प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ।
कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर बिहान एक घण्टा धर्ना दिएका हुन्। देशभरका ९० वटै एकाइसँग छलफल गरेको बारले सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो। बारले आगामी कात्तिक ३० गतेसम्मका लागि प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
जसअनुसार कात्तिक २३ देखि ३० गतेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा विरोधका कार्यक्रम गर्नेछ। सो अवधिमा उपत्यकाका सबै कानुन व्यवसायी आन्दोलनमा सहभागी हुने भएकाले उपत्यकाभित्रका जिल्ला अदालत, उच्च अदालत र विभिन्न न्यायाधीकरणमा बिहान १० देखि १२ बजेसम्म सुनुवाइ रोक्न माग गर्दै बारले पत्राचारसमेत गरेको छ।
सेनापति भारत भ्रमणमा
प्रधानसेनापति प्रभुराम शर्मा आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्। तीनदिने भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्नुका साथै उच्चस्तरीय भेटवार्ता गर्नेछन्। प्रधानसेनापति शर्माले आजै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
उनले जल र हवाई सेनाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ताका लागि आग्रह गरिएको छ। परराष्ट्र स्रोतका अनुसार सोमबार बेलुकीसँग शिष्टाचार भेटवार्ताका लागि नेपाली पक्षलाई जवाफ आइसकेको छैन।
थप एक करोड खोप खरिद प्रक्रिया सुरु
सरकारले एक करोड मात्रा कोरोनाविरुद्धको खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले करिब ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्ने निर्णय गर्दै प्रक्रिया अघि बढाएको हो।
यो खोप बालबालिकालाई पनि लगाउन मिल्ने भएकोले खरिद गर्न लागिएको हो। १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खोप खरिद गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरूद्ध खोप लगाइसक्ने जनाएको छ।
आज छठ पर्वको दोस्रो दिन
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदैछ। ब्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख चन्द्रमालाई खीर चढाउँछन्। चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनका रूपमा ग्रहण गर्दछन्। आज व्रतालुले बेलुकी एक छाक मात्र भोजन गर्दछन्।
हिजोदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदि भोजन गर्दैनन्। छठ कात्तिक शुक्ल चतुर्दशीदेखि सप्तमीसम्म मनाइन्छ।।
डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघ्यो
सेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघेको छ। सेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने कार्यालय सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय पुगेको हो। सेयर बजारमा नयाँ लगानी भित्रने क्रमले एक महिनामा नै एक लाख नयाँ डिम्याट खाता थपिएका छन्।
यस्तै मेरो सेयर प्रयोगकर्ताको संख्या ३७ लाख ३४ हजार ३ सय १९ पुगेको छ। डिम्याटमा भएका सेयर संख्या समेत वृद्धि भएको छ। अहिले ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६०४ कित्ता सेयर डिम्याटमा छन्।
धतुरो खाँदा एक जनाको ज्यान गयो
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ। दुई जना बिरामी भएका छन्।
धतुरोको तरकारी खादा ८३ पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए। तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएको छ।
भारतद्वारा नामिबिया पराजित
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत भारतले नामिबियामाथि सानदार जित दर्ता गरेको छ। सुपर १२ को समूह २ अन्तर्गतको सोमबार राति भएको खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको हो। सेमिफाइनल दौडबाट बाहिरिसकेका कारण भारत र नामिबिया दुवैका लागि यो खेल केवल औपचारिकतामा मात्र सीमित भएको थियो।
विश्वकपको सेमिफाइनलमा समूह एकबाट इङ्ल्यान्ड र अस्ट्रेलिया तथा समूह दुईबाट पाकिस्तान र न्युजिल्यान्डले स्थान बनाएका छन्। फाइनल प्रवेशका लागि इङ्ल्यान्ड र न्युजिल्यान्डबीच बुधबार तथा पाकिस्तान र अस्ट्रेलियाबीच बिहीबार खेल हुनेछ।