बुटवल– लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने तथा स्थानीय तहको निर्वाच तत्काल घोषणाको माग गर्दै विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। विरोध स्वरुप मुख्यमन्त्री कार्यालय अघिबाट कालो बेलुन उडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको अनेरास्ववियुले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले भने सामान्य धकेलाधकेल मात्रै भएको बताए। कार्यालय समयमा कामकाजलाई प्रभावित हुने गरी प्रदर्शन गर्न थालेपछि प्रहरीले आन्दोलनकारीलाई हटाउन खोजेको उनले बताए। कोही पनि घाइते नभएको दाबी उनले गरे।
अनेरास्ववियुले भने केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको जनाएको छ।