बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : यसरी सुरु हुँदैछ एमालेको विधान महाधिवेशन, अब वृद्धवृद्धालाई निःशुल्क सिमकार्ड

बिहानी समाचार : यसरी सुरु हुँदैछ एमालेको विधान महाधिवेशन, अब वृद्धवृद्धालाई निःशुल्क सिमकार्ड

पार्टी विभाजनपछि गुमेको शक्ति आर्जन गर्ने उपायको खोजीमा जुटेको एमालेको महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु हुन लागेको हो।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी एमालेको विधान महाधिवेशन शुक्रबार सुरु हुँदैछ। पार्टी विभाजनपछि गुमेको शक्ति आर्जन गर्ने उपायको खोजीमा जुटेको एमालेको महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु हुन लागेको हो। 

विधि र नीति निर्माणका लागि केन्द्रित हुने महाधिवेशनमा ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता सहभागी हुँदैछन्। तीन दिनसम्म चल्ने प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र संगठन विभागका तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनःसंगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ। 

वृद्धवृद्धालाई निःशुल्क सिमकार्ड

आज अक्टोबर १ अर्थात अन्तर्राष्ट्रिय  ज्येष्ठ नागरिक दिवस। नेपालमा पनि विभिन्न कार्यक्रमम गरेर मनाइँदैछ। ३१ औं ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि  विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ। जेष्ठ नागरिकको सम्मानका लागि पछिल्लो ढेड दशकदेखि यो दिवस मनाइँदै आएको छ। 

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड प्रदान गर्ने भएको छ। असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो। 

काभ्रेमा स्वास्थ्यकर्मीमाथि कुटपिट

काभ्रेको दोलालघाटमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।  

काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट भएको हो। भुम्लु गाउँपालिकाका अनुसार स्थानीय अनिल पोटेले स्वास्थ्यकर्मी मण्डलमाथि कुटपिट र गालीगलौज गरेका थिए। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्ने पोटेलाई कारबाहीको मागसमेत गरेको छ। 

मास्क नलगाई यात्रा गर्न नपाइने 

काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। 

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो। उपत्यकाको भीडभाडलाई दृष्टिगत गरी सवारीसाधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो।

स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारीसाधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्य रूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ। 

धवलागिरि शिखरमा पहिलोपटक नेपाली महिला

विश्वको सातौं अग्लो हिमाल धवलागिरिमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन्। 

गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले ८ हजार १६७ मिटर अग्लो धवलागिरी हिमाल सफल आरोहण गरेकी हुन्। श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन्। पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ८ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् । 

न्यादीको सेयर बिक्री खुला

न्यादी हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ। 

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ताको आईपीओ निष्कासन गरेको हो। कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

साफ च्याम्पियन आजदेखि

दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ। मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता छ। प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदैछन्। पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन्। दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति पौने १०  बजे सुरु हुनेछ। साफ च्याम्पियनसिपमा  आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ। 


प्रकाशित: Oct 01, 2021| 11:38 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।