काठमाडौं– नेकपा एमालेले आफ्नो दशौं महाधिवेशन बुटवलमा गर्ने भएको छ।
आज आइतबार प्रथम विधान महाधिवेशनको समापन सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेका हुन्। यसअघि एमालेले आठौं महाधिवेशन पनि बुटवलमै गरेको थियो। एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय भएको छ।
यसैबीच, नेकपा एमालेको विधान महाधिवेशनबाट तीनवटै प्रस्ताव सर्वसम्मत पारित भएका छन्। महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन्।
राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीनवटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए। हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो। प्रसताव पारि भएसँगै विधान महाधिवेशन आजै सकिएको छ।
एमालेका ७० वर्षे उमेर हद
नेकपा एमालेले पार्टीका पदमा ७० वर्षको उमेर हद कायम गरेको छ। महाधिवेशनमा ७० वर्ष उमेर पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउनेछ र एक कार्यकाल पूरा गर्न पाउनेछ। यसअनुसार ७० वर्ष पूरा हुनुअघि निर्वाचित भएको पदाधिकारी करिब ७५ वर्षसम्म पदीय जिम्मेवारीमा रहनेछ। ७० वर्ष पूरा भएको व्यक्ति भने कुनै पनि तहमा कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन। अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने भनिएको राष्ट्रिय महाधिवेशनमा अर्को एक कार्यकालका लागि उम्मेदवार हुन पाउनेछन्।
यस्तै एमालेले एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ। केन्द्रद्रीय कमिटी २२५ सदस्यीय हुनेछ। अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव एक जना र सचिव ७ जना रहने छन्। यसरी केन्द्रमा १५ जना पदाधिकारी हुनेछन्। केन्द्रमा एक सचिवालय रहने छ। पोलिट ब्यूरोको व्यवस्था खारेज भएको छ। वडादेखि केन्द्रसम्म पार्टी कमिटीहरू रहनेछन्। सहभागीहरूका अनुसार महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अवलम्बन गर्नुपर्ने कुरा जोडदार रूपमा उठेको छ। यो विषय यही महाधिवेशनले प्रस्तावको रूपमा पारित गर्नेछैन तर यसलाई बहसमा लगिने भएको छ।
पार्टीलाई बहुमत दिलाएरै छाड्ने ओलीको अठोट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन्।
पार्टीको विधान महाधिवेशनलाई आज सम्बोधन गर्दै ओलीले दशौं महाधिवेशनबाट आफू नै पार्टीको नेतृत्वमा आउने संकेत गरेका छन्। बहुमत ल्याउने र कसैले हल्लाउन नसक्ने सुढृड पार्टी बनाउने आफ्नो आकांक्षा पुरा गरेर नेतृत्व हस्तान्तर गर्ने उनले बताए।
यस्तै ओलीले आफूहरूबाहेक जनताको दुखकष्ट हरण गर्ने कोही नभएको पनि दाबी गरेका छन्। आफू सरकाबाट हटेपछि वर्तमान सरकारले जनतालाई अभिभावक बिहिन बनाएको सुकुम्बासीलाई थप दुःख दिएको उनले बताए। यस्तै ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन्। ओलीले जबजलाई समयअनुसार संशोधन गर्दै लैजान सकिने पनि उल्लेख गरेका थिए।
पछि हट्यो प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार नकाट्ने भएको छ।
पोलको भाडा नतिरेको भन्दै शनिबार विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट र केबुल टेलिभिजनको तार काटेको थियो। तर, तार काट्दा उपभोक्ता प्रभावित भएको भन्दै प्राधिकरण पछि हटेको हो। कार्यकारी निर्देशक कुलमान घिसिङले सांकेतिक रुपमा तार काटेपनि उपभोक्तालाई परेको मर्कालाई ध्यानमा राखेर तत्काल थप तार नकाटिने बताए।
प्राधिकरणले कम्पनीहरुलाई सम्पर्कमा आएर आफ्ना बक्यौता तिर्न २ महिनादेखि ताकेता गर्दै आएको छ। दैनिक रुपमा सूचनाहरु प्रकाशित गरेर प्राधिकरणका वितरण केन्द्रहरुले पोल भाडा तिर्न आग्रह गरिरहेका छन्। तर, इन्टरनेट सेवा प्रदायक र टेलिभिजन सेवा वितरकहरु ठूलो मात्रा भाडादर तोकिएको भन्दै नतिर्ने अडानमा छन्। इन्टरनेट सेवा प्रदायकले उपभोक्तासँग पोल भाडाका लागि हुने खर्च पनि असुल गरेको तर आफूहरुलाई नतिरेको भन्दै प्राधिकरणले अब कानुनी हिसाबले अघि बढ्ने बताएको छ।
दसैंपछि बच्चालाई पनि कोभिड खोप
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्।
आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए। यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए। दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए।
राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकिय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए। सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उनको भनाई छ।
एक कार्यक्रमकाबिच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिए।
६७९ संक्रमित थपिए
कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन्।
आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो। तर ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा भने ८.१२ अर्थात् ५ सय ७४ जना संक्रमित पाइएका हुन्। आज १४ सय ५ जना संक्रमणमुक्त भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट नेपालमा ११ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ। हाल सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ।
अहिलेसम्म ६३ लाख ५२ हजार ३ सय २२ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण डोज खोप लगाएका छन्। पहिलो डोज खोप लगाउनेको संख्या ७७ लाख १६ हजार ९ सय ८५ रहेको छ।
१० लाख कोभिशिल्ड चाँडै
भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने भएको छ।
भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै पठाउने जानकारी गराएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। नेपालले गएको फागुन ५ गते भारतसँग २० लाख डोज खोप खरिद गरेको थियो।
खरिद सम्झौताअनुसार १० लाख डोज आइसके पनि १० लाख डोज भने आउन बाँकी नै थियो।तर भारतबाट समयमै खोप नआएपछि पहिलो डोज लगाएका १४ लाख नागरिक समयमै दोस्रो डोज लगाउन नपाउँदा प्रभावित भएका थिए।
अन्तिम चरणमा सुक्खा बन्दरगाह
काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए। बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकाय लगायतका सम्बन्धीत निकायसँग छलफल भइरहेको भन्दै उनले चाडैँ नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको बताए। सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंको व्यवसायीहरुले सिधैँ काठमाडौंमा सामान ल्याउनसक्ने र छिट्टै उपभोक्ताको माझमा पु¥याउन सकिने तथा आयात, निर्यातको मुल्य घटाउन सकिने उनको भनाई छ।
काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो। यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरि ३ वटा भवन, ३ वटा ठुला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए सिसिटिभी जडान र फायर फाइटर समेत जडान गरिसकेको उनल बताए।
भारत र चीनसँग सिमा जोडिएको जिल्लाहरुमा मात्रै सुख्खा बन्दरगाह भएपनि भित्री जिल्लामा भने चोभारको सुख्खा बन्दरगाह पहिलो हो। वीरगञ्ज, बिराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधिन अवस्थामा रहेको छ।