काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरणका खेल आजबाट सुरु हुँदैछन्। आज लिगमा दुई महत्त्वपूर्ण खेल हुँदैछन्।
१२औं चरणको पहिलो दिन को पहिलो खेल रेलिगेसनमो चरम दबाबमा रहेका दुई टिमले आपसमा खेल्नेछन्।
अंक तालिकाको पुछारमा रहेको च्यासल यूथ क्लबले १२औं स्थानमा रहेको फ्रेन्ड्स क्लबको सामना गर्नेछ। रेलिगेसनबाट बच्ने अन्तिम कोसिसमा रूपमा आज यी दुई क्लबले खेल्नेछन्।
त्यसैले आफू त्यसका लागि तयार रहेको फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्र बताउँछन्।
‘हामी यो खेल जितेर रेलिगेसनबाट बच्न चाहन्छौं। रेलिगेसन टार्न योभन्दा अरू मौका नै छैन। हामी जित्नका लागि नै खेल्ने हो,’ प्रशिक्षक मिश्र भन्छन्, ‘त्यस्तै दबाब च्यासलका लागि पनि उसले त यो खेलमा हार बेहोरेमा उसको रेलिगेसन निश्चित हुन्छ।’
अहिले च्यासललाई फुटबल डिरेक्टर लि मान्सनले हेरिरहेका छन्। पछिल्ला दुवै खेलमा मुख्य प्रशिक्षक बालगोपाल साहुखाल आएका छैनन्। त्यसो त नवौं चरणमा कार्ड बेहोरेपछि उनी एक खेल प्रतिबन्धमा परेका थिए।
आजको खेलमा जित निकाल्नेको अवस्थामा एक टिम रेलिगेसनबाट जोगिने अवसर हुनेछ।
शनिबार नै पौने ५ बजेबाट हुने खेलमा भने लिगको उपाधि जितिसकेको मछिन्द्र क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ।
‘अहिले लिग जितिसकेकाले दबाब छैन। तर हामी अपराजित यात्रा कायम राख्न चाहन्छौं,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘दुई खेलाडी झापामा छन् भोलि फर्किन्छन्। तर हाम्रो दुई खेलाडी घाइते छन् र एक जानको कार्ड छ। थ्रीस्टारबाट खेल्दै आएका अनन्त तामाङ र विक्रम लामा छैनन्। त्यसबाहेक पनि प्रतिस्पर्धात्मक खेल नै हुन्छ।’
यता थ्रीस्टार मछिन्द्रलाई हराउँदै माथि आउने दाउमा छ। ऊ अहिले पनि दोस्रो स्थानसम्मको लडाइँमा छ।
‘तयारी राम्रो भएको छ। सुरुमा पिकप लिइरहेको थिएन। तर हामी शीर्ष तीनसम्मका पर्छौं भन्ने आशा छ,’ रवीन्द्र सिलाकारले भने, ‘अब दुई खेल जितेर दोस्रो आउने विश्वास छ। हामी कन्सिस्टेन्ट प्रदर्शन गरिरहेका छौं। अरूको घटिरहेका छ।’