आइतबार, वैशाख २३, २०८१

चोर समातेपछि पनि प्रहरीलाई अनुसन्धानकै सास्ती

अधिकांश चोरीका घटनामा पीडितको दाबीसँग चोरको ‘बयान’ नमिल्दा प्रहरीलाई अनुसन्धानमा सकस हुने गरेको छ। ‘
 |  मंगलबार, कात्तिक ९, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं– ०७८ असार १९ गते काठमाडौं सीतापाइलास्थित बुद्धटोलमा रहेको कृष्ण लामाको घरमा कोही नभएको मौकामा नगद तथा गरगहना चोरी भयो। पीडित परिवार त्यसपछि चोरीको निवेदन लिएर प्रहरीको शरणमा पुग्यो। निवेदनमा उनीहरुको दाबी थियो, नगद तथा गरगहना गरी करिब ३ लाख ८० हजार बराबर चोरी भयो। 

triton college

चोरी भएको करिब दुई महिनापछि हालै महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले चोरीमा संलग्न दुई जना व्यक्तिलाई समातेको छ। तर, अझै अनुसन्धानको सकस बाँकी नै छ। कारण, पीडितले दाबी गरेअनुसारको रकम र गहना चोरले दिएको बयानसँग मिल्दैन। प्रहरीसँगको सोधपुछमा चोर उही कुरा दोर्याइरहन्छन्, ‘त्यो घरमा त्यत्रो रकम र गरगहना छँदै थिएन। त्यहाँबाट हामीले ३०–३० हजार रकममात्रै बाँडेका हौं।’ 

स्वयम्भूमा रहेको आरक्ष बचत तथा ऋण सहकारी संस्थाको कथा पनि यस्तै छ। ०७८ असार २४ गते यो सहकारीमा पनि नगद तथा गरगहना चोरी भएको थियो। प्रहरीसँगको निवेदनमा सहकारीले १ लाख २३ हजार बराबरको धनमाल चोरी भएको दाबी गरेको छ। तर, पक्राउ परेका चोर भन्छन्, ‘त्यहाँ त्यत्रो रकम छँदै थिएन । जम्मा ६० हजार थियो। हामीले ३०¬–३० हजार बाँड्यौं।’ 

यी दुई त प्रतिनिधि उदाहरणमात्रै हुन्, अधिकांश चोरीका घटनामा पीडितको दाबीसँग चोरको ‘बयान’ नमिल्दा प्रहरीलाई अनुसन्धानमा सकस हुने गरेको छ। ‘पीडितले यति हरायो भन्छ तर चोरले त्यति छँदै थिएन भन्छ,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला भन्छन्, ‘प्रायः चोरीको केसमा यहीँनेर हामीलाई सकस हुन्छ। कति पैसा र गहना हराएको हो त्यसको ठ्याक्कै प्रमाण र आधार भेट्न गाह्रो हुन्छ। त्यहीकारण अनुसन्धानमा हामीलाई सकस हुन्छ।’

महानगरीय अपराध महाशाखाको टोलीले हालै दुई ‘खुंखार चोर’ सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बाका कमल थापा मगर र धनलाल मगर रहेका छन्। दुवै कोटेश्वरमा डेरा लिएर बस्दै आएका थिए। प्रहरीको अनुसन्धानमा यी दुवै उपत्यकाका विभिन्न ९ स्थानमा भएको चोरी कार्यमा संलग्न रहेको पाइएको छ।

corrent noodles
Metro Mart

उपत्यकामा रहेका देबी बचत तथा ऋण सहकारी संस्था, स्वविवेक बचत, आरक्ष बचत, जुनार हिल टप बचत तथा ऋण सहकारी र दिदी बचत तथा ऋण सहकारी संस्थामा भएको चोरीमा पनि उनीहरुकै संलग्नता पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले बताए। खापुङका अनुसार उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका गरगहना पक्राउ गरिएको छ। 

महाशाखाको टोलीले चोरीमा संलग्न दुई व्यक्तिसँगै चोरीको गहना खरिद गर्दै आइरहेका सुनचाँदी व्यवसायी हरि प्रसाद रसाइलीलाई पनि पक्राउ गरेको छ। रसाइली पनि मगरकै समूहमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

अनुसन्धानमा जे देखियो ...

अपराध महाशाखाको अनुसन्धानमा पक्राउ परेका कमल थापा मगर र धनलाल थापा मगर पेशेवर चोर रहेको खुलेको छ। ‘अझ कमल त ०७३ सालमा जबरजस्ती करणी मुद्दामा २८ महिना जेल बसेर छुटेको देखियो,’ महाशाखाका एसपी कोइरालाले भने, ‘यी दुवैले चोरी गर्नु १–२ दिनअघि चोरी गर्ने स्थानको पहिचान गर्ने रहेछन्। त्यसपछि दुवैले फलामको रड (गुम्सी) पक्राउ गरेर चोरी प्रायः मोटरसाइकल र कहिलेकाहीँ ट्याक्सी प्रयोग गरेर चोरी गर्ने गरेको पाइयो।’

रोचक त के छ भने चोरीका लागि प्रयोग गर्ने फलामको रड उनीहरुले घरमा नलाने रहेछन्। ‘प्रहरीले खोजतलास गर्दा भेट्न सक्छ भनेर सधैँ चोभारस्थित बागमती किनारको झाडीमा लुकाएर राख्दा रहेछन्, चोरी गर्न जाँदा निकाल्दा रहेछन्, अनि चोरी सकेपछि फेरि त्यहीँ लगेर राख्दा रहेछन्,’ अनुसन्धानबाट खुलेको तथ्य सुनाउँदै एसपी कोइरालाले भने, ‘चोरी गरेको रात प्रायः डान्स बार, दोहोरी साँझ र क्लब जाँदा रहेछन्। चोरेको पैसा कहाँ लगिस् भन्दा जुवातास र रमाइलोमै सकेको बताइरहेका छन्।’

धनलालको साथबाट पत्रकारको कार्ड 

प्रहरीको अनुसन्धानमा पक्राउ परेका धनलाल थापा मगर पत्रकार हुँ भन्दै हिड्ने गरेको पाइएको छ। महाशाखाकै टोलीले गत वैशाखमा पनि उनलाई चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ गरेर मुद्दा चलाएको थियो। त्यतिबेला उनले तीनकुनेस्थित जुनार हिटलर सहकारी संस्थामा चोरी गरेका थिए। लागुऔषध मुद्दामा समेत उनी जेल परेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ‘मगरको साथबाट झोर्ले साप्ताहिक पत्रिकाको प्रेस कार्ड भेटिएको थियो। पहिला पत्रकार हुँ भन्दै हिँड्ने गरेका रहेछन्,’ एसपी कोइरालाले भने। 

‘सर्वसाधारण सचेत हुनुपर्छ’

एसपी कोइराला सर्वसाधारण सचेत नहुँदा पनि चोरीको घटना भइरहेको बताउँछन्। ‘धेरै नगद र गरगहना घरमा राखेर बाहिर हिँड्ने गरेको पाइयो, सहकारीले पनि ठूलो मात्रामा रकम कार्यालयमै छाड्ने गरेको भेटियो,’ उनी भन्छन्, ‘चोरले यस्तै खोजिरहेका हुन्छन्, त्यसैले ठूलो मात्रामा रहेको रकम र गरगहना घरमा राख्नु भन्दा पनि बैंकको लकरमा राख्दा सुरक्षित हुन्छ। अझ घर ताल्चा लगाएर बाहिर निस्किदा यो विषयमा झन् सचेत हुनुपर्छ।’

प्रकाशित: Oct 26, 2021| 18:15 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्