प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले एमाले वार्ता र सवादबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो। बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडि बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई आग्रह गरेको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख एमाले बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताए। बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दल एमालेले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले बताए। संघीय संसदको दुवै सदनमा जनताको दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरु थन्किएकाले संसद् सहज ढंगले चल्न सहयोग गर्नुपर्ने उनले बताए।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सर्वदलीय बैठकमा प्रतिपक्ष दल अनुपस्थिति भएपनि आगामी दिनमा पनि प्रतिपक्ष दलसँग संवाद गर्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिए। प्रधानमन्त्री देउवाले डाकेको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले यसअघि सभामुख अग्नी सापकोटाले डाकेको बैठक पनि बहिष्कार गरेको थियो।
संसद खुलाउन प्रधानमन्त्री र सभामुखले ओलीसँग छलफल गर्नुपर्ने एमालेको माग
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसद्मा जारी अवरोध खुलाउन चाहेको हो भने प्रधानमन्त्री र सभामुखले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने माग गरेको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमाले सांसद एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले ओलीसँग व्यक्तिगत रुपमै भेटेर छलफल गर्नुपर्ने बताएका हुन्। उनले एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्मा उभिरहने समेत बताए। यस्तै अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको सन्तानजस्तो भएको टिप्पणी समेत गरे।
त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाले एमालेका मुद्दालाई सम्बोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए। उनले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूविरुद्ध रहेको बताए। भट्टराईले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसद्मा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिनु कानुन, संविधान र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए।
प्रमुख सचेतक भट्टराईले एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताए। प्रधानमन्त्री र सभामुखले एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उनको भनाइ छ।
बिहीबार पनि रोक्यो एमालेले संसद् बैठक
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन्। सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषयमाथि संसदहरुको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरिएको बताए पनि प्रमुख प्रतिपक्ष दलले नाराबाजी जारी राख्दै संसद अवरोध गरेको हो।
एमाले सांसदहरुको बिरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट अध्यादेश खारेज र विधेयकहरु प्रमाणीकरण भएको कुरा जानकारी गराए। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गते मंगलवार दिउँसो १ बजे बस्ने भएको छ।
नेकपा एमालेले भोलि शुक्रवारबाट शुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको जनाएको छ। नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रवार १२:१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए। उनले उद्घाटनपछि तीनवटा प्रश्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए। । विधान महाधिवेशनमा देशभरबाट करिव ६ हजार प्रतिनिधि सहभागी हुने जानकारी दिए।
जबज अझै पनि सान्दर्भिक छ : बादल
नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउका छन्। बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताएका हुन्।
नेता बादलले उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने बताए। उनले विधान महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने दाबी गरे।
स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए। उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए।
गोपालप्रसाद सिग्देल सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रीपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णय समेत गरेको बताए। उनले सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने निर्णय गरेको समेत बताए।
सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ।
महासभामा नेपालका मुद्दा जोडदार रूपमा उठाएको छु : परराष्ट्रमन्नत्री डा खड्का
परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफूले संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा नेपालको मुद्दाहरु सशक्त र जोडदार रुपमा उठाएको बताएका छन्।
महासभामा भाग लिएर आज बिहान स्वदेश आइपुगेका परराष्ट्रमन्त्री डा. खड्काले पत्रकारसँग कुरा गर्दै आफुले कोरोनाविरुद्धको खोज, जलवायु र आतकंवादका सम्बन्धमा शसक्त ढंगबाट कुरा उठाएको बताएका हुन्। उनले महासभाको बैठकमा कोभिड १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रहरुलाई खोप, औषधीउपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको बताए। त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरु हातहतियारको होडवाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोत साधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रुपमा उठाएको पनि उनले जानकारी दिए।
परराष्ट्रमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघमा शान्ति मिसन पठाउने चौथो ठुलो राष्ट्र भएकाले नेपालका सिपाईलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्नेकुरा उठाएको पनि बताए। उनले भारत, बंगलादेश, बहराइन, कुवेत, मालदिभ्सका परराष्ट्र मन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा कुरा गरेको तथा विचार आदान प्रदान गरेको पनि बताए।
१०७८ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ७६५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ।
हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ। हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन्।
मास्क नलगाए सार्वजनिक सवारी साधनमा प्रवेश निषेध
काठमाडौं उपत्यकमा मास्क नलगाए सवारी साधनमा प्रवेश गर्न नपाइने भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो आदेश जारी गर्ने निर्णय गरेको हो।
यो आदेश आज राती १२ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गरेका छन्। यस्तै सार्वजनिक यातायातका साधनले सिट क्षमताभन्दा बढी सिटमा यात्रु बोक्न समेत पाउने छैनन्। यस्तै जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।
प्रशासनले घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने आदेश दिएको हो। अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।
इक्वेडर जेलको झडपमा मृत्यु हुनेको संख्या ११६ पुग्यो
इक्वेडरको एक कारागारमा मंगलबारबाट सुरु भएको पटकपटकको आपसी झडपमा परी मृत्यु हुनेको संख्या ११६ जना पुगेको छ।
इक्वेडरको ग्वायुकिल सहरको जेलमा भएको उक्त झडपमा परी ५० भन्दा बढी घाइते भएको बीबीसीले जानकारी दिएको छ। कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा परेर उनीहरु मारिएका हुन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
बिहीबार बिहान विस्फोट र बन्दुक पड्केको समेत आवाज सुनिएको स्थानीयले बताएका छन्। लगातार झडपका शृंखला बढ्दै गएपछि स्थानीय प्रशासनले त्यहाँ ४ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताइएको छ।
भिडियोमा हेर्नुहोस्