विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताएका छन्। मुख्यमन्त्री राईले मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा आज नामकरणका लागि आयोजित सर्वदलीय बैठकको शुभारम्भ गर्दै उनले चेतना र सङ्ख्याको हिसाबले प्रदेश अग्रणी भए पनि नाम अहिलेसम्म टुङ्ग्याउन नसकेकामा लाज लागेको विचार राखे।
मुख्यमन्त्री राईले सरकारको कार्यकाल अत्यन्त छोटो रहेको र प्रदेशसभाको दुईवटा अधिवेशन मात्र बाँकी रहेकाले समय थोरै रहेकाले आमजनताको माग, सवाल र चाहना एवं कामको सिलसिलामा पनि अप्ठ्यारा रहेकाले नामलाई चाँडै सहमति कायम गरी टुङ्याउनुपर्नेमा जोड दिए।
उनले स्वतन्त्ररूपमा पार्टीको धारणा आउने भएकाले मंगलबार छलफलको आयोजना गर्नुपरेको भन्दै प्रदेशसभा सदस्यहरूले नामका सम्बन्धमा पार्टीको विचारअनुसार धारणा राख्ने बताए। मुख्यमन्त्री राईले मुलुकको विभिन्न राजनीतिक परिवर्तनको घटना क्रममा प्रदेशको ठूलो भूमिका रहेको छ भन्दै विवादहीन र अन्योल हटाई नामकरणमा एकजुट हुन सबैलाई आग्रह गरे।
उनले गम्भीरता एवं जिम्मेवारपूर्वक नाममा टुंग्याउनु पर्नेमा जोड दिँदै पहिचान, भूगोलको पहिचान र मिश्रित पहिचानका सम्बन्धमा तीन नामका विषयमा अन्त्यन्त ललिचो भएर सहमतिका आधारमा दलहरुले आफ्नो दायित्व ठानेर छलफल गरी नाम टुंग्याउनुपर्छ बताए। उनले बहुदलीय व्यवस्थाको मूल मर्म भनेको सहकार्य एवं आवश्यक लचकता भएको चर्चा गर्दै दलहरुले आवश्यकता परेमा संयन्त्र गठन गरी नियमित छलफल गरी नाममा सहमति कायम गर्न सबैदललाई आग्रह गरे।
छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नामकरण पेचिलो र जटिल भए पनि साझा सहमतिका आधारमा सङ्घीयता र युग सुहाउँदो नामकरण गर्नुपर्नेमा जोड दिए। नेकपा एमाले प्रदेश पार्टी अध्यक्ष तुलसी न्यौपानेले विगतको सरकारले प्रदेशसभामा साझा र सर्वसहमतिका लागि नामकरण गर्न लामो समय रोकिएको चर्चा गर्दै वर्तमान सरकारले साझा प्रस्ताव ल्याएमा छलफल गरी नामकरण टुङ्ग्याउन पार्टी तयार रहेको विचार व्यक्त गरिन्।