एमसीसीकेन्द्री सत्ता गठबन्धन
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ। एमसीसीका विषयमा छलफल गर्न नेताहरुको बैठक बसेको बताइएको छ।
यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो। दुई नेताबीच पनि एमसीसीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
एमसीसी पछिल्लो समय पेचिलो बनिरहेको छ। प्रधानमन्त्री देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा छन्। सत्तारुढ गठबन्धनको बैठकमा समेत एमसीसी पास गर्नुपर्ने धारणा देउवाले राखेका थिए। तर, गठबन्धनका अन्य दल भने एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनन्।
एमसीसीका विषयमा गठबन्धनमा तिव्र मतभेद देखिए पनि यही कारणले गठबन्धन नभत्कने नेताहरुले बताइरहेका छन्। आइतबार मात्रै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका कारण गठबन्धन नभत्कने बताएका थिए।
उता नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता मात्रै किन संसद्बाट पारित गर्नुपर्ने भन्दै प्रश्न उठाएका छन्।
सोमबार काठमाडौं आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले नेपालले अन्य देशसँगका सम्झौता संसदबाट पारित नगरेको तर एमसिसी मात्रै पास गर्ने प्रयास गरेकाले प्रश्न उठाउनुपर्ने बताएका हुन्।
संविधानको धारा २७९ अन्तर्गत एमसीसी अनुमोदन गर्दा दुई तिहाइ बहुमत चाहिने उल्लेख गर्दै आगामी दिनमा अन्य देशले पनि सोही प्रस्ताव राख्ने सक्ने उनको भनाइ छ।
नेता रावलले एमसीसी सम्झौता अनुमोदन भएमा राष्ट्रघात ठहरिने अडान दोहोर्याएका थिए। एमसीसी सम्झौता संसदमा आएमा आफूले विपक्षमा मतदान गर्ने र त्यसविरुद्धमा आवाज उठाउन उनको आह्वान छ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने संसदबाट एमसीसी पारित गर्नुपर्ने बताएका छन्। सोमबार ट्विट गर्दै डा भट्टराईले आलटाल नगरी सर्वसम्मतिले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका हुन्। उनले एमसीसीका बहानामा प्रतिगमनविरोधीहरूले सत्ता गठबन्धन टुटाउन चाहेको समेत आरोप लगाएका छन्।
मधेशको विकास खर्च दयनीय
मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा विकास खर्चको अवस्था दयनीय देखिएको छ।
मधेश प्रदेश सरकारले समयमै बजेट ल्याए पनि ६ महिनासम्म पनि पुँजीगत खर्च ५ प्रतिशतभन्दा माथि हुन नसकेको हो। समयमा नै बजेट आएपनि बाँडफाँट तथा रकमान्तर हुन समय लागेकाले अपेक्षाकृत खर्च गर्न नसकिएको मधेश सरकारको दाबी छ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले चालु आर्थिक वर्षको ६ महिनामा कुनै पनि मन्त्रालयको पुँजीगत खर्च मात्रै नभएर समग्र बजेट खर्च नै सन्तोषजनक नभएको स्वीकार गरे।
त्यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवले नेपाली काङ्ग्रेसको महाधिवेशन लगायतमा आफूहरु व्यस्त भएकाले लक्ष्य अनुसार पुँजीगत खर्च गर्न नसकिएको दाबी गरे।
मन्त्री यादवले मधेश प्रदेश सरकारको अहिलेसम्म विकास बजेट खर्चको अवस्था हेर्दा चिन्ताजनक अवस्थामा रहेको बताए। अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा कम बजेट खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको जनाएको छ। सरकारले बजेट खर्च गर्न नसक्ने तर अर्थ मन्त्रालयलाई बजेट थप्न दबाब बढ्ने गरेको मन्त्रालयले जनाएको छ।
मोरङमा भेटियो बर्डफ्लु
मोरङका चार वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चार वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएको हो।
ग्रामथान–१ को कृषि फार्ममा रहेका करिब ३ हजार ५०० लेयर्स कुखुरा मरेपछि नमूना परीक्षणका लागि पठाइएका थियो। यस्तै कटहरी-७ स्थित पद्मश्री बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये ७ सय वटा कुखुरा मरेका थिए। बुढीगंगा–५ स्थित रास एग्रोभेट फार्ममा रहेका परेवासमेत मरेका थिए। ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएको छ।
कुखुरा र परेवा मर्न थालेपछि विराटनगरस्थित पशुपन्छी रोग प्रयोगशालामा गरिएको परीक्षणमा यी चार फार्ममा बर्डफ्लु पुष्टि भएको हो।
फ्लु देखिएका फार्मका कुखुरा तथा पन्छीजन्य वस्तु नष्ट गर्ने कार्य शुरू भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा जिल्ला बर्डफ्लु नियन्त्रण समितिको बैठकले फार्ममा निगरानी गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको छ।
वीरलाई आइसीयू
निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ। मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता डा. लीलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो।
बेड हस्तान्तरण गर्दै प्रतिष्ठानका तर्फबाट नेता पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क हुनुपर्ने बताए। नेता पोख्रेलले प्रतिष्ठानसँग १५० वटा आईसीयू बेड उपलब्ध भएकाले ती बेड देशका विभिन्न अस्पताललाई उपलब्ध गराइने जानकारी दिए।
कार्यक्रममा वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताए। प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याइने उनको भनाइ थियो।
कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन केही सहज भएको उनको भनाइ छ।
पोर्चुगलमा सत्तारुढ विजयी
पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढसमेत रहेको संसद् विघटन गर्ने दल समाजवादी पार्टी नै विजयी भएको छ।
प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको समाजवादीले ९२.६ प्रतिशत मतगणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ। समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक पार्टीले पछ्याइरहेको छ।
आयोगले समाजवादी पार्टी नै विजयी हुने बताएपछि राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले बधाई दिएका छन्। तत्कालीन संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि गत नोभेम्बरमा राष्ट्रपति सौसाले संसद् विघटन गरी निर्वाचन घोषणा गरेका थिए। बजेट पारित गर्न गत अक्टोबर २७ मा संसद्मा मतदान भएको थियो। सत्तारुढ गठबन्धनमा रहेको वामपन्थी दलले सहयोग नगरेपछि बजेट पारित हुन सकेको थिएन।
सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलको इतिहासमा आठौं पटक संसद् विघटन भएको हो। धेरैले सत्तारुढ समाजवादीलाई धक्का लाग्ने अनुमान गरे पनि मतपरिणाम अनुमानभन्दा फरक आएकाले अप्रत्याशितसमेत भनेका छन्।
फागुन ५ मा भिड्दै च्यासल र पुलिस
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा हुने भएको छ।
च्यासलका १९ खेलाडी कोभिड पुष्टि भएपछि रोकिएको नवौं चरणको खेलको मिति तोकिएको एन्फाले जानकारी दिएको हो। खेलाडीलाई कोभिड भएपछि च्यासलले पुलिससँगको खेल स्थगित गर्न एन्फालाई अनुरोध रेपपछि खेल रोकिएको थियो। नवौं चरणका यो अन्तिम खेल हो। यसअघि खेल माघ १० का लागि तोकिएको थियो।
दशौं चरणका खेल सुरु हुनुअघि नै च्यासल र पुलिसको खेल आयोजना गरिएको हो। खेल शनिबार दिउँसो १ बजे हुनेछ। च्यासल र पुलिसको खेलपछि मात्र दसौँ चरणका खेल हुनेछन्। यद्यपि एन्फाले दसौँ चरणका खेल हुने मिति भने तय गरेको छैन।