विराटनगर- नेपाल राष्ट्र बैंकले पुराना नोटको व्यवस्थापन कार्य विराटनगरबाट सुरु गरेको छ। शुक्रबार राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयमा ‘बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को शुभारम्भ गर्दै गर्भनर महाप्रसाद अधिकारीले पुरानो नोटको व्यवस्थापनका लागि बीएसबीएस सिस्टमको मेसिन सहज हुने बताए।
उनले अब झुत्रा र पुराना नोट नजरलाई व्यवस्थापन गरिने बताए। मेसिनले प्रति घण्टा १ सय किलोग्राम नोट टुक्राउने क्षमता राख्ने अधिकारीले बताए।
राष्ट्र बैंकले २०२२ सालबाट नोट जलाउने प्रक्रिया सुरु गरेको गर्भनर अधिकारीको भनाई छ। उनले भने,‘नोट जलाउँदा वातावरणमैत्री नभएको भन्दै धेरै गुनासा आए, अब त्यो वातावरणमा असर नपुग्ला।’
मुद्रा ब्यवस्थापन विभागका कार्यकारी अधिकृत रेवतीप्रसाद नेपालले केन्द्रीय बैंकसहित ७ प्रदेशमा मेशिन सञ्चालनमा आउने जानकारी दिए। उनले भने, 'केन्द्रीय बैंक थापाथली काठमाडौं, प्रादेशिक कार्यालयहरु जनकपुर, नेपालगञ्ज, धनगढी, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर र विराटनगरमा राखिएको छ। भौतिक संरचना तयार नहुँदा विराटनगरबाहेकका अन्य स्थानमा मेसिन सञ्चालनमा आउन सकेको छैन।'
मेसिनलाई वर्षमा १ हजार घण्टासम्म चलाउन सकिने बैंकले जनाएको छ। यसअघि प्रादेशिक कार्यालय विराटनगरले वार्षिक करिब ५० देखि ५५ हजार किलो पुराना नोट जलाउने गरिएको बताइएको छ।