काठमाडौं- नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईसँग टस हारेर बलिङको निम्तो पाएको छ। ओमानको मस्कटमा यूएईले टस जितेपछि ब्याटिङ रोजेको हो।
नेपाल टोलीमा कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ। क्यानडाविरूद्ध अघिल्लो दिनको खेलमा कुशल आफूले सामना गरेको पहिलो बलमा बोल्ड भएका थिए।
छनोटमा अपराजित रहेको एकमात्र टोली नेपालले खेलमा जित निकाल्न सके यहि वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ।
यसैकारण नेपाली टिमले आइतबार क्यानडाविरुद्ध जित निकालेको केही समयमै अभ्यास थालेको थियो। नेपाली टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकेले पनि आफ्नो ध्यान आजको खेलमा रहेको बताएका छन्।
‘एक टिमका रुपमा हामीले राम्रो गर्छौं। खेलाडीहरु पुरा तयार छन्। यो प्रतियोगिताको कुनै टिम पनि कमजोर छैनन। यूएई धेरै राम्रो टिम हो। यो खेल प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण छ,’ पुबुदुले यूएईविरुद्धको खेलबारे भनेका छन्, ‘यो ठूलो खेल भए पनि हाम्रो लागि नर्मल खेल हुन्छ। हामी साधारण रुपमा खेल्छौं। त्यसका लागि हामी तयार छौं।’
उनले चारदेशीय सिरिजबाट सिकेर पनि राम्रो फिल्ङिड गरेको पुबुदु बताउँछन्। सुरुमा ओमनमा वातावरण फरक परेकाले केहि सारो परेको र पछि मिल्दै गएको बताएका छन्। उनले यूएईविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङ तिनै क्षेत्रमा राम्रो प्रस्तुति दिने बताएका छन्।
जारी विश्वकप छनोटको समूह बीमा परेको नेपालले आफ्नो समूहको तीन टिमलाई नै हराएको थियो। नेपालले फिलिपिन्समाथि १३६ रनको सानदार जित निकालेको थियो भने क्यानडालाई आठ विकेटले हराएको थियो। त्यस्तै ओमनलाई ३९ रनले हराएको थियो।