काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै रहेको बताएका छन्।
शुक्रबार रोल्पाको लिबाङमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषयमा गठबन्धनभित्र छलफल नभएको दाबी गरे।
प्रदेशको नेतृत्व आलोपालो गर्ने कुरा राजनीतिक विषय भएको भन्दै उनले अहिले गठबन्धनमा सम्मिलित नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले दुई–दुई र जसपाले एक प्रदेशको नेतृत्व गरिरहेकाले लुम्बिनी प्रदेशको नेतृत्वको कुरा पनि गठबन्धनको उच्च तहमा सबै प्रदेशलाई दृष्टिगत गरी छलफल हुनुपर्ने बताए।
केन्द्रीय सरकारको वैचारिक अगुवाइमा सातै प्रदेशको हेरफेर भइसकेको र लुम्बिनी प्रदेशको गठबन्धन नबन्दै सरकार बनेकाले अब कसरी जाने भन्ने कुरा राजनीतिक उच्च नेतृत्वको हातमा रहेको उनको भनाइ छ।