शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मुख्यमन्त्री पोखरेलकै निर्देशनमा यसरी अपहरित भइन् सांसद विमला वली

मुख्यमन्त्री पोखरेलकै निर्देशनमा यसरी अपहरित भइन् सांसद विमला वली

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ५ दिनसम्म सांसदलाई बन्धक बनाएको खुलासा भएको छ।
 |  बिहीबार, साउन २१, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, साउन २१, २०७८

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ५ दिनसम्म सांसदलाई बन्धक बनाएको खुलासा भएको छ। 

National life

एक सातायता लुम्बिनीको राजनीतिको केन्द्रमा रहेकी दाङ निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले बिहीबार पत्रकार सम्मेलन गरी सत्ता टिकाउन केसम्म गरिन्छ भन्ने दृष्टान्तको खुलासा गरेकी हुन्। साउन १५ गतेदेखि २० गतेसम्म नेकपा एमालेका नेता र मुख्यमन्त्रीले गरेका हर्कतहरुको सविस्तार प्रेस विज्ञप्तिमार्फत वलीले उल्लेख गरेकी छन्।

साउन १५ गतेदेखि माओवादी केन्द्रको सम्पर्कमा नरहेकी सांसद वलीले सोमबार एमालेमा फर्केको विज्ञप्ति सार्वजनिक गरेकी थिइन्। तर, बुधबार निकै हतास मनिस्थितमा नेकपा माओवादी केन्द्र लुम्बिनीको संसदीय दलको कार्यालयमा पुगेर राहत महसुस गरेको पत्रकार सम्मेलनमा सांसद वलीले बताएकी छन्। मुख्यमन्त्री शंकर पोखरेल, नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले विज्ञप्ति र अन्य माइन्यूटमा समेत जबर्जस्ती हस्ताक्षर गराएको सांसद वलीले बयान दिएकी छन्। 

वलीका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट चुनाव लडेर विजयी भएकी थिइन् वली। तर, सर्वोच्च अदालतको फैसलापछि तत्कालीन एमाले र माओवादी ब्युँतिएपछि वलीले नेकपा माओवादी पार्टी रोजेकी हुन्। वैशाख १९ गते दोस्रो पटक मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्ति हुँदै गर्दा वलीले माओवादी पार्टी रोजिसकेकी थिइन्। तर, एमालेले भने वली माओवादी प्रवेश नै नगरेको दाबी गर्दै आएको थियो। 

लुम्बिनीमा सत्ता राजनीति पेचिलो बन्न थालेपछि वलीलाई एमालेमै रहन दबाब दिइएको थियो। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताले बारबार एमालेमा आउन दबाब दिएको उल्लेख गरिएको छ। 

Laxmi sunrise bank
kumari

’ट्वाइलेटको चप्पल लगाएर माओवादी संसदीय कार्यालय पुगें’ 

पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य वलीले ५ दिनसम्म सम्पर्कविहीन हुनुको नालीबेली सुनाइन्। लिखित रुपमा वितरित प्रेस विज्ञप्तिमा उपचार गर्न हिँड्न लागेको दिन साउन १५ गते एमालेका प्रमुख सचेतक भुमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत आफ्नो घर तुल्सीपुरमा आएको र एमालेमै फर्कन दबाब दिएको उल्लेख छ। उनले पत्रकार सम्मेलनमा तुलसीपुरबाट नेपालगञ्ज उपचार गर्न लैजाने भन्दै मुख्यमन्त्री निवासमा ल्याएर बन्धक बनाएको घटनालाई सविस्तार बताइन्।

‘म बिरामी छु, उपचारको लागि नेपालगन्ज जाँदैछु जान दिनुस् भन्दा प्रमुख सचेतक भूमिश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, सँगै जाऔं, हामी नै लगिदिन्छौं  भन्नुभयो। उहाँजस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरेँ र गाडीमा बसेँ। गाडी तुलसीपुरबाट अमिलिया आएर उहाँहरु (ढकाल र रावत) खाना खानुभयो। त्यसपछि गाडीमा बसियो, तर गाडी नेपालगन्जतिर जानुपर्नेमा एक्कासि बुटवलतिर मोडियो। तत्कालै मैले प्रतिवाद गर्दै भनें, ’यता कहाँ जाने हो? गाडी बुटवलतिर हुइँकिरह्यो। मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिहँदा एक पटक मुख्यमन्त्रीज्यूलाई भेट्नुपर्यो भन्दै गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो। 

मुख्यमन्त्री पोखरेलसँग भेट भएपछि छलफल सुरु भयो। फेरि उही नेकपा (एमाले) मा आउनुपर्यो भन्ने दबाब आयो। पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर इन्कार गरिरहें। साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइरह्यो। मैले इन्कारी जारी राखिरहें। साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबर्जस्ती हस्ताक्षर गराइयो। यतिमात्र नभई अर्को दुई–तीनवटा माइन्यूट जस्ता रजिष्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो। 

यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबर्जस्तीको खण्डन गर्छु भन्ने सोचेको थिएँ। तर अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो। २० गते बिहान मलाई असह्य मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनुपर्छ भन्ने सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनुपर्छ भनेर तयारी गरेँ। त्यसपछि दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ। जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरेँ। त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ।’ 

उनले विज्ञप्तिमा अगाडि भनेकी छन्, ‘राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्नपर्यो। नेकपा (एमाले) ले यस्तो अराजनीतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिइन। मेरो विचार, राजनीति उहाँहरुको भन्दा फरक भए पनि मैले उहाँहरुलाई अविभावककै रुपमा मान्ने र बुझ्ने गर्थें। तर त्यस्तो व्यवहार पाइएन।’

उनले आफू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै एमालेले फैलाएको भ्रमहरु र जबर्जस्ती गरिएको कागज र हस्ताक्षर झुठो भएको समेत बताएकी छन्। उनले यी राजनीतिक घटनाक्रमले आफूलाई पाको बनाएको बताएकी छन्। घटनाक्रम लिखित रुपमा सार्वजनिक गरेकी प्रदेशसभा सदस्य वलीले कानुनी लडाइँ भने नलड्ने बताएकी छन्।

प्रकाशित: Aug 05, 2021| 14:55 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...