काठमाडौं– ओमनमा जारी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा क्यानडालाई ८ विकेटले हराएर समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। समूह बीमा रहेको नेपालले तीन खेलबाट शतप्रतिशत जित निकाल्दै ५ अंक बनाएर सेमिफाइनलमा स्थान बनाएको हो।
सोमबार क्यानडाबाट पाएको ८१ रनको लक्ष्य नेपालले १४ ओभरमा एक बलमा दुई विकेट गुमाएर पूरा गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। अब नेपालले भोलि हुने सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ।
नेपालविरुद्ध मैदानमा उत्रिएको क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमै सम्पूर्ण विकेट गुमाएर ८० रन बनाएको थियो। क्यानडालाई हराउन नेपालका कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाए। उनले ३७ बलमा तीन चौकाका साथ सो रन जोडे।
त्यस्तै, चौथो नम्बरमा मैदान प्रवेश गरेका दीपेन्द्रसिंह ऐरीले पनि २७ रन बनाए। समग्रमा उनीहरुले ५८ रनको साझेदारी गरेका छन्।
ओपनिङमा आएका आसिफ शेखले पनि १७ रनको योगदान दिए। उनले एक छक्का र एक चौकाको सहयोगमा सो रन जोडे। अर्का ओपनर आसिफलाई सलमान नगरले एलबीडब्लूको धरापमा परेका थिए। त्यसपछि मैदानमा आएका कुशल मल्ल भने डगआउट भए। उनलाई कलिम सानाले पेवेलियन फर्काए।
पहिलो पारीमा क्यानडाले निकै संघर्ष गर्नपर्यो। पावर प्लेमै ३६ रन बनाएर चार विकेट गुमाइसकेको अवस्था थियो। त्यसो त क्यानडाका रायन पठान र नवनित धलिवलले सुरुबाटै आक्रामक ब्याटिङ गरेका थिए। पठान रनआउट भए भने १८ रन बनाएका नवनितलाई कमल सिंह ऐरीले पेवेलियन फर्काए।
कमलको त्यो दोस्रो विकेट थियो। त्यसअघि कमलले पहिलो ओभरमै क्यानडाका म्याथ्यु स्पर्सलाई आउट गराएका थिए।उनी शून्य रनमै पेवेलियन फर्किए।
ओमनको अल अमरेत मैदानमा भएको खेलमा नेपालले सुरुमा बलिङको निम्तो पाएको थियो। जहाँ, नेपालले सुरुबाटै कसिलो र घातक बलिङ गर्यो।
नवनित र धलिवालको विकेट गएपछि क्यानडा सम्हालिनै सकेन। उसले लगातार विकेट गुमाइरह्यो। साथै यी दुई खेलाडीबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन पनि बनाउन सकेका थिएनन्। तर १० नम्बरमा ब्याटिङ गर्न आएका डिल्लन हेलिगरले भने क्यानडालाई राहत दिए।
४४ रन बनाएर आठ विकेट गएको अवस्थामा मैदान पसेका उनले टिमको स्कोर ८० रन बनाउन सहयोग गरे। डिल्लनले २२ बलमा २४ रनको योगदान दिए। ब्याटिङमा उनले क्यानडालाई लज्जास्पद अवस्थाबाट उकासेका थिए। डिल्लनसँगै सलमन नजरले पनि १० रन बनाए।
नेपाली बलरसामु क्यानडाका रविन्दरपल सिंहले एक, साद विन जाफरले दुई, हम्जा तारिकले एक रन जोडे। क्यानडाले कुनै ओभर पनि सम्हालिएर खेल्न सकेन। उसले सातौं नम्बरमा हर्ष ठकरलाई गुमायो भने आठौं र नवौं नम्बरमा कलिन साना र जुनैद सिद्दकीलाई गुमायो। उनीहरुले क्रमशः दुई, एक र दुई रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने कमल ऐरी र अभिनास बोहराले समान दुई–दुई विकेट गिराए। त्यस्तै, कुशल मल्लले एक विकेट लिए। साद र पठान चाहिँ रनआउट भए।
ओमनको पनि सानदार जित
उता भर्खरै सम्पन्न खेलमा ओमनले पनि फिलिपिन्सविरुद्ध सानदार जित निकालेको छ। टस जितेर ब्याटिङ राजेको फिलिपिन्सले दिएको ३७ रनको लक्ष्य दुई ओभर पाँच बलमा पूरा गर्दै उसले सानदार जित निकालेको हो।
फिलिपिन्सलाई हराउन ओमनका खुरम नवाजले सर्वाधिक ३३ रन बनाए। त्यसअघि फिलिपिन्सका ड्यानियल स्मिथले सर्वाधिक ७ रन बनाएका थिए।
ओमनका अवर अलीले चार विकेट लिए भने अमिर कलिम, फयाज बट र कलिमुल्लाहले समान २–२ विकेट लिए। यससँगै फिलिपिन्स र क्यानडा समूह चरणबाटै बाहिरिएका छन्।
आयरल्यान्ड र यूएई सेमिफाइनलमा
यता समूह ए को आजै बिहान सम्पन्न खेलबाट भने यूएई र आयरल्यान्डले छनोटको सेमिफाइनलमा स्थान बनाइसकेका छन्। समूह ए का विजेता र उपविजेता बन्दै यी दुई क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्। आयरल्यान्ड विजेता भएको छ भने यूएई उपविजेता भएको छ। जर्मनी र बहराइन भने समूह चरणबाटै बाहिरिएका छन्।
बहराइनसँग हारका बाबजुद नेट रन रेटमा अघि रहँदै युनाइटेड अरब इमिरेट्स (यूएई) टी २० विश्वकपको सेमिफाइनलमा पुगेको हो।
यूएईले सोमबार दिउँसो ओमनको क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा बहराइनसँग दुई रनको हार बेहोरेको थियो। बहराइनले दिएको १७३ रनको लक्ष्यमा उसले १७० रनमात्र बनाएपछि यूएईले हार बेहार्यो। यता, आजै सम्पन्न खेलमा जर्मनीलाई ७ विकेटले हराएपछि आयरल्यान्डले पनि विश्वकप छनोटको सेमिफाइनलमा स्थान बनाएको छ।
सेमिफाइनलकै अर्को खेलमा ओमनले आयरल्यान्डको सामना गर्नेछ।