काठमाडौं- नेपाली कांग्रेस काठमाडौंका १० निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन हुने भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौंका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो।
काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए।
यसअघि काठमाडौंमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो। कांग्रेसले यसअघि काठमाडौंका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ।
कांग्रेसले आगामी मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।