बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : चर्को विवादपछि मन्त्री गजेन्द्र हमालद्वारा राजीनामा, ३ लाख बढीले छाडे काठमाडौं

बिहानी समाचार : चर्को विवादपछि मन्त्री गजेन्द्र हमालद्वारा राजीनामा, ३ लाख बढीले छाडे काठमाडौं

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना खेप्दै आएका हमालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेका हुन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको  भन्दै आलोचना खेप्दै आएका हमालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेका हुन्। विवेक प्रयोग गरेर राजीनामा दिने निर्णयमा पुगेको उनको भनाइ छ। मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको कुनै भूमिका नरहेको पनि दोहोर्याएका छन्। असोज २२ गते मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन्।  उनी देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री भएका छन्।

विश्वासको मत लिँदै अष्टलक्ष्मी

नियुक्त भएको ५४ दिनपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश सभामा विश्वासको मत लिँदै छिन्। 

भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएकी उनी अल्पमतमा रहेकाले पदमुक्त हुने करिब पक्का छ। गत भदौ २५ मा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना पूरा हुने अघिल्लो दिन विश्वासको मत लिन लागेकी हुन्। एमाले विभाजन भएसँगै मुलुककी पहिलो महिला मुख्यमन्त्रीको पद धरापमा परेको हो । प्रदेश सभाको अंकगणितअनुसार मुख्यमन्त्री शाक्य प्रस्ट अल्पमतमा छिन्। हाल प्रदेशसभामा १ सय ९ सांसद छन् । विश्वासको मत प्राप्त गर्न ५५ सांसदको समर्थन आवश्यक पर्छ, तर एमालेमा ४३ सांसद मात्र छन्। गठबन्धनमा रहेका दलहरूबीच प्रदेश सभामा ५८ मत छ । 

प्रधानमन्त्री देउवा पोखरामा

विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा गएका छन्।  

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम छ। यसपछि दिउँसो ३ बजे पोखरा–१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने कार्यतालिका छ। लगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजे राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन्। यसपछि प्रधानमन्त्री देउवाले भोलि बिहान निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ। 

गण्डकी प्रदेश साक्षर घोषणा हुँदै

सरकारले आज गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको हो। साक्षर प्रदेश घोषणाका लागि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुन आवश्यक छ । प्रदेशमा सो उमेर समूहको साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बताए। प्रदेश सरकारले अघिल्लो वर्षको नीति तथा कार्यक्रममा दुई वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो ।

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

नवरात्रको आज चौथो दिन। कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ। 

कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकका रूपमा पूजा गरिन्छ। आठ भुजा भएकीले कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ। कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकका रूप मानेर पूजाआजा गर्ने चलन छ। शक्तिपीठ तथा देवी मन्दिरहरूमा आज कुभिन्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ। नवरात्रभर देशका विभिन्न शक्तिपीठमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ। 

दैनिक ६० हजारले काठमाडौं छाड्दै

दसैं सुरु भएसँगै दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्न थालेका छन्। घटस्थापनासँगै उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। उपत्यकाका नागढुंगा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिसहितका नाकाबाट  शनिबार ६० हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए। घटस्थापना अर्थात् २१ असोजमा ४५ हजारले उपत्यका छाडेकामा त्यसको भोलिपल्ट २२ असोजमा यो संख्या बढेर ५१ हजार नाघेको थियो। दसैं लागेपछि शनिबारसम्म तीन लाखभन्दा बढी काठमाडौंबाट बाहिरिएको ट्राफिक प्रहरीको अनुमान छ।

हात्ती आक्रमणबाट बेचन दहितको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेका प्रहरीले जनाएको छ। 

राजापुर–१० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किमि टाढा बाटोमा हात्तीले आक्रमण गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। घर फर्किंदै गर्दा उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको प्रहरीले अनुमान गरेको छ। 

भारतीय गृहमन्त्रीका छोरा पक्राउ

भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरालाई प्रहरीले पक्राउ गरेको छ। 

उत्तर प्रदेशको लखिमपुर खिरीका किसानलाई गाडीले ठोक्काएर हत्या गरेको अभियोगमा गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले शनिबार उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो। सरकारले ल्याएको एक कानुनविरुद्ध लामो समयदेखि आन्दोलनरत किसानको ¥यालीमा सहभागीलाई पछाडिबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप उनीमाथि लागेको छ। ३ अक्टोबरको उक्त घटनामा चार किसानको मृत्यु भएको थियो। 

प्रकाशित: Oct 10, 2021| 11:18 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।