काठमाडौं– सत्ता साझेदार दल मन्त्री छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका हुन्।
मन्त्रीको टुंगो लगाउने विषयमा छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। यस्तै जनता समाजवादी पार्टी पनि मन्त्री छनोटका विषयमा आन्तरिक छलफलमा जुटेको छ।
कांग्रेसले पनि आज नै मन्त्रीको नाम टुंगो लगाउने भएको छ। सत्ता गठबन्धनबीच हिजो भएको सहमतिअनुसार कांग्रेसले ८ वटा मन्त्रालय लिने भएको छ। माओवादी केन्द्रले पाँच र एकीकृत समाजवादी र जनता समाजवादीले समान चार–चार मन्त्रालय पाउने भएका छन्। सत्तारुढ तीन दलले १–१ राज्यमन्त्री पाउने सहमति भएको छ।
प्रदेश २ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। जसपा विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री राउतले दल विभाजन भएको महिना दिनपछि बित्दा पनि विश्वासको मत नलिएको भन्दै विरोध हुँदै आएको थियो। संविधानको धारा १८८ को उपधारा २ अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रदेश २ सरकारमा अहिले जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्र सामेल छ। सरकारलाई नेकपा एकीकृत समाजवादीले समर्थन दिएको छ।
लुम्बिनीमा नयाँ बजेट ल्याइँदै
लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै छ।
दिउँसो एक बजे बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउन लागेका हुन्।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले चालू आर्थिक वर्ष ०७८÷०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। सो बजेट प्रतिस्थापन गर्दै लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउन लागेको हो।
पितृ पक्ष सकिँदै
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आजबाट सकिँदैछ। पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्रश्राद्ध समापन गरिँदैछ।
भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। पितृ पक्षको समाप्तिसँगै भोलिदेखि दुर्गा पक्ष अर्थात् बडादसैं सुरु हुनेछ। भोलि सबैको दसैंघर वा पूजाकोठामा घटस्थापना गरिन्छ। भोलिदेखि नवरात्रको नौ दिनसम्म देवीको नौ अवतारको पूजाआराधना गरी दसौं दिन देवीको टीका प्रसाद ग्रहण गरी कोजाग्रत पूर्णिमाका दिन देवीको प्रसादलाई सेलाएर दसैंको बिदा गरिन्छ।
भोलिदेखि अदालत बन्द
भोलि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभरका सबै अदालत बन्द हुने हुने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले असोज २१ गते घटस्थापनादेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्मका लागि सबै अदालत बन्द गर्ने निर्णय गरेको हो। तर, बिदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुंगो पनि लगाइएको छ।
मध्य भोटेकोसीको आईपीओ निष्कासन
मध्य भोटेकोसी जलविद्युत् कम्पनीले आज सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
निष्कासन गरिने कुल कित्तामध्ये तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
आईपीएलमा लिग चरणको खेल आज सकिँदै
इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज लिग चरणको अन्तिम खेल हुँदैछ। राति पौने ८ बजे सुरु हुने लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादको सामना गर्नेछ। आईपीएल अंकतालिकाअनुसार बैंगलोर प्ले अफमा पुगिसकेको छ भने हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ। त्यसैले यो खेलले प्रतियोगिताको नतिजामा खास अर्थ भने राख्दैन। यो सिजन हैदारबादले एक खेल बाँकी रहँदा दुई खेलमा मात्र जित निकालेको छ। बाँकी १० खेलमा हार बेहोरेको छ।