काठमाडौं- पत्नी बितेको पाँच दिनपछि इन्डियन स्प्रिन्ट धावक मिल्खा सिंहको पनि कोभिड-१९ का कारण चण्डिगढ अस्पतालमा निधन भएको छ। पाँच दिन पहिले उनकी पत्नी निर्मल कौरको पनि पोस्ट कोभिड जटिलताका कारण निधन भएको थियो।
विश्वप्रसिद्ध इन्डियन धावक मिल्खा सिंह १२५ करोड जनसंख्यामा आफ्नो जीवनकालमा उनीजस्तै धावक देख्न चाहन्थे तर, उनको त्यो इच्छा भने पूरा भएन। उनको अर्को सपना थियो कि उनी आफ्नो सन्तान जीव मिल्खालाई कहिल्यै खेलाडी बनाउन चाहँदैन थिए। यो कुरा उनले चार वर्ष पहिला छत्तिसगढमा बताएका थिए।
इन्डियामा फ्लाइङ सिखका रुपमा चर्चित मिल्खा जुत्ता नलगाई दौडिने धावक थिए। दौडनमा माहिर सिंहले एकपटक भनेका थिए, ‘मलाई थाहा थिएन कि ओलम्पिक गेम्स के हो, एसियन गेम्स र वन हन्ड्रेड मिटर रेस के हो?, मैले जानेको कुद्न मात्र हो।’
तर, जति गेममा उनी दौडन्थे उनको खुट्टामा जुत्ता हुने गर्थेन। खाली खुट्टै दौडन्थे उनी। न ट्रेकसुट नै हुन्थ्यो। न प्रशिक्षक थिए न रंगशाला।
त्यसलाई सम्झँदै उनले एकपटक भनेका थिए, ‘१२५ करोडको संख्यामा दोस्रो मिल्खा सिंह कहिल्यै पैदा भएन।’
उता उनले नचाहँदानचाहँदै खेलमा लागेमा उनका छोरा जीव मिल्खाले पनि गल्फ राष्ट्रिय प्रतियोगिता जितेका थिए। त्यसपछि उनले अन्तर्राष्ट्रिय खेल खेलेका थिए। जहाँ उनले चारपटक युरोपियन गल्फ च्याम्पियनसिप जिते।
न पैसा न सिफारिस
मिल्खा सिंहले एकपटक भनेका थिए, उनी आर्मीमा तीन पटक अस्वीकृत भए। उनको उचाइ र दौड ठीक भए पनि उनी अस्वीकृत भएका थिए। यता उनको मेडिकल रिपोर्ट पनि ठीक आएको थियो।
उनले त्यो समयमा आर्मीमा भर्ती हुन पैसा र सिफारिस चाहिने बताएका थिए, जहाँ उनी पास हुन सक्ने सम्भावना थिएन।
तर, यो साँचो हो कि त्यसपछि उनी जस्तो मान्छे बने त्यो आर्मीकै कारण बने। जहाँ उनले खेलकुदको अभ्यास गरे।
पाकिस्तानमा जन्मिएका इन्डियन धावक
उनले इन्डियाको पद्मश्री पुरस्कार पनि जितेका छन्। तर, इन्डिया पाकिस्तान छुट्टिनुअघि उनको जन्म अहिलेको पाकिस्तानमा भएको थियो। सन् १९२९ नोभेम्बर २० मा।
सिख परिवारमा जन्मिएका उनलाई आफ्नो देश र खेलप्रति खुब माया रहेको इन्डियन मिडियाले उल्लेख गरेका छन्।
खेलप्रेमकै कारण विभाजनको पछि भने उनी भारतीय सेनामा सम्मिलित हुन सफल बनेका थिए।
त्यसपछि नै उनले अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाए। उनले १९५६ मा मेलबर्नमा आयोजित ओलम्पिकमा खेलमा भाग लिए पनि खास केही गर्न सकेनन्। तर, त्यसपछि १९५८ को नेसनल गेम्सको २०० र ४०० मिटर दौडमा धेरै रेकर्ड बनाए।
त्यही वर्ष टोक्योमा आयोजित एसियाली खेलकुदको २०० मिटर र ४०० मिटरमा स्वर्ण जितेका थिए। त्यो सफलताबाटै उनले पद्मश्री पुरस्कार पाएका थिए।
इतिहासले भुलिसकेका एक धावकलाई उनको जीवनीमा आधारित फिल्मले एथ्लेटिक्स समर्थकमाझ पुनः परिचित गराएको थियो। 'भाग मिल्खा भाग' उनको जीवनमा आधारित थियो, जुन फिल्मका लागि उनले छोराको आग्रहमा एक रूपैयाँमा आफ्नो बायोपिक स्टोरी दिएका थिए।