बुटवल- लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवल उपमहानगरपालिकाले नयाँ प्रशासकीय भवन उद्घाटन गरेको छ। चार तलाको अत्याधुनिक उक्त भवन ४३ करोड ५३ लाख ४९ हजारमा निर्माण गरिएको हो। उक्त भवनको पूर्वअर्थमन्त्री एंव रुपन्देही क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे।
पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरे। रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन्।
तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजना नै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफू चिन्तित भएको उनले बताए। उनले बुटवलले विकासमा आफूलाई स्थापित गर्दै लगेकोसमेत बताए। २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता भएको थियो। तर कोभिडको वाहनामा एक वर्षपछि बल्ल निर्माण पूरा गरि भवन उद्घाटन गरिएका हो।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताए। उनले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाइरहेको भन्दै प्रशंसा पनि गरे।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देही आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले महानगरीय अवधारणाका साथ र बृहत बुटवलको लक्ष्यलाई साकार पार्ने उद्देश्यका साथ योजना तय गरिएको बताए। प्रमुख सुवेदीले नयाँ अत्याधुनिक प्रशासकीय भवन निर्माण पनि सोही योजना अन्तर्गतको एउटा पाटो रहेको बताउँदै पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उल्लेख गरे।
भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रबन्ध रहेको छ भने मुल गेटलाई जितगढि किल्लाको झल्को दिने गरी निर्माण गरिएको छ।