बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रधानन्यायाधीशले पठाए सम्मानजनक बहिर्गमनको प्रस्ताव, जिल्लामै फर्कियो सैनिक अदालत पठाएको मुद्दा [२०७८–७–१४]

प्रधानन्यायाधीशले पठाए सम्मानजनक बहिर्गमनको प्रस्ताव, जिल्लामै फर्कियो सैनिक अदालत पठाएको मुद्दा [२०७८–७–१४]

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

प्रधानन्यायाधीशले मागे न्यायाधीशसँग सम्मानजनक बहिर्गमनको प्रस्ताव

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका छन्। 

उनको राजीनामा मागिरहेका न्यायाधीशहरू आइतबार पनि छलफलमा बसिरहेका बेला प्रधानन्यायाधीश जबराको प्रस्ताव न्यायाधीश मनोज शर्मामार्फत पुगेको थियो। उक्त प्सताव पुगेपछि सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न समिति गठन गरेका छन्। 

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि ३ न्यायाधीश सदस्य रहने गरी समिति गठन गरेका हुन्। समितिमा न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा छन्। 

समितिलाई प्रधानन्यायाधीशले पठाएको प्रस्तावका विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको एक न्यायाधीशले जानकारी दिए। न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसकेको भन्दै राजीनामालाई मुख्य एजेण्डा बनाएका छन्। उनीहरुले झण्डै एक हप्तादेखि मुद्दाको सुनुवाइ पनि गरेका छैनन्।

बारले सुरु गर्‍यो प्रधानन्यायाधीशविरुद्ध विरोधका कार्यक्रम

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आजबाट विरोधका कार्यक्रम सुरु गरेको छ। बारले आजदेखि हातमा पट्टी बाँधेर विरोधका कार्यक्रम सुरु गरेको हो। हातमा कालोपट्टी बाँधेर निस्केका कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा जम्मा भएर प्रदर्शन गरेका छन्। बारले गरेको प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगाना, बारका पूर्वअध्यक्षहरु उपस्थित भएका थिए। बरोध कार्यक्रममा पूर्व सभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि बिरोध गर्नुपरेको बताए। उनले संविधानबाट चल्ने न्यायपालिका र संस्थाहरु सबै खतरामा रहेको टिप्पणी गरे। 

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यक्तिको लागि बिरोध नभएर प्रवृत्तिमाथको बिरोध भएको बताए। उनले न्यायपालिका भित्र प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बार एशोसिएशनले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए। उनले कोर्ट बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताए। 

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार बिरुद्धको नेपाल बार एशोसिएशनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कार्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहितको बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ। उनीहरुले ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ’ भन्ने ब्यानरसहित बिरोध गरेका छन्। बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणवद्धरुपमा बिरोध कार्यक्रम शुरु गरेको हो।

यसैबीच, आज बारको विरोधको विरुद्धमा रहेका केहि कानुन व्यवसायीहरुले सेतो पट्टी बाँधेर विरोधको पनि विरोध गरेका छन्। नेपाल बारको भवनको प्रांगणमा भेला भएका उनीहरुले इजलास बस्नुपर्ने माग गरेका थिए। 

न्यायाधीशले इजलास बहिष्कार गरेपछि मारमा परेको भन्दै कलाकारको प्रदर्शन

सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरुको एक समुहले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायापालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप कलाकारहरुको समुहले मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन्। उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए। मुद्धा सुनुवाई गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?न्यायाधीशज्यूहरुबाट गरिएको हड्तालले न्यायमूर्तिलाई शोभा दिएन, इजलासमा बसेर न्याय देउ, होइन भने राजिनामा देउ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा लगायतको प्लेकार्ड प्रस्तुत गरिएको थियो। 

जिल्ला अदालतमै फर्कियो सैनिक अदालत पठाइएको मुद्दा

सर्वोच्च अदालतले सैनिक जवानले गरेको हत्या सम्बन्धी मुद्दालाई सैनिक अदालतमा सुनुवाइ गर्न पठाउने जिल्ला र उच्च अदालतको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। 

महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो। नियमित अदालतले सुनुवाइ गर्नुपर्ने मुद्दा जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाउने आदेश गरेपछि उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दिएको थियो। 

नेपालकी सेनाको ‘द फेमस महिन्द्र दल गण’ शिवपुरीमा कार्यरत जवान गंगाराम ढकालले सोही गणका हुद्दा भरत गुरुङलाई गत साउन ७ मा चितवनको भरतपुर–१७ मा गोली हानी हत्या गरेका थिए। त्यसमा प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकीलको कार्यालयले चितवन जिल्ला अदालतमा हत्या मुद्दा चलाएको थियो। तर, भदौ १ मा थुनछेक आदेशका लागि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हेमन्त रावलले ढकाल र मुद्दासँग सम्बन्धित सक्कल फाइल कालीबहादुर गणमार्फत् सैनिक अदालत पठाउन आदेश दिए। यो आदेशलाई उच्च अदालत हेटौडाले पनि सदर गरेको थियो। 

भदौ १६ मा समरी जनरल सैनिक अदालतले हतार हतार ढकालको मुद्दामा फैसला गर्दै २५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। ढकाल हाल जेलमा छन्। सर्वोच्चको फैसलासँगै उक्त मुद्दामा पुनः जिल्ला अदालत चितवनमा बहस हुने भएको छ। 

न्यायालयको समस्या समाधान नगरेको भन्दै पूर्वराष्ट्रपतिद्वारा सरकारको आलोचना

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गरे। ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच विमोचन गर्दै उहाँले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन ? भनेर सरकारलाई प्रश्न गरे। कानुनमन्त्रीले सो समस्या समाधान गर्न सक्दैनन भन्दै पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँ¥याएको टिप्पणी गरे। 

पूर्वराष्ट्रपति यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्। उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरे। 

बुद्धदर्शन आत्मसात गरे दिगो शान्ति कायम हुन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गर्दै अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छिन्। 

आज आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गरेर अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताएकी हुन्। नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको उनको भनाइ  छ। 

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकिय क्षेत्र बनाउनुपर्नेमा जोड दिइन्। यसो गर्दा स्थानीय समुदायको जिवनमा पनि समृद्धि हासिल हुने उनको भनाई छ। उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन्। 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्राचीन कलासहितको नेपाली बिहार निर्माण गरिएको छ। नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाबिहार निर्माण गरिएको हो। लिच्छविकालीन तथा मल्लकालीन काष्ठकला र कलाकृतिले सजिएको बिहार करिब १६ करोड लागतमा निर्माण भएको हो। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन गर्न कार्यबाहक प्रमको निर्देशन

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।

आज आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउन निर्देशन दिएका हुन्। उनले सो विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता व्यक्त गरे। 

कार्यवाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पु¥याउन र आफ्नो जिवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे। उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको उल्लेख गरे। 

कार्यवाहक प्रधानमन्त्री खाँडले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि आश्वासन दिए।

मेयरको घरअघि फोहोर फालेर वडाध्यक्षले गरे विरोध

जनकपुरका वडाध्यक्षहरुले नै मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन्। 

चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर बिरोध गरेका हुन्। दीपावली नजिकिँदै जाँदासमेत फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन्। वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई कालोमासो दल्ने चेतावनी दिए। 

फोहोर व्यवस्थापनको माग गर्दै वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन्। प्रहरीले नगरप्रमुख साहको घर अगाडी फोहोर फाल्न नदिएपछि उनीहरुले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए। जनकपुरधाम उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधिहरु पनि आक्रोशित बनेका छन्।

२८ सय बिन्दुमाथि नेप्से

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ। शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ।

दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेच भएका छन्। जसबाट कारोबार रकम ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ पुगेको छ। नेप्से परिसूचक र शेयर कारोबार रकम दुबै दशैं पछिको नयाँ रेकर्ड हो।

४०८ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्। 

७ हजार ८९९ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संत्रमण पुष्टि भएको हो। सोही अवधिमा ५१८ जना संक्रमणमुक्त भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ। आजको दिनमा सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३८ हजार ८१५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 

जनगणना सुरु

राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ। जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरिएको हो। हिजो कात्तिक १३ गतेबाट भने देशभर मुख्य गणनाका लागि गणकहरुको तालिक सुरु गरिएको जिल्ला जनगणना कार्यालय, काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी बलराम दुलालले जानकारी दिए। यो तालिम कार्तिक १७ गतेसम्म हुनेछ। काठमाडौं जिल्ला बाहेकका अन्य जिल्लाहरुमा भने कात्तिक १६ गतेसम्म मात्रै गणकहरुको तालिमको व्यवस्था गरिएको पनि काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी दुलालले बताए। 

केन्द्रिय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसीर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दैछ। सोही गणनाका लागि गणकहरुको तालिम सुरु गरिएको काठमाडौं जिल्ला जनगणना अधिकारी धर्मरत्न बज्राचार्यले बताए। 

मुख्य जनगणनाका लागि काठमाडौंमा ३ वटा स्थानमा ४५७ जना गणकहरु सो तालिममा सहभागी भएका छन। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनामा सहभागी हुन केन्द्रिय तथ्यांक विभागले सबैलाई आह्वान गरेको छ। 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ। 

आज आईतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिए। 

अध्यक्ष गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए। नेपाल आयल निगमले शुक्रवार राति पेट्रोल डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो। त्यसैको बिरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। 

तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक 

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन्। उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकलाई सम्बोधन गरेका थिए। अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका छन्।  अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रुपमा देखा परेका थिएनन्।

यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो। तालिबान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलुम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकु चेलाहरुसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए। सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो।

प्रकाशित: Oct 31, 2021| 19:45 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।