एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्वागत गरेका थिए। डोटीको बडिकेदार गाउँपालिका वडा नं २ का वडाअध्यक्ष रामबहादुर नाम्जालीसहित दश जनाले एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए। 

महोत्तरी :

अघिल्लो साता माओवादीका महोत्तरी जिल्ला संयोजक तुलसी प्रसाद ढुंगानासहित बर्दिबास नगरपालिका वडा नम्बर-३ का अध्यक्ष नरबहादुर खनालले माओवादी परित्याग गरे। उनीहरूले नयाँ पार्टी भने खुलाएका छैनन्।

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा माओवादी केन्द्र परित्याग गरेर रोशी गाउँपालिका वडा ५ का निर्वाचित वडा सदस्य सन्च लामा  एमाले प्रवेश गरेकी छन्।

सिन्धुपाल्चोक :

बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्याग गरेका छन्। एमाले सिन्धुपाल्चोकको जिल्ला अध्यक्षका दावेदार रहेका क्षेत्रीले एमाले छाडेर कुन पार्टी गएको अहिले खुलाएका छैनन्।

बारा :

बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन्। 


प्रकाशित: Mar 10, 2022| 19:53 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...