जनकपुरधाम- भारत सरकारले भगवान रामको जन्मभूमि अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म जोड्ने चारलेनको सडक निर्माण गर्ने भएको छ। भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ।
भारतका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले बिहार सरकारका पथ निर्माण मन्त्री नितिन नवीनलाई पत्र लेखेर रामजानकी मार्ग निर्माणसम्बन्धी जानकारी गराएका हुन्।
पीएम प्याकेज बिहार २०१५ अन्तर्गत सो सडक निर्माण गर्न लागिएको पत्रमा भनिएको छ। २४० किलोमिटर लम्बाईको सो सडकखण्डको निर्माण कार्य एनएचआईले गर्नेछ। यसका लागि बिहार सरकारले केन्द्र सरकारसँग स्वीकृति मागेको थियो। जसको स्वीकृतिसहितको पत्र केन्द्रले बिहार सरकारलाई पठाएको हो।
पत्रमा भनिएको छ, ‘बिहार राज्यको रामजानकी मार्गको चार लेनको सडक मापदण्ड अनुसार विकास गरिने छ। राम जानकी मार्ग उत्तर प्रदेशमा भगवान रामको जन्मस्थल अयोध्याबाट सुरु भई नेपालको जनकपुरधाममा अन्त्य हुन्छ। माता सीताको जन्मस्थल बसन्ती-बहालगंज बिहार राज्यको महराउना घाट, सिवन चाकिया, सीतागढी, भिठामोड हुँदै जनकपुरधाममा अन्त्य हुन्छ।’
भारतका केन्द्रीय मन्त्री गडकरीद्वारा लेखिएको पत्रमा थप भनिएको छ, ‘रामजानकी मार्गको धार्मिक महत्व र तपाईको अनुरोधलाई स्वीकार गर्दै यस राजमार्गको बिहार राज्यको सम्पूर्ण भाग ४ लेनको बनाउने निर्णय भएको छ भन्ने कुरा खुशीका साथ जानकारी गराउन चाहन्छु।’
सो सडकको निर्माणसँगै अयोध्याबाट माता सीताको भूमि जनकपुरधाम आउने भारतीय पर्यटकको संख्यामा वृद्धि हुने बताइएको छ।