काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रदेश २ मा पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सहसंयोजक तोकेको छ।
माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेश २ का आठवटै जिल्लाको संयोजक तथा दुई जिल्लामा सहसंयोजक तोकेको हो।
धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ ।
माओवादीले वीरगञ्ज महानगरपालिकामा संयोजकको जिम्मेवारी रहवर अन्सारीलाई दिएको छ। सर्लाही जिल्लाको सहइन्चार्जको जिम्मेवारी लोचन धिमाल र रामपृत रायले पाएका छन्। धनुषा जिल्लाको सहइन्जार्जको जिम्मेवारी झक्कु यादवलाई दिइएको छ।
प्रदेश तथा जिल्ला कमिटीको पूर्णता पार्टीको राष्ट्रिय सम्मेलनबाट दिइने माओवादीले जनाएको छ। बैठकले पार्टी सदस्यले न्यूनतम मासिक लेबी तोक्ने निर्णय पनि गरेको छ। प्रदेश सदस्यले ७५ रुपैयाँ, जिल्ला समन्वय समिति सदस्यले ५० रुपैयाँ, गाउँ नगर समिति सदस्यले २५ रुपैयाँ र त्यो भन्दा तल्लो तहको समिति र आम सदस्यहरूले २० रुपैयाँ मासिक लेबी पार्टीलाई बुझाउनु पर्ने निर्णय गरिको छ।