काठमाडौं- माधवकुमार नेपाल नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो पार्टीमा आउन चाहने राजनीतिक समूहसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ।
एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो।
बिहिबार विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार यो निर्णय बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले गरेको हो।
वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेस गरी पार्टी सचिवालय समितिमा पनि लगिएको विज्ञप्तिमा जनाइएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टि बढेपछि माधवकुमार नेपालले भदौ दोस्रो साता नयाँ पार्टी बनाएका हुन्। एमालेले माधव नेपालले पाटि चोइट्याएको बताइरहँदा राजनीतिक शक्तिमा भने नेपालको पार्टी अघि बढिरहेको छ।
संघको सरकारमा सहभागी भएको नेपालको एकीकृत समाजवादी पार्टी दुई वटा प्रदेशको नेतृत्वमा पुगेको छ।बागमतीमा ओली खेमाकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् भने प्रदेश १ मा सुरुमा माधव नेपाललाई साथ दिएका तर पछि ओली कित्तामा पुगेका भीम आचार्यले पनि अल्पमतमा परेपछि राजीनामा दिएका थिए। त्यहाँ पनि एकीकृत समाजवादीकै राजेन्द्र राई मुख्यमन्त्री बनेका छन्। दुवै मुख्यमन्त्रीहरूलाई कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको साथ छ।
उता माधव कुमार नेपालको नेतृत्वको पार्टीलाई एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने 'अवैध सम्बन्धबाट जन्मिकएको पार्टी' भएको दाबी गरेका छन्। नाम ठेगाना पनि प्रष्ट नभएको भन्दै भट्टराईले आगामी एमाले महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने बताएका छन्। एमालेले नेपाल नेतृत्वको दल बाहेक सबै दलसँग सहकार्य हुने बताउँदै आएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पषकमल दाहालले पनि आगामी चुनावमा पूर्व माओवादीहरू एक हुनुपर्ने बताएका छन्। यद्यपि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल वा एकताका विषयमा छलफल नभएको नेताहरूले बताउने गरेका छन्।