काठमाडौं - अघिल्लो वर्षको चैतमा नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले डेब्यु गराएका खेलाडी ११ पुगेका छन्।
उनले मनिष डाँगीदेखि नविन गुरुङसम्म आइपुग्दा ११ खेलाडीको डेब्यु गराएका हुन्। जस्तोसुकै ठूलो देशसँग पनि आक्रामक फुटबल खेल्ने रणनीति बनाउने अलमुताइरीले फरवार्डमा भने मनिष डाँगीलाई मात्र डेब्यु गराए। त्यस्तै उनले एक विंगर तथा मिडफिल्डर (आयुष घलान) लाई पनि डेब्यु गराएका छन्।
त्यसबाहेक उनले एक गोलकिपर (विशाल श्रेष्ठ) लाई डेब्यु गराएका छन् भने बाँकी डिफेन्डर र मिडफिल्डर छन्। खेलमा नयाँ प्रयोग गर्न रुचाउने अलमुताइरीले युवा खेलाडीलाई एक्सपोजर दिने भन्दै डेब्युको संख्या ११ पुर्याएका हुन्।
१. मनिष डाँगी
डेब्युपछि नै मनिष डाँगी राष्ट्रिय फुटबल टिमको नियमित सदस्य हुन्। उनले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमबाट डेब्यु गरेका थिए। खासमा त्यो खेल प्रशिक्षक अलमुताइरीको पनि डेब्यु थियो।
आफ्नो डेब्यु खेलमा मनिषले गोल गरेर नेपाललाई इराकविरुद्ध २–१ गोलको अग्रता दिलाउन सहयोग गरेका थिए। पछि नेपालले हार बेहोरे पनि डेब्यु खेलमा गोल गर्ने खेलाडीको रुपमा मनिषको चर्चा भयो।
उनी नेपाली टिममा भएका खेलाडीमध्यै चाँडो बल कुदाउन सक्ने खेलाडीमा पर्छन। उनको बलसँग उनको वेग निकै राम्रो छ। तर त्यसपछि उनले पहिलो खेलमा जस्तो गोल गर्न सकेका छैनन्। त्यसपछि उनले विश्वकपको ग्लोबल छनोट खेले, भारतविरुद्ध मैत्रीपूर्ण खेल, साफ च्याम्पियनसिप र मोरिससविरुद्ध पनि मैत्रीपूर्ण खेलेका छन्।
उनले माल्दिभ्सविरुद्ध खेलको ८६ औं मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए। राष्ट्रिय टिमबाट खेल्ने निकै अनुशासित खेलाडीमा पर्छन्, मनिष। उनले सहिद स्मारक ए डिभिजन लिगमा लिग लिडर मछिन्द्र क्लबबाट खेलिरहेका छन्।
लिगमा भने उनले गोल गर्न सकेका छैनन्। त्यसअघि उनले विराटनगर सिटीबाट नेपाल सुपर लिग खेलेका थिए।
२. गौतम श्रेष्ठ
अलमुताइरीले डेब्यु गराएर धेरै खेलको अवसर पाउने मानिष डाँगीसँगै अर्का खेलाडी हुन्, गौतम श्रेष्ठ। उनले इराकविरुद्ध डेब्यु गरेपछि लगभग सबै खेल पूरा समय खेलेका छन्। अहिले उनी राष्ट्रिय टिमको पहिलो रोजाईका राइट ब्याक डिफेन्डर बनिसकेका छन्।
उनले विश्वकप छनोट, भारतविरुद्ध मैत्रीपूर्ण र साफ च्याम्पियनपिमा पहिलो रोजाईको डिफेन्डर बनेर खेलेका छन्। श्रेष्ठ विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट ए डिभिजन लिग खेलिरहेका छन्। उनको सहयोगमा त्रिभुवन आर्मी क्लबले पाँच खेलमा 'क्लिन सिट' राखेको छ। धेरै खेलाडी चोट लागेर टिम कमजोर बन्दा पनि आर्मीले हार बेहोरेको छैन।
मोरिससविरुद्धको दुवै स्क्वाडमा उनी थिए। पहिलो खेल पहिलो रोजाईमा परेका उनी दोस्रो खेलको ६६ औं मिनेटमा मैदान छिरेका थिए। गौतम नेपाल सुपर लिगमा पोखराको टिममा थिए।
युवा मिडफिल्डर तथा विंगर आयुष घलानले विश्वकप छनोटको खेलमा अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका थिए। अष्ट्रेलियाविरुद्ध उनले खेलको इन्जुरी समयमा डेब्यु गरेका थिए। विश्वकपमा त्यो उनको एकमात्र खेल थियो।
त्यसपछि उनी भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पनि देखिएका छन्। अलमुताइरीले घलानलाई साफ च्याम्पियनसिपको टिममा पनि राखेका थिए। त्यहाँ उनले आफूलाई प्रमाणित पनि गरे।
नेपालले श्रीलंकाविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकाल्दा उनले गोल गरेका थिए। अहिलेसम्म उनको त्यो एकमात्र गोल हो। उनलाई अलमुताइरीले मोरिससविरुद्धको खेलमा पनि बोलाएका थिए। तर, उनी घरायसी कारणले प्रशिक्षण र खेलमा उपस्थित हुन् सकेनन।
उनले थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेलिरहेका छन्। तर उनले पनि लिगका आठ खेलबाट एक गोल गरेका छन्। थ्रीस्टारबाट उनले मैदानमा समय पाए पनि लिगमा खास उल्लेखनीय भूमिका निर्वाह गर्न सकेका छैनन्। उनले पोखरा थन्डर्सबाट नेपाल सुपर लिग खेलेका थिए।
४. कमल थापा
हिमालयन शेर्पा क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका खेलाडी हुन्, कमल थापा। अहिले उनको परिचार यहि नै हो। किनेभने उनले डेब्यु गरे पनि राष्ट्रिय टिमको जर्सी लगाएर ६ मिनेट मात्र खेलेका छन्। उनले अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका थिए।
त्यसपछि उनले भारतविरुद्ध पनि पाँच मिनेट खेल्ने अवसर पाएका थिए। साफका सबै खेलमा उनी बेञ्चमै सीमित भए।
लिगमा उनले हिमालायन शेर्पाबाट तीन खेलमा मात्र अवसर पाएका छन्। मिडफिल्डको जिम्मेवारीमा खेल्ने उनले गोल गर्न पनि सकेका छैनन्। त्यसो त शेर्पाका प्रशिक्षक युगल किशोर राई आफ्नो रणनीतिमा खेल्ने सक्ने खेलाडीलाई प्राथमिकतामा राख्न रुचाउँछन्।
५. सुरज ज्यु ठकुरी
आयुष र कमलसँगै अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका अर्का खेलाडी हुन्, सुरज ज्यु ठकुरी। कमलले जस्तै उनले पनि टिममा प्रभावकारी भूमिका खेल्न सकेका छैनन्। उनको काम होल्डिङ मिडफिल्डरको हो। तर उनी मैदानमै हराउँछन्।
पासमा राम्रो रहे पनि उनी दबाबमा खेल्न नसक्ने खेलाडी हुन्। सुरजले अष्ट्रेलियाविरुद्ध डेब्यु गरेपछि धेरै खेल भने पाएका छैनन्। उनले दशरथ रंगशालामै भएको मैत्रीपूर्ण खेलमा भारतविरुद्ध १७ मिनेट खेलेका थिए भने साफमा एक खेल खेलेका थिए।
मोरिससविरुद्ध पनि बन्द प्रशिक्षणमा परेका उनले एक खेलमा ८५ मिनेट खेलेका थिए। सुरजले जावलाखेल युथ क्लबबाट फुटबल खेल्दै आएका छन्। तर उनको प्रदर्शनबाट प्रशिक्षक किशोर कुमार केसी सन्तुष्ट छैनन्। केसीले सुरजको आलोजना गर्दै ‘दर्शक झुक्याउने खेल’ खेलेको प्रतिकृया दिएका थिए। क्लबबाट पछिल्लो दुई खेल नखेलेका सुरजलो पाँच खेलमा सहभागिता जनाएका छन्। उनको पनि गोल संख्या शून्य छ। उनले विराटनगर सिटीबाट नेपाल सुपर लिग खेलेका थिए।
६. नितिन थापा
नितिन थापा नेपाल सुपर लिगबाट सिनियर फुटबल टिममा परेका खेलाडी हुन्। उमेर समूहमा खेलिसकेका उनले दशरथ रंगशालामा भारतविरुद्धको मैत्रीपूर्ण खलमा डेब्यू गरेका थिए।
त्यसो त उनले उमेर समूहको खेल पनि खेलिसकेका छन्। उनले १३ औं साग र यू २३ को एसिया कप छनोट पनि खेलिसकेका छन्। पोखरा थन्डर्सबाट नेपाल सुपर लिगमा उनलाई अलमुताइरीले देखेपछि उनले साफमा खेल्न स्थान बनाएका थिए। उनले मैत्रीपूर्णमा भारतविरुद्ध इन्ज्युरी समयमा डेब्यु गरेका थिए। त्यसपछि उनले साफ च्यासम्पयनसिपमा एक खेलमा मौका पाए।
मोरिससविरुद्धको प्रशिक्षणमा पनि उनलाई बोलाइएको थियो। पहिलो शनिबारको टिममा परे पनि उनी बेञ्चमै सीमित रहे। उनले अहिले मनाङ मर्स्याङ्दी क्लबबाट सहिद स्मारक लिग खेलिरहेका छन्। जहाँ उनले सबै खेलमा धेरैथोरै अवसर पाएका छन। जारी लिगमा उनले गोल गर्नसकेका छैनन्। लिगमा औषत प्रदर्शन गरिरहेका छन्।
डिफेन्सिभ मिडफिल्डमा देखिने राजन गुरुङले सिनियर टिममा भारतविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गर्दै पाँच मिनेट खेलेका थिए। त्यसपछि उनी राष्ट्रिय टिमको सूचीमा देखिएका छैनन्। राष्ट्रिय टिममा पर्नुअघि उनले काठमाडौं रेञ्जर्सबाट नेपाल सुपर लिग जितेका थिए।
अहिले उनले नेपाल एपीएफ क्लबबाट सहिद स्मार ए डिभिजन लिग खेलिरहेका छन्। ए डिभिजन लिगमा छ खेलमा पूरा ९० मिनेट खेलेका छन्। उनको उपस्थितिमा एपीएफले दुई 'क्लिन सिट' राखे पनि धेरैजसो खेलमा राम्रो गर्नसकेको छैनन्।
८. विशाल श्रेष्ठ
भारतविरुद्ध राजन गुरुङसँगै गोलकिपर विशाल श्रेष्ठले पनि नेपालको टिमबाट डेब्यु गरेका थिए। त्यो निकै बहुप्रतिक्षित डेब्यु थियो। नेपालमा पहिलो रोजाईका गोलकिपर हुन्, कप्तान किरण कुमार लिम्बू। दोस्रोमा विकेश कुथुपछि आउँछन विशाल श्रेष्ठ।
तर अलमुताइरीले विकेशलाई टिममा राख्न छोडेयता विशाल दोस्रो रोजाईका गोलकिपर हुन्। तर किरण रहँदारहँदै अन्य गोलकिपरले अवसर पाउन धेरै गाह्रो छ। त्यसैले २०११ देखि टिममा रहँदै आएका विशालले टिममा परेको १० वर्षपछि डेब्युको अवसर पाएका थिए।
उनको योगदानको कदर गर्दै अलमुताइरीले उनलाई डेब्यु गरेका थिए। त्यसपछि उनी राष्ट्रिय टिममा परे पनि मैदान उत्रिन पाएका छैनन। यता ए डिभिजन लिगमा भने उनले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। मछिन्द्रबाट खेलिरहेका विशालले ७०० मिनेट भन्दा धेरै समयको 'क्लिन सिट' राखिसकेका छन्। उनले अहिलेसम्म लिगको ९ खेलसम्ममा एक गोलको मात्र सामना गरेका छन्।
लिगको लगातार आठ खेलमा 'क्लिन सिट' छ। तर उनको टिमले पोखरामा आहा रारा गोल्डकपमा भने राम्रो गर्न सकेन र एपीएफसँग हार बेहार्यो।
मोरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा हुँदा सुदिप पहिलो पटक टिममा परेका थिए। उनले अलमुताइरीसँग अभ्यास गरेर राष्ट्रिय टिमबाट डेब्यू गरिसकेका छन्।
सातदोबाटो युथ क्लबबाट लिग खेलिरहेका उनी मिडफिल्डर हुन्। उनले शनिबार मोरिससविरुद्ध खेलको ८५ औं मिनेटमा मैदान छिर्दै डेब्यु गरेका थिए। सातदोबाटोमा उनले आठ खेल पूरा ९० मिनेट खेलेका छन्।
१०.आकाश बुढा मगर
सातदोबाटो युथ क्लबका आकाश त्यहाँको प्रदर्शनबाटै राष्ट्रिय टिमको यात्रा तय गर्न सफल भएका हुन्। उनले सातादोबाटोमा मिडफिल्ड सम्हालिरहेको देख्न पाइन्छ। जारी ए डिभिजन लिगमा अन्डरडग टिमको रुपमा पनि सातदोबाटोलाई हेर्न सकिने प्रशिक्षकले बताउँदै आएका छन्।
सातदोबाटोलाई राम्रो टिम बनाउन आकाशले पनि योगदान दिएका छन्। सातदोबाटोबाट उनले सात खेल पूरा समय खेलेका छन्। त्यहाँको प्रदर्शनबाटै उनलाई प्रशिक्षककले टिममा बोलाएका हुन्। उनले यसअघि एपीएफ क्लबबाट पनि फुटबल खेलिसकेका छन्।
उनले शनिबारको खेलमा इन्ज्युरी समयमा मैदान छिर्दै डेब्यु गरेका थिए। अलमुताइरीले डेब्यु गराएका १० औं खेलाडी हुन आकाश।
११. नविन गुरुङ
ए डिभिजन लिगमा एनआरटीबाट खेलिरहेका नविनले मंगलबार मोरिससविरुद्ध पहिलो रोजाइमा पर्दै डेब्यु गरेका थिए। उनले ४६ मिनेट मैदानमा बिताएका थिए। अमुताइरीका अनुसार उनलाई मैदानमा त्यो समय बिताउन सकस भएको थियो। तर उनले आफ्नो भूमिका निर्वाह गरे।
उनले न्यु रोड टिम(एनआरटी) बाट जारी लिगका नौ खेल नै खेलेका छन्। १९ वर्षे डिफेन्डर नविनले सबै खेलमा पूरा ९० मिनेट नै खेलेका छन्। उनले उमेर समूहको नेपाली टिमबाट भने यसअघि पनि खेलिसकेका छन्।