काठमाडौं– यूएईले ११ ओभर तीन बलमै १०३ रन बनाएको छ। अल अमरेत मैदानमा जारी खेलमा यूएईले विस्फोटक ब्याटिङ गर्दै सय रन पूरा गरेको हो।
यता नेपालका जितेन्द्र मुखियाले दोस्रो ओभरमै पहिलो विकेट लिए पनि नेपाली बलिङमाथि यूएईका ब्याटर हाबी भए। जितेन्द्र दोस्रो ओभरको चौथो बलमा यूएईका चिराग पुरीलाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
यसअघिको अवस्थालाई नियाल्ने हो भने नेपालले पहिलो विकेट लिएपछि विपक्षी दबाबमा आउने गर्थ्याे। तर यूएईविरुद्ध त्यस्तै हुन सकेन। व्यक्तिगत दोस्रो ओभरमा जितेन्द्रले १८ रनको सामना गर्नुपर्यो। त्यो समग्रमा चौथो ओभर थियो। यसरी खेलको सुरुमा धरमराको यूएईका अरविन्दले खेलमा सानदार सुरुआत गरे। त्यो सबै १८ रन अरविन्दले नै प्रहार गरेका थिए।
त्यसपछि नेपाल दबाबमा परेको थियो। आफ्नो पहिलो र दाेस्राे ओभरमा अभिनास बोहराले भने ३० रनको सामना गरे भने लामिछानेले पनि पहिलो ओभरमा १३ रन बेहोरे।
यूएईका स्कोर छ रनको कमजोर अवस्थाबाट ७२ रन बनाउन नायक रहेका अरविन्दलाई सन्दीपले सात ओभर तीन बलमा आउट गराएका थिए। अरबिन्दले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए। त्यतिबेला यूएईको रन रेट नौभन्दा माथि रहेको थियो। भने अरविन्दले २०० को स्ट्राइक रेट राखेका थिए।
मंगलबार ११ ओभर सकिँदा सबैभन्दा धेरै रन बेहोर्नेमा अभिनास नै रहे। उनले दुई ओभरमा २६ रन प्रदान गरे। पहिलो १० ओभर सकिँदा नेपालका कमल सिंह ऐरी र सन्दीप लामिछानेले मात्र सम्हालिएर बलिङ गर्न सके। १० ओभर सकिँदा यूएईले दुई विकेट गुमाएर ८४ रन बनाएर सहज अवस्थामा पुगिसकेको थियो।
खेलमा यूएईको ओपनिङमा चिरागसँगै मुहम्मद वासिम आएका थिए। चिरागले भने पाँच बलमा चार रन मात्र बनाउन सके। यससँगै नेपालले सहज सुरुआत गरेको थियो। तर अरविन्दसँगै मुहम्मदले अहिलेसम्म ४५ रन बनाइसकेका छन्।
आज नेपालले टस हारेर बलिङको अवसर पाएको थियो।