काठमाडौं- नेपाली महिला क्रिकेटको पुरुषको तुलनामा निकै कम हुने गरेको छ। सायद महिला टिम विश्वकपमा नपुगेर हो कि? तर, मिहिला खेलाडीको भने योगदान कुनै पुरुष क्रिकेटको भन्दा कम छैन।
राष्ट्रिय टिम र घरेलु महिला क्रिकेटमा शानदार प्रर्दशन दिइरहने नेपाली खेलाडी हुन्, ज्योति पाण्डे। फागुन १६ गते त्रिवि क्रिकेट मैदानमा सम्पन्न ललितपुर मेयर च्याम्पियनसिपमा एपीएफले उपाधि जित्दा सबैभन्दा उत्कृष्ट खेलाडी रहिन् ब्याट्स्वुमन जयोती।
‘आफ्नो प्रदर्शनबाट खुसी छु। सोचेजस्तो प्रर्दशन भएको छ। त्यसैले आएम ह्याप्पी,’ तीन विधामा उत्कृष्ट भएर पाएको पुरस्कार हातमा लिएर ज्योतीले भनिन्। फाइनल खेलमा प्लेयर अफ दी म्याच बनेकी जयोतीले उत्कृष्ट ब्याटर बन्दै १५ हजार पुरस्कार पाइन्। सर्वोत्कृष्ट खेलाडीको २५ हजार पुरस्कार पनि उनकै पोल्टामा पर्यो।
फाइनल खेलमा एपीएफको जितमा उनले सर्वाधिक ४३ रन बनाएकी थिइन्। जहाँ उनले सुरुबाटै आक्रामक ब्याटिङ गरेर अविजित रहँदै टिमलाई जिताइन्। ‘फाइनलमा ११४ को लक्ष्य थियो। धेरै होइन। त्यसैले लुज बल मात्र ठूलो सट खेलेको हो। सुदूरपश्चिमको चिनेकै बलरहरु भएको कारण खेल्न सजिलो भएको हो,’ उनले खेलपछि भनिन्।
पाण्डेले प्रतियोगितामा एक अर्धशतक प्रहार गरिन्। त्यो अर्धसतकसँगै उनले प्रतियोगितामा कूल १५५ रन बनाइन्। त्यसले राष्ट्रिय टिममा स्थान पक्का गर्न थप सहयोग गर्ने उनको ठम्याइ छ। त्यसो त ज्योतीले सन् २०१६ मा नै राष्ट्रिय टिमबाट डेब्यु गरिसकेकी छन्।
‘पछिल्लो समय ललितपुर मेयर कप र पीएम कपमा प्रदेश १ र सूदुरपश्चिमको बलर राम्रा आएका छन्। हाम्रो पुरानो बलरहरु पनि राम्रो भएर आउनुभएको छ। यी खेलहरुले राष्ट्रिय टिममा पनि प्रतिस्पर्धा बढेको छ,’ २५ वर्षे जयोतीले भनिन्।
विराटनगरकी ज्योती घरबाटै क्रिकेटको वातावारणमा हुर्किन्। उनका बुबा प्रदिप राज पाण्डे क्रिकेटका प्रशिक्षक हुन्। ‘बुबा प्रशिक्षक हुनुहुन्छ। उहाँ पूर्वाञ्चलको प्रशिक्षक हुनुहुन्थ्यो। पछि राष्ट्रिय टिममा पनि प्रशिक्षण गराउनु भयो,’ उनले भनिन्। प्रदिपले महिला टिम र यू १९ टिमको जिम्मेवारी सम्हालिसकेका छन्। नेपालमै १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली क्रिकेट टिम सहभागी बन्दा प्रदिप सहायक प्रशिक्षक थिए।
प्रदिपले सानैबाट ज्योतीलाई क्रिकेटका स्किल सिकाए। तर त्यतिबेला ज्योती टेबलटेनिस र ब्याडमिन्टन खेल्थिन्। यता बुबाले घरमा क्रिकेटका सामानहरु ल्याएर राख्थे।
त्यतिबेला अहिलेजस्तो सबैकुरा सहज र डिजिटल भइसकेको थिएन। प्रदिपले विभिन्न खेलाडीको 'सीडी' र 'डीभीडी' घरमा लग्थे। समय कटाउन उनी उक्त क्रिकेटका डीभीडीहरु हेर्ने गर्थिन्।
‘घरमा ड्याडीले गेमको सीडीहरु लिएर आउनु हुन्थ्यो। म त्यही सिडीमा खेलहरु हेर्थे। क्रिकेट सुरु गर्नुअघि मिथाली राजको खेल हेर्थेँ। मेरो इन्सिपिरेसन हुन्, उनी,’ ज्योतिले विगतका कुरा सुनाइन, ‘अष्ट्रेलियन खेलाडीहरुको पनि सीडीहरु टन्नै हुन्थे। त्यो समयमा मिथाली मनपर्थ्यो।’
भारतीय क्रिकेटर मिथाली राज धेरै युवाहरुको प्रेरणाको स्रोत हुन्। उनी टी२० अन्तर्राष्ट्रियमा दुई हजार रन पूरा गर्ने पहिलो भारतीय क्रिकेटर हुन्। मिथालीको खेल हेरेर त्यसको प्रभावमा नपर्ने सायदै कोही होला। ज्योतीलाई मिथालीको प्रभाव मात्र परेन। उनले जीवनलाई नै क्रिकेटमा लैजाने सोचिन्।
विराटनगरमा क्रिकेटको क्रेज धेरै नै छ। उनले त्यहाँको टिमबाट क्रिकेट खेल्न थालिन्। ‘त्यहाँको बोइज टिम निकै राम्रो थियो। घरमा पनि क्रिकेटको माहोल धेरै। तर महिला क्रिकेट त्यति राम्रो थिएन। मैले खेल्न सुरु गर्दा नै महिला टिमको पनि विकास सुरु भयो,’ उनले विगतका कुरा सम्झिइन्, ‘त्यहाँ खेल्नका लागि लाहान र झापाको टिमहरु आइरहेका हुन्थे। हामी लोकल प्रतियोगिता खेल्थ्यौँ। विस्तारै राष्ट्रिय खेल पनि सुरु भयो। अनि राष्ट्रिय टिमसम्म आइपुगेँ।’
त्यसो, नेपालको तराई क्षेत्रमा भरतीय क्रिकेटको निकै ठूलो प्रभाव छ। त्यो प्रभाव त राष्ट्रिय टिमसम्म पनि देखिएकै छ। त्यो प्रभावले महिला खलाडी बन्न चाहनेलाई कमै मात्र छोएको होला।
‘केटाहरुको खेलमा त्यो प्रभाव परेको थियो। मलाई चाहीँ त्यो प्रभाव खासै परेन। अनि केटीहरुको टिम पनि त थिएन। हामी बसेको ठाउँ विराटनगरको एक टिम मात्रै थियो। अनि झापा र लाहानको अर्को टिम थियो। तर मलाई प्रेरणा दिने भारतको प्रभावभन्दा सीडीमा हरेका खेलहरु नै हुन्,’ उनले सुनाइन्।
त्यतिबेला ज्योती स्थानीय प्रतियोगिता र मैत्रीपूर्ण खेल्थिन्। त्यसपछि राष्ट्रिय प्रतियोगिताका बारेमा थाहा पाइन्। ‘त्यो थाहा पाएर जिल्ला छनोटमा गएँ। त्यसरी नै छनोट हुँदै-हुँदै राष्ट्रिय टिमसम्म पुगेकी हुँ,’ उनले भनिन्, ‘मैले सन् २०१६ देखि राष्ट्रिय टिमबाट खेल्न थालेको हो। त्योभन्दा अघि म क्याम्पमा पर्थेँ, अन्तिम १५ मा नपरेपछि आउट हुन्थेँ। तर जतिपटक क्याम्पमा परेँ केही न केही सिकेर मात्र बाहिरिएको छु।’
तर बिडम्बना नेपालमा लामो फर्म्याटको खेल नभएको कारण खेलाडीले पर्याप्त अवसर पाएका छैनन् भन्ने लाग्छ, ज्योतिलाई। लामो फर्म्याटको खेल पनि आवश्यक हुन्छ। ब्याटरहरुको धैर्यता पहिचान गर्न र अभ्यास बढाउनका लागि पनि लामो फर्म्याटको खेलको आवश्यकता रहेको ज्योती बताउँछिन्। उनले भनिन,‘टी २० मा हामी दुई-तीन जनाले खेल्छौं। अरुले अवसर नै पाउँदैनन्। त्यसैले पनि नयाँ खेलाडी ल्याउन सकियोस भन्ने लागेको छ। लामो फर्म्याट भयो भने खेलाडीले पनि आफ्नो क्षमता पहिचान गर्ने अवसर पाउने छन्।’
नेपालका प्रतियोगिता छोटो फर्म्याटको हुन्छ, त्यसमा पनि थोरै समयका लागि। पहिलेको तुलनामा प्रतियोगिता बढे पनि लामो समय चल्ने प्रतियोगिता छैनन्। प्रतियोगिता भयो भने पनि अगाडि आएर खेल्ने भनेको तीनै पुराना खेलाडी हुन्छन्। जित निकाल्ने दबाब बनेपछि नयाँ खेलाडीबाट रिस्क लिन कुनै टिम चाहँदैन।
त्यसैले पुरानै खेलाडीले धेरै अवसर पाइरहेका छन् भने नयाँलाई अवसर कम छ। ‘यस्तो छोटो प्रतियोगितामा नयाँलाई ल्याएर एकैपटक एक्सपोज गर्न पनि सबैलाई गाह्रो छ। यसका लागि धेरै प्रतियोगिता अझै भइदिए, त्यो सम्भव होला नि,’ उनले भनिन्, ‘अहिले ग्रासरुट क्रिकेटमा प्रतियोगिता हुन सकेका छैनन्। स्कुलस्तरमा प्रतियोगिता हुन सके मात्र क्रिकेटको विकास हुन्छ। त्यसमा पनि महिला क्रिकेटमा त ग्रासरुटका प्रतियोगिता शून्य नै छन्।’
‘केटीहरुलाई स्कुलमा पनि अवसर दिने हो भने यहाँ धेरै खलाडी बन्न सक्ने क्षमताका विद्यार्थीहरु छन्,’ उनले थपिन्, ‘म राष्ट्रिय टिममा आउनुअघि र अहिले हेर्दा प्रतियोगिता बढेको छ।’
एपीएफका खेलाडीले ललितपुर मेयर कप जितेपछि
‘बुबाले मलाई पढाई पनि सँगै लौजानु पर्छ, खेल पनि सँगै भन्नुभयो। त्यसैले मैले पढ्न पनि छोडिनँ। मैले क्रिकेटमा मात्र फोकस गरेको चाहीँ होइन,’ उनले भनिन, ‘अहिले म एमबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत छु।’
उनले अगाडि भनिन, ‘मैले सुरुमै एपीएफ जोइन गरिहालेँ। यो मेरो सरकारी जागिर भइहाल्यो। त्यसैले समाजले के भन्छ भन्ने कुरा सुन्नु नै परेन। मलाई करियरमा गाह्रो भएन।’
उनलाई पढाइमा अघि बढ्नका लागि नेपालमा कम खेल हुनुले पनि सहयोग गर्यो। ‘भारत, अष्ट्रेलियाको जस्तो धेरै खेल हुँदैन। वर्षमा एक दुईवटा प्रतियोगिता मात्र हो। मैले त समय पाएको छु, त्यसैले पढ्न पाएको हो,’ उनले भनिन्, ‘आफूले जति लिन सक्यो त्यो लिनुपर्छ भन्ने मेरो चाहना हो।’
त्यतिमात्र सपना हो कि अरु पनि छन्? जवाफमा ज्योती भन्छिन्,‘मेरो सपना भनेको क्यानमा आएर केही गर्ने रहेको छ। त्यसैले पनि पढ्नु जरुरी थियो नि! जे पनि पोस्टमा भएर हुन्छ, क्यानसँग जोडिएर काम गर्ने इच्छा छ। क्रिकेटबाट मैले यति धेरै कुरा पाएको छु, यसलाई पनि केही दिनुर्छ भन्ने लागेको छ।’
त्यति मात्र होइन क्रिकेट खेललाई लिएर उनको अर्को सपना पनि छ। त्यो हो- विश्वपकप खेल्ने। ‘कमसे कम पनि एकपटक विश्वकप खल्ने सपना छ। पछिल्लो क्वालिफायरमा पनि हामी छनोट हुन सकेनौं। अब जसरी भए पनि विश्वकमा छनोट हुने भन्ने ड्रिम छ। रिटायर्ड हुनुअघि एकपटक खेल्न पाएला,’ उनले भनिन्।
त्यो उनको मात्र होइन, उनको बुवाको पनि सपना हो। नेपालले विश्वकप खेलोस् भन्ने सपना त सारा नेपालीकै साझा सपना हो। त्यसको हिस्सेदार हुन चाहन्छिन ज्योती। तर अहिले ज्योती जुन अवस्थामा पुगेकी छन्, त्यसले उनका पिता प्रदिपलाई भने खुसी बनाएको छ। ‘अहिले म राष्ट्रिय टिममा पुगिसकेको छु। ड्याडी खुसी हुनुहुन्छ। तर अझै धेरै आशा गर्नुहुन्छ। मलाई पनि अझै धेरै गर्नुछ भन्ने लाग्छ,’ उनले कुराकानीको अन्तिममा भनिन्।