काठमाडौं– कुवेतको जबेर अल अहमद रंगशालामा पहिलो मिनेटबाटै दबाबको सामना गरेको नेपालले अष्ट्रेलियासँग ०–३ गोलको हार बेहोरेको छ।
फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तगर्त कुवेतमा भर्खरै सम्पन्न खेलमा नेपालविरुद्ध अष्टरेलियाले ० –३ गोलको जित निकालेको हो।
अष्ट्रेलियाका लागि म्याथिउ लेखी, फ्रान कारासिच र मर्टिन बोएलले गोल गरेका थिए। राति पौने १० बजे सुरु भएको खेलको छैटौं मिनेटमा लेखीले गोल गर्दै अष्ट्रेलियाले अग्रता बनाएको थियो। त्यस्तै, खेलको ३८ औं मिनेटमा फ्रान कारासिचले गोल गरेपछी पाहुना टिमले दुई गोलको अग्रता बनाएको हो।
कारसिचले अष्ट्रेलियन टिमबाट डेब्यू गोल गरेका हुन्। यता नेपालका रोहित चन्दले पहिलो हाफको अन्तिम मिनेटमा रेड कार्ड पाएका थिए। उनी नेपाली टिमका लागि सबैभन्दा सिनियर र उत्कृष्ट सेन्ट्रल डिफेन्डर हुन्। यससँगै अष्ट्रलियाले पहिलो हाफमा १० खेलाडीमा सीमित नेपाललाई दुई गोलले पछि पार्यो।
त्यस्तै, दोस्रो हाफको सुरुबाटै दबाब बनाएको अष्ट्रेलियाका मर्टिन बोएलले दुई पटकको प्रहार लक्ष्यमा राख्न नसके पनि ५७ औं मिनेटमा भने पोस्टनजिकैबाट गोल गरेका थिए।
खेलको अधिकतम समय नेपाललाई खतरा हुने क्षेत्रमा अष्ट्रेलियाले बल खेलेको थियो। यसक्रममा उसले लगातार प्रहार गरेको थियो। तीनबाहेकका सबै प्रहार नेपालका गोलकिपर किरण कुमार चेम्जोङको हातमा पुगेर रोकिएको थियो।
खेलको अन्तिम समयमा नेपालका तीन युवा खेलाडीले डेब्यू गरेका थिए। खेलाडी आयुष घलान, कमला थापा र सुरज जिउ ठकुरीले खेलको इन्ज्युरी समयमा राष्ट्रिय सिनियर टिमबाट डेब्यू गरे।
नेपालले छनोटको अन्तिम आठौं खेल खेलेको छ भने अष्ट्रेलियाले सातौं खेल खेल्दैछ। आजको खेलबाट अष्ट्रेलियाले जित निकाल्दै ऊ एक खेल अगावै अर्को चरणमा पुगेको। अष्ट्रेलियाले अन्तिम खेलमा जोर्डनसँग खेल्नेछ।