विराटनगर- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेले जनताको अहित हुने काम नगर्ने स्पष्ट पारेका छन्।
एमसीसी सम्झौता अनुमोदनको विषयमा गठबन्धनमा रहेका दलले पोजिसन क्लियर पार्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार साँझ सञ्चारकर्मीसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धनको पोजिसन आएपछि एमालेले आफ्नो निर्णय गर्ने उनले बताए।
उनले भने,‘प्रस्ताव संसद्मा ल्याएपछि के गर्ने हामी गर्छौं। हामी संसद्बाट भाग्दैनौं, लुक्दैनौं।’ एमालेले नक्कली कुरा नगर्ने उनले बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको उनको आरोप छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए। उनले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रचण्डकै कारण नेकपा विभाजन भएको बताए। प्रचण्ड नेकपा कब्जा गर्ने गरि अघि बढेपछि नेकपा विभाजनको दिशामा गएको उनले बताए। गठबन्धन सरकार एमाले नेतृत्वको सरकारलाई ढालेर आपराधिक सोचका साथ बनेको आरोप लगाए।