काठमाडौं- ब्राजिल विश्वकप २०१४ को विजेता जर्मनी आज राति ९ः४५ बजे युरोकपको साविक विजेता पोर्चुगलसँग भिड्दैछ।
तीन पटकको युरो विजेता जर्मनी समूह चरणको दोस्रो खेलमा पोर्चुगलसँग भिड्न लागेको हो। पहिलो खेलमै ३-० गोलको जित निकालेर सहज यात्रामा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्न चहान्छ। तर जर्मनीलाई पनि अन्तम १६ मा स्थान पक्का गर्नु पर्नेछ। त्यसैले ऊ पनि सहज रुपमै प्रिक्वार्टरफाइनल पुग्नका लागि पोर्चुगललाई हराउन चहान्छ।
यी दुई टिमको विगत हेर्दा पोर्चुगलले अन्तिम पटक सन् २००० को युरोकपमा जर्मनीलाई हराएको थियो। २१ वर्षअघि ३-० ले हराएयताका चार खेलमा भने जर्मनीले पोर्चुगललाई स्तब्ध बनाएको छ। विश्वकप २००६, युरोकप २००८ र २०१२ साथै विश्वकप २०१४ मा जर्मनीले पोर्चुगलविरुद्ध जित निकालेको छ।
र, आज पोर्चुगल र जर्मनी युरोकपमा पाँचौ पटक भिड्दैछन्। युरोकपमा धेरैपटक सामना गर्ने टिममध्ये एक यी प्रतिस्पर्धी पनि हुन्। यसबाहेक स्पेन र इटाली युरोकपमा सबैभन्दा धेरै ६ पटक भेट भएका छन्।
त्यस्तै, २१ औं शताब्दीमा अयोजित ठूलो प्रतियोगितामा सबैभन्दा धेरै भिड्ने टिम चाँहि पोर्चुगल र जर्मनी नै हुन्। उनीहरुले २ विश्वकप र ३ युरोकपमा गरी कुल ५ पटक प्रतिस्पर्धा गरिसकेका छन्। र आज छैटाैँ पटक भिड्दैछन्।
त्यस्तै, सबै प्रतियोगितामा पोर्चुगल र जर्मनीका अन्तिम पाँच खेलमा १७ गोल भएका छन्। जसमध्ये चार खेलमा तीनभन्दा धेरै गोल भए। अर्को महत्वपूर्ण कुरा चाँहि पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जर्मनीविरुद्ध गोल गरेका छैनन्।
उनले पछिल्ला चार खेलमा जर्मनीको सामना गर्दा मैदानमा ३६० मिनेट बिताएर २३ पटक पोस्ट अटेम्प गरे पनि गोल गर्न सकेका छैनन्। फ्रान्ससँग मात्र रोनाल्डोले जर्मनीभन्दा धेरै पटक बिना गोल मैदानमा बिताएका छन्। उनले फ्रान्सविरुद्ध ६ खेलमा गोल गरेका छैनन्। जुन उनको अन्य देशसँगसको खेलभन्दा धेरै हो।
यता जर्मनीका थोमस मुलारले २०१४ मा पोर्चुगलविरुद्ध ह्याटिक गरेका थिए। युरोकपको समूह एफमा फ्रान्स, जर्मनी, पोर्चुगल र हंगेरी छन्। बलिया टिमहरु एउटै समूहमा रहेकाल उनीहरुलाई ग्रुप अफ डेथ भनिएको छ।