काठमाडौं– आज छठ पर्वको मुख्य दिन सूर्यको आराधना र पूजा गरी हर्षोल्लासपूर्वक मनाइँदैछ। तराई मधेसका सबै जिल्ला, काठमाडौंसहितका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक छ।
छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। व्रतालुहरू निराहार बस्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा आदि जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको पूजा गर्दछन्। आज जलाशयमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ। छठ पुजाका लागि जनकपुर, वीरगन्जसहित तराईका अधिकांश क्षेत्रका नदी, पोखरीहरु दुलहीझैं सिँगारिएका छन्। काठमाडौंको गौरीघाट, बागमती किनारलगायतका क्षेत्र पनि बेहुलीझै सिँगारिएको छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिन्छ।
गणेशमान सिंहको सम्झना
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह निष्ठाको केन्द्र बन्न सफल भएका थिए। प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ मा भएको ऐतिहासिक जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले अस्वीकार गरेका थिए।
उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए। १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका उनको २०५४ असोज २ गते निधन भएको थियो।
कांग्रेसले तालमेल गर्न आवश्यक छैन : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कुनै पनि दलसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन्।सत्ता गठबन्धनका दलहरुबीच आगामी निर्वाचनमा तालमेल गर्ने तयारी भइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले कांग्रेसले आफ्नै बलबुँतामा चुनाव लड्नुपर्ने बताएका हुन्।
गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस आफ्नै एजेन्डा लिएर निर्वाचनमा जानुपर्ने बताए। सिंहले अर्ली इलेक्सनको हल्ला गर्न आवश्यक नभएको भन्दै संविधानको मर्म र भावनाबाहिर गएर कुनै पनि चुनाव गर्न नहुने बताए। यस्तै उनले सत्तारुढ गठबन्धनका नेता सम्मिलित राजनीतिक समिति संविधानविपरीत भएको टिप्पणी गरेका छन् ।
एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक आज
नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ। स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो।
एमालेले महाधिवेशन मंसिर १०–१२ सम्म चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ। त्यसका लागि एमालेले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ। महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वके सरगर्मी बढेको छ। नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समिति बनाउने निर्णय गरेको छ।
चक्कु प्रहारबाट युवकको हत्या
कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ। मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले रिसिबीलाई लिएर दुवै समूहबीच भएको झडपका क्रममा बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको बताए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५ जना युवाहरुलाई पक्राउ गरेको छ।
दुर्घटनामा दुईको मृत्यु
हेटौंडामा ट्रक र बस आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरुको परिचय खुल्न सकेको छैन।
मंगलबार राति साढे १२ बजे जनकपुरबाट काठमाडांैका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौंडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किएको प्रहरीले जनाएको छ।
टी ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनल आज
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ। अबुधाबीमा नेपाली समय अनुसार राति पौने ८ बजे हुने पहिलो सेमिफाइनलमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्यान्ड समूह दुईको उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्। टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि पाकिस्तान र अस्ट्रेलिया भिड्ने छन्।