काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको ४३ औं संस्करणमा मछिन्द्र फुटबल क्लबलाई उपाधि दिलाउन छ गोल गरेका फरवार्ड सुनिल बल सर्वोत्कृष्ट खेलाडी बने। उनले सर्वोत्कृष्ट खेलाडी बन्दै तीन लाख पुरस्कार पनि पाएका छन्।
थ्रिस्टार, च्यासल हुँदै मछिन्द्र क्लबमा पुगेका सुनिललाई अहिले सकिएको लिगअन्तर्गत आफ्नो खेलको प्लेइङ सेटमा पर्न पनि धौधौ थियो। लिगमै सबैभन्दा धेरै सात जना फरवार्ड राखेर सुरु गरेको मछिन्द्र क्लबमा सुरुवाती रोजाइमा पर्नु नै सबैभन्दा ठूलो चुनौती थियो।
तर, उनले सुरुबाटै राम्रो प्रदर्शन गर्दै टिमलाई अत्यावश्यक परेको अवस्थामा गोल गर्दै टिमलाई जित दिलाए र बेस्ट बने। बेस्ट बनेपछि उनी आफू उत्कृष्ट हुनुको श्रेय भने टिमका सबै खेलाडी र प्रशिक्षकलाई दिन्छन्।
त्यस्तै, लिगका उत्कृष्ट प्रशिक्षक मछिन्द्रकै प्रवेश कटुवाल बने भने उत्कृष्ट गोलकिपर पनि मछिन्द्रका विशाल श्रेष्ठ बने। लिगमा आर्मीका दिनेश हेन्जन उदयिमान खेलाडी बन्दा फ्रेन्ड्सका जमोल एन्थोनि फ्राङ्कोइस सर्वाधिक गोलकर्ता बने।
उत्कृष्ट प्रशिक्षक प्रवेश आफू बेस्ट हुनुमा पछिल्लो लिगको अनुभव भएको बताउँछन्। त्यस्तै, टिमका सबैले सहयोग गरेर आफूले एक हजार ९८ मिनेट लामो क्लिन सिट राखेको गोलकिपर श्रेष्ठको तर्क छ।
सर्वोत्कृष्ट खेलाडी सुनिल बल: टिममा भएको विश्वासले बेस्ट बनेँ
व्यक्तिगत भन्दा पनि टिमप्रति विश्वास गर्ने मान्छे हो। टिमवर्कले गरेर नै यो सबै भएको हो। समग्रमा यो लिग राम्रो भयो। मेरो यो उपाधि पहिलो हो। खुसी छु। उपाधि जितेसँगै सबैभन्दा बेस्ट पनि भएँ।
मलाई लिगमा सबैभन्दा बेस्ट लागेको आफ्नो गोल मनाङविरुद्धको हो। त्यो खेलमा जित निकालेर हामीले एएफसी कप खेल्ने पक्का गरेका थियौँ। मलाई मनपरेको गोल हो।
अब, पछिल्लो दुई सिजन थ्रीस्टार र च्यासलबाट खेलेको उपाधि जितिएन। मछिन्द्रमा आएपछि जितियो। त्यहाँबाट खेल्नु र मछिन्द्रबाट खेल्नुमा फरक त केहि पनि छैन। तर, मछिन्द्रमा सजिलो लाग्यो। दाई र भाइरहरुसँग घुलमिल हुन समय लागेन। मुख्य कुरा टिमप्रति विश्वास थियो।
मैले गोल गरिनँ भने पनि टिमका अरुलाई पास दिन्छु भन्ने थियो। त्यसैले मैले आफ्ना साथीलाई विश्वास गरेँ। त्यो अनुसारको रिजल्ट पनि आयो। सबैसँग राम्रो कुरा भयो। टिममा स्टार खेलाडी धेरै भए पनि मलाई टिममा पर्छु वा पर्दिन भन्ने कुरामा धेरै सोचिन। दबाब लिइनँ।
तर सँधै टिममा पर्छु भन्ने विश्वास थिएन। आफ्नो पोजिसनको लागि फाइट गर्नुपर्ने थियो। त्यसमा फाइट गरेँ। बेस्ट दिएँ र उपाधि जित्न सहयोग गरेँ।
प्रशिक्षक प्रवेश कटुवाल: पछिल्लो गल्तीलाई सच्याएपछि सहजै जितियो
अपराजित रहेर उपाधि उचाल्ने लक्ष्य पूरा भएको छ। अन्तिम खेलमा पनि एपीएफविरुद्ध २–१ को जित निकालेर उपाधि उचाल्न पाउनु झनै खुसीको कुरा भयो। तर, सोचेजस्तो खेल भए। किनभने छ, सात जना खेलाडी अन्तिम खेलमा थिएनन्।
समग्रमा भन्नुपर्दा, सुरुका सात खेलमा हामीलाई कठिन प्रतिद्वन्दी परेको थियो। नवौं खेलदेखि चाहिँ हामीले सहज प्रतिद्वन्दी पायौं। अनि हामीले जित्दै जाँदा हाम्रा प्रतिस्पिर्धि रोकिँदै गए। हामीले यसपाली सजिलै लिग जित्यौँ।
पछिल्लो पटक लिग खेल्दा चाहिँ हामीले अन्तिममा मात्र लिग जितेका थियौं। मेरो पहिलो लिग थियो। त्यो लिगले धेरै सिकायो। त्यसपछि त्यो लिगको कमजोरी सुधारेर हामीले राम्रो खेल्यौं।
पछिल्लो लिगमा हाम्रो खेलाडी ससपेन्ड भयो। र, हामीलाई बेन्चमा गाह्रो भएको थियो। र, अहिले राम्रा खेलाडी धेरै अनुबन्ध गरेको हो। यसपाली चोट लाग्दा पनि गाह्रो भएन। अहिले खेलाडीले पनि धेरै मेहेनेत गरे।
अब एएफसी कपको छनोट खेल्न लाग्दैछौं। यो लिग पनि एएफसी कपको लागि तयारी हो। हामी एएफसीको लागि अझै बलियो टिम बनाउँछौं।
बेस्ट गोलकिपर विशाल श्रेष्ठ: रेकर्डका लागि होइन, जित्न खेलेको
समग्र टिमको प्रदर्शन राम्रो भयो। टिमले पनि चाहे अनुसारको खेल्यौँ र हामी अनविटन रह्यौँ। मसँगै सुजल श्रेष्ठ, विसाला राई लगायतले लगातार चारपटक लिग पनि जित्यौँ। तर सँधै जितिन्छ भन्ने हुँदैन। त्यसमा पनि दुई क्लबका जित्न पाउँदा आफूलाई लक्का महशुस गरेको छु।
मैले यो लिगमा सय खेल पनि पुरा गरेँ। तर, मलाई लाग्छ लिग लगातार भएको भए त्यो संख्या धेरै हुन्थ्यो होला। यो नर्मल हो। बरु अझै खेल कम भए जस्तो चाहिँ लागेको छ। डबल राउन्ड भएको भए दुई तीन सय पुग्थ्यो होला। समयमा भइरको भए धेरै हुन्थ्यो होला।
मैले १० वर्षभन्दा धेरै भयो खेलेको एक सिजनमा १२, १३ खेल खेलिरहेका छौं। त्यसरी हेर्दा धेरै पनि होइन्। अब यो लिगको खेलको कुरा गर्दा सातदोबाटोसँगको खेलमा मेरो प्रदर्शन आफैँलाई मनपरेको हो।
अब मछिन्द्रबाट खेल्दा एक हजार ९८ मिनेटको क्लिन सिटको रेकर्ड भयो। तर मैले रेकर्डको लागि भन्दा पनि जित्नका लागि खेलेको हो। हाम्रो सिद्धान्त छ कि गोल नखाऔं। ९० मिनेटमा हामी कुनै न कुनै मिनेटमा गोल त हानिहाल्छौं। हामीले अभ्यासमा त्यसरी नै खेल्यौं।