बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • पूर्वगृहमन्त्री बादल र पूर्वआइजीपी खनालविरुद्ध जाहेरी, एमसीसी पारित गर्न निजी क्षेत्रको माग [२०७८–६–२०]

पूर्वगृहमन्त्री बादल र पूर्वआइजीपी खनालविरुद्ध जाहेरी, एमसीसी पारित गर्न निजी क्षेत्रको माग [२०७८–६–२०]

नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा भएको अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अग्रता लिएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

कुमार पौडेल हत्यामा तत्कालीन गृहमन्त्रीविरुद्ध जाहेरी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कुमार पौडेल ‘हत्या’ प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ। 

उनीहरुविरुद्ध बुधबार सर्लाहीमा जाहेरी दर्ता भएको हो। जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीलाई समेत बोलाएर बादल र खनालविरुद्ध जाहेरी दर्ता भएको सर्लाहीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। अब उनीहरुमाथि अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले आफ्ना छोरालाई गैरकानूनी रुपमा हत्या गरिएको भन्दै प्रहरीमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाउन खोजेकी थिइन्। 

हुलाकमार्फत जाहेरीपत्र पाएको सर्लाहीको जिल्ला प्रहरी कार्यालयले विश्वसनीयता यकिन गर्न नसकेको भन्दै प्रक्रिया अघि बढाएको थिएन। सरकारी वकिलको कार्यालयमा समेत उनले निवेदन दिएकी थिइन्। तर सरकारी वकिल कार्यालयले पनि जवाफ नदिएपछि उनी अदालतको शरणमा पुगेकी थिइन्। असोज १४ गते सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको थियो।

एमसीसी पास गर्न निजी क्षेत्रको माग

निजी क्षेत्रले अमेरिकी आर्थिक सहयोग प्याकेज मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त वक्तव्य जारी गर्दै एमसीसी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको हो। नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो। तर सम्झौताअनुसारको विद्युत् प्रसारणलाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन। 

संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वशर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको ४ वर्षसम्म कार्यान्वयन हुन नसकेको हो। नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारणलाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने निजी क्षेत्रको भनाइ छ। एमसीसीअन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने निजी क्षेत्रको धारणा छ। 

सबैको सहमतिमा मात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री डा. खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताए।

एमसीसीमा माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर पनि प्रश्न गरे। एमसीसीबारे जनतामा गलत सूचना गएको पनि मन्त्री खड्काको भनाइ थियो। परराष्ट्र सम्बन्धी सबै विवादित विषयमा राजनीतिक दलहरूबीच सहमतिमा नै अगाडि बढाउनुपर्ने खड्काको बताए।

पालिका अधिवेशनमा पौडेल पक्षको अग्रता

नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा भएको अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अग्रता लिएको छ। 

हालसम्म ५ सय ७ पालिकाको मतपरिणाम सार्वजनिक भएकोमा पाडेल पक्षले २ सय ४९ स्थानमा जित हासिल गरेको छ भने सभापति शेरबहादुर देउवा पक्ष २ सय ३८ स्थानमा विजयी भएको छ।  नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जनाले सभापतिमा जित हासिल गरेका छन्। विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन्।

त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना सभापति छन्। बागमती, कर्णाली र सुदूरपश्चिममा देउवा पक्ष बलिएको देखिएको छ भने प्रदेश एक र लुम्बिनी र गण्डकीमा पौडेल पक्ष अगाडि देखिएको छ। तर संस्थापन पक्षले भने सबै प्रदेशका पालिका बहुमत  हासिल गरेको दाबी गरेको छ 

कांग्रेसको प्रतिनिधि मण्डल भारत जाने तयारीमा 

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ। सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो। 

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा जाने लागेको सो प्रतिनिधिमण्डलमा काँग्रेस नेताहरु उदयशमशेर जबरा र अजय चौरसिया समेत रहने छन्। 

भारत भ्रमणको क्रममा भारतीय जनता पार्टी र सरकारका पनि उच्च पदस्थ अधिकारीहरुसँग भेटगरी दुई पार्टी बीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पुर्‍याउने गरी आफूहरु भारत भ्रमण जान लागेको काँग्रेस सहमहामन्त्री डा. महतले जानकारी दिए। 

काँग्रेस प्रतिनिधिमण्डल भारत सरकारसँगको सम्बन्धलाई सुमधुर बनाउन भारत जान लागेको हो।  मुलुकबीच कुनै समस्या भए तत्काल कूटनीतिक पहल गरी समाधान गर्न पनि यस्ता भ्रमणहरु उपयोगी हुने नेताहरुको भनाइ छ। 

प्रदेश २ का मुख्यन्त्रीको राजीनामा माग

प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ। 

आज बुधबारको बैठकमा लोसपा प्रदेश २ संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्दै सुशासन कायम गर्न नसक्ने मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका हुन्। 

अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर संघीयता कमजोर बनाउन खोजेको मुख्यमन्त्रीको भनाइपछि सोनलले अख्तियारले छापा हान्दैमा लौकामा औँला देखाए झैँ संघीयता नसुक्ने बताए। प्रदेश स्थापनाकालमा प्रदेशसभा भवनको मर्मत सम्भार गर्न ७ करोड रकम आएकोमा त्यसमा अनियमितता भएको तर त्यसको प्रतिवेदन आफुहरुले सर्वसम्मत गरेर दिएपनि अख्तियारले अहिलेसम्म कुनै एक्सन नलिएको सत्तापक्षकै सांसद चौधरीले आरोप लगाए। सत्तारुढ जनता समाजवादी पार्टीले अख्तियारले छापा मार्दैमा त्यसविरुद्ध जुलुस निकालेको भन्दै आपत्ति जनाएको छ।

लुम्बिनी सरकारले ल्यायो प्रतिस्थापन बजेट

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट ल्याएको छ।

आर्थिक बर्ष ०७७/०७८ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गरेका हुन। कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। ३३।३१ प्रतिशत चालु र ५४।८७ प्रतिशत पूजीगततर्फ बजेट छुटाइएको छ।  

यस्तै लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज गरेको छ। उक्त कार्यक्रमलाई ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ का रूपमा कार्यान्वयन गरिने उनले बताए। प्रदेशसभामा एमालेले भने बैठक नै बहिष्कार गरेको थियो। साउन २७ गते शंकर पोखरेलले राजीनामा दिएपछि माओवादीका कुल प्रसाद केसी मुख्यमन्त्री बनेका थिए। साउन २८ गते सपथ लिएका केसीले सरकार गठनको २ महिनासम्म पनि नयाँ बजेट ल्याउन नसकेको भन्दै आलोचना भइरहेको थियो।

नेप्सेमा हरियाली

सेयरबजार लगातार दोस्रो दिन उच्च अंकले बढेको छ। हिजो मंगलबारबाट सुधार आएको पुँजीबजार मापक परिसूचक (नेप्से) आज ६८.४७ अंकले बढेको छ। 

यससँगै नेप्से २६८१.११ विन्दुमा उक्लिएको छ। आज चार अर्ब ५० करोड छ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ। आज १२ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो भने अन्य सात कम्पनीको मूल्य पनि बढेर सर्किट लेभल (१० प्रतिशत) नजिक पुगेको थियो। आज कूल १८६ वटा कम्पनीका ८१ लाख ८९ हजार ८९० कित्ता सेयर जम्मा ५५ हजार ३८५ पटक खरिद–बिक्री भएका थिए। आज १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा पाँच वटाको नकारात्मक बनेको थियो। आज सबै उपसमूहको परिसूचक सकारात्मक बनेको छ। फाइनान्स र लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै क्रमशः ६.५९ र ५.८० प्रतिशतले बढेको छ।

१०४३ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन्। जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन्।

न्युरोडका ५ पसल कारबाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ। पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो। कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५/२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले बताए। निरिक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरुमा भने मुख्य व्यपारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताए। 

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ। विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ। 

पत्रकार आन्दोलनमा

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न माग गर्दै विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकारहरु आन्दोलित भएका छन्। 

उनीहरुले राजधानीको माइतीघर मण्डलामा बुधबार दिउँसो प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर, हामी पत्रकार चाहन्छौँ श्रम अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। नागरिक दैनिक, अन्नपूर्ण पोष्ट, रेडियो सगरमाथा लगायतका सञ्चारमाध्यमको श्रम समस्या समाधान गर्न उनीहरुले माग गरेका छन्।

भैरहवा क्वालिफायर प्रवेश

भैरहवा ग्लाडियसर्ट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ।

टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो। अब भैरहवाले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ। पोखरा पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग पराजित भएको थियो। चितवन फाइनल पुगिसकेको छ।

भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो। भैरहवा र पोखराबीचको दोस्रो क्वालिफायर बिहीबार हुनेछ। यस खेलको विजेता फाइनल पुग्नेछ। प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन्।

भिडियोमा

प्रकाशित: Oct 06, 2021| 20:11 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।