शुक्रबार, भदौ ५, २०८३

भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गरौं : गगन थापा [अपिलसहित]

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न अपिल गरेका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न अपिल गरेका छन्।  कांग्रेसको चौधौं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले सोमबार एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति हो। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु।’  कांग्रेसले सोमबार १४८ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ। अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

थापाले प्रतिनिधिहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘कांग्रेसजनको मत र भावनाको प्रतिनिधिका रुपमा कस्तो कांग्रेस बनाउने भन्ने जगमा तपाईं हुनुहुन्छ। जग कमजोर भयो भने जतिसुकै मेहनतले घर बनाउन खोजे पनि बलियो बन्न सक्दैन।’ उनले अहिले सही निर्णय गर्न सके मात्र पार्टीले सही गति लिन सक्नेमा जोड दिएका छन्।

उनले भनेका छन्, ‘तपाईंको निर्णय पार्टीको सर्वोत्तमा हित र नवनिर्माणका लागि हुनेछ भन्नेमा विश्वस्त छु।’ थापाले पार्टी नवनिर्माणका लागि संकल्पन गर्न र विवेकसम्मत निर्णय गर्न पनि प्रतिनिधिहरुलाई अपिल गरेका छन्।

लाखौं क्रियाशील सदस्यहरुले विश्वास गरेर पठाएका प्रतिनिधिको एकपटक कठोर आत्मसमीषाका साथ फेरि आफूले हिँडेको राजनीतिको बाटोको पुनरवलोकन गर्ने साहसका साथ म आह्वान गर्दछु।’

थापाले भनेका छन्, ‘यो महाधिवेशनबाट हामीले त्यस्तो पार्टी बनाउनु छ, जसमा सबै सदस्यले आत्मसम्मा र अपनत्वको अनुभूति गरुन्, जसमाथि आम जनताले भरोसा र विश्वास गरुन्।’ उनले कांग्रेस पार्टीको जीवनमा महाधिवेशन आवधिक रुपमा नेतृत्व छनोट गर्ने प्रक्रिया मात्र नभई हामीले कस्तो कांग्रेस बनाउन चाहन्छौं भन्ने अवसर पनि रहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘यस पटकको महाधिवेशनमा लिने निर्णयको प्रभाव अझ दुरगामी हुनेछ। हामीले गर्ने निर्णयले यो कांग्रेस पार्टीको जीवनमा मात्र होइन, लगत्तै हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचन अनि राष्ट्रिय राजनीतिलाई समेत प्रभाव पार्नेछ।’

उनले महाधिवेशनले पार्टीलाई विवेकपूर्ण ढंगले संविधान निर्दिष्ट बाटोलाई फराकिलो पार्दै गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी वहन गर्न सक्षम बनायो भने मात्र हाम्रा प्राप्ति दिगो हुने बताएका छन्। तर महाधिवेशनमा गुट वा समूको प्रतिस्पर्धामा मात्र अलमलिने हो भने पार्टीलाई समुन्नत नेपाल निर्माणको नेतृत्वका लागि सक्षम बनाउने एउटा ठूलो अवसर गुम्न सक्ने भन्दै उसले सजग गराएका छन्।

उनले भनेका छन्, ‘तर मलाई विश्वास छ हामी त्यो अवसरलाई गुम्न दिने छैनौं। त्यसैले लाखौं क्रियाशील सदस्यहरुले विश्वास गरेर पठाएका प्रतिनिधिको एकपटक कठोर आत्मसमीषाका साथ फेरि आफूले हिँडेको राजनीतिको बाटोको पुनरवलोकन गर्ने साहसका साथ म आह्वान गर्दछु।’


प्रकाशित: Nov 22, 2021| 10:25 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...