बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन निर्देशन, जिप दुर्घटनामा आठको मृत्यु [२०७८–६–२५]

औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन निर्देशन, जिप दुर्घटनामा आठको मृत्यु [२०७८–६–२५]

बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न नदिन सुरक्षा निकायलाई गृहमन्त्री बालकृष्ण खाँडले कडा निर्देशन दिएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– दसैंमा सवारीको चाप बढेसँगै दुर्घटना र मानवीय क्षतिको क्रम बढेको छ। पछिल्लो २४ घण्टा ठूला तीन दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। 

आइतबार बेलुका जीप दुर्घटना हुँदा अछाममा ४ र स्याङ्जामा २ जनाको मृत्यु भएको थियो। आज सोमबार दिउँसो कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो। 

जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका नयाँ पुल बस्ने वर्ष ४२ का खुसीमान क्षेत्री, काठमाडौं गंगबुका वर्ष १८ का जिनलव घिसिङ, वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० का सुमन चौधरी, वर्ष २२ का अछुतम काफ्ले, वर्ष १८ का आशिष आले, वर्ष २७ का विनय क्षेत्री छन्।

गंगबुकै वर्ष २० की देविका घिसिङको भने बायाँ हात र नाकमा सामान्य चोट लागेको र भिरमा अड्किएको अवस्थामा भेटिएर प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। यसअघि आइतबार राति अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका छन्। 

जग्गा अतिक्रमण हुन नदिन गृहमन्त्रीको निर्देशन

बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न नदिन सुरक्षा निकायलाई गृहमन्त्री बालकृष्ण खाँडले कडा निर्देशन दिएका छन्। 

गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँडले औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न नदिनका लागि आवश्यक सुरक्षा व्यवस्थापन मिलाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। खाँणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उपस्थित थिए। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। 

त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी कारवाही गर्दै गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ४९ प्रहरी र १६ सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये ४ सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको छ। 

झडपमा ज्यान गुमाउनेका परिवारलाई एक लाख राहत

रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ।

प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख किरिया खर्च दिने निर्णय गरेको हो। औद्यागिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने व्यक्तिहरूले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि आइतबार दोहोरो झडप भएको थियो। त्यसक्रममा प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको हो। मृतकका परिवारलाई जनही एक एक लाख दिने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए। 

मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद्सहितको बैठकले सोमबार सो निर्णय गरेको हो। बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन गरेको छ। आगामी दिन सो स्थानमा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरूको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ।   

एमालेको अवरोध कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा अवरोध कायम राखेको छ। 

संसद्को चालू अधिवेशन सुरु भएदेखि नै सदन अवरुद्ध गर्दै आएको एमालेले आज सोमबार पनि विरोध कायम राखेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए। सभामुखले बैठक सुचारु गर्न आग्रह गरिरहे पनि सांसदहरुले नाराबाजी नरोकेपछि बैठक अघि बढाएका छन्।

संसद्मा भइरहेको लगातारको अवरोधका कारण आम जनमानसमा निराशा पैदा भएकोले अवरोध नगर्न सभामुखले आग्रह गरेका थिए। आज सोमबारको बैठकमा सभामुखले मन्त्रिपरिषद् विस्तारबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् भने दुईवटा विधेयक पेश भएका छन्। अर्को बैठक कात्तिक ९ गते बस्नेछ।

‘राजसंस्था पाखा लगाएपछि देश अभिभावकविहीन’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताएका छन्। 

आज काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताएका हुन्। उनले संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको टिप्पणी गरे। अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको समेत बताए। 

कार्यक्रममा नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताए। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा तर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने उनको तर्क थियो। उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरुले छलफल गर्नुपर्ने बताउनुभययो।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष प्रकाशचन्द्र लोहनीले गणतन्त्रलाई अहिलेको न्यायालय र पार्टीहरुले गाईजात्रा बनाउने काम गरिरहेको आरोप लगाए। पार्टीका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व भएको उनको भनाइ थियो। 

सन्दीप लामिछाने उत्कृष्ट छानिए

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका उत्कृष्ट खेलडीमा चुनिएका छन्। 

नेपाली सन्दीप पुरुषतर्फको उत्कृष्ट चुनिएका हुन् भने महिलातर्फको उत्कृष्टमा इंग्ल्यान्डकी हेथर नाइट चुनिएकी छन्। नेपालका सन्दीप लामिछानेले आईसीसीले सार्वजनिक गरेको बंगलादेशी बायाँ हाते अर्थोडक्स नासुम अहमद र अमेरिकी ब्याट्सम्यान जस्करण मल्होत्रालाई पछि पार्दै महिनाको उत्कृष्ट खेलाडी चुनिएका हुन्। यी तिनै खेलाडीले गएको महिनामा उत्कृष्ट प्रदर्शन गरेका थिए। लामिछानेले पपुवा न्युगिनीविरुद्धको एक खेलमा ११ रन दिएर ६ विकेट लिएका थिए। सोहि देशसँगको अर्को खेलमा उनले ३५ रन खर्चिएर चार विकेट लिएका थिए।

प्रकाशित: Oct 11, 2021| 19:42 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।