बुुटवल– लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेकपा एकीकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेदवारलाई बिहीबार बुटवलमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै विजयी राष्ट्रियसभाका सदस्यहरुले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरी मानेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्।
नेकपा एकीकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरैले जनता र संविधान रक्षामा लाग्ने बताइन्। उनले गठबन्धनका उम्मेदवाररको विजयले प्रतिगमनकारी र दम्भीहरु पराजित भएको बताइन्। उनले केपी ओली नेतृत्वको एमाले बलियो भएको भनिएको लुम्बिनीको राष्ट्रियसभाबाट पछार्न सफल भएको बताइन्।
राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी भएका तुलप्रसाद विश्वकर्माले संविधान, संसद्, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने प्रतिगमनकारी शक्तिलाई राष्ट्रियसभाको निर्वाचनले परास्त गरेको बताए।
उनले देश र जनताका समस्याहरुलाई निकास दिन राष्ट्रियसभा सदस्यको हिसाबले पूरा गर्ने प्रतिबद्धता जनाए। उनले गठबन्धनबाट विजयी हुँदा समग्र देश र प्रतिगमनकारी शक्तिले पराजय भोगेको बताउँदै आफूहरुले गल्ती गर्दा सजग गराउन आग्रह गरे।
नेपाली कांग्रेसका तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी थिएनन्। उक्त अवसरमा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेशमा सचेत जनप्रतिनिधिले फ्लोर क्रस गरेर समेत गठबन्धनका उम्मेदवाररलाई भोट दिएको बताए। उनले पञ्चायत, बहुदल र गणतन्त्र ल्याउन जसरी वामपन्थी र प्रजातान्त्रिक शक्तिको गठबन्धन सफल भएको उल्लेख गर्दै अहिले केपी ओलीले चालेको संविधान विरोधी र प्रतिगमनकारी कदमलाई परास्त गरेको बताए।
उक्त अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, नेकपा समाजवादी रुपन्देहीका उपमहासचिव सरिता श्रीषले बोल्दै गठबन्धनबाट विजयी भएकाहरुलाई जनता र संविधानको पक्षमा दृढताका साथ उभिन शुभकामना दिएका थिए। लुम्बिनी प्रदेशमा बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका थिए।