काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक तय भएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। दसैँतिहार र छठलगायतका पर्व सकिएसँगै नेपाली कांग्रेसले बैठक बोलाएको हो। बैठकमा मुख्यगरी महाधिवेशनका विषयमा छलफल हुने कांग्रेस स्रोतले बताएको छ।
कांग्रेस यतिबेला १४औं महाधिवेशनको प्रक्रियामा नै छ। विभिन्न जिल्लामा वडा, पालिका क्षेत्र र जिल्ला अधिवेशन पनि सकेको कांग्रेसका रसुवामा क्रियाशील सदस्यताकै विवाद मिलेको छैन।
१४ औं महाधिवेशनअन्तगर्त वडा अधिवेशनसमेत नभएका जिल्लामा तिहारलगत्तै अधिवेशनका कार्यक्रम सुरु गर्ने कांग्रेसको तयारी रहेको बताइएको छ। प्रदेश २ का जिल्लाहरू सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, बारा र पर्सासहित सिन्धुपाल्चोक, कैलाली, सुर्खेत, बाँके र डोल्पा गरी १२ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने तयारी गरिएको छ।
कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने कार्यतालिका छ।