मोडर्न ओलम्पिकको इतिहासमा तीनपटक मात्र प्रतियोगिता रद्द गरिएको थियो। १९१६, १९४० र १९४४ मा। ति तीनै पटक विश्वयुद्ध चलिरहेको थियो। त्यसैले चलिरहेको महामारीको दिशाविपरीत गएर आईओसीले प्रतियोगिता आयोजना गरे पनि कस्तो प्रतियोगिता होला अझै स्पष्ट छैन।
काठमाडौं - टोक्यो ओलम्पिक २०२० सुरू हुन अब मात्र दुई महिना बाँकी छ। अहिले विश्व कोभिड–१९ महामारीको चपेटाबाट मुक्त भइसकेको पनि छैन। यो अझै भयंकर रूपले बढिरहेको तथ्यांकले देखाउँछ।
यस्तो महामारीको समयमा पनि जापानले ओलम्पिकजस्तो विश्वस्तरीय प्रतियोगितालाई रद्द गर्ने विषयमा किन कुरा गर्दैन ? जब हामी यसको उत्तर भेट्छौं, त्यो सोचेजति सजिलो भने छैन।
अहिले जापानको अवस्था सुखद् छैन। राजधानी टोक्योमा कोरोनाभाइरसको ‘स्टेट अफ इमरजेन्सी’ बढाइएको छ। संक्रमितको संख्या स्थिर छैन। ग्राफ उकालो लाग्दो छ।
स्वास्थ्यविद् र जनताका विचारहरू ओलम्पिक रोक्नुपर्नेतर्फ उन्मुख भए पनि आयोजक समितिका पदाधिकारीबीच अहिलेसम्म ओलम्पिक गेम्स रद्द गर्नेबारे बहस र छलफल भएका छैनन्।
जापानमा हालै गरिएको एक सर्वेक्षणमा सहभागी ७० प्रतिशत जापानीले प्रतियोगिता रद्द गर्नुपर्छ भनेका छन्। उनीहरू ओलम्पिक होओस् भन्ने चाहँदैनन्। महामारीबीच जापानमा मात्रै होइन विश्वको कुनै ठाउँमा पनि उनीहरू ओलम्पिक नहोस् भन्ने चाहन्छन्। तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) चाहिँ समर्थकले खेल हेर्न पाउने गरीको गेम आयोजना गर्ने विचारमा तटस्थ रहँदै आएको छ।
गत वर्षको समरबाट एक वर्ष धकेलिएर यो वर्षको जुलाई २३ बाट तय गरिएको ओलम्पिक सुरक्षित तवरले सम्पन्न गर्ने ढिपी जापान सरकारले पनि कस्दै आएको छ। उसले प्रतियोगितालाई लिएर प्रश्न गर्न पनि सबैलाई सूचित गरिसकेको छ।
यति हुँदाहुँदै यो हप्ताको सुरुमा प्रधानमन्त्री योसिहिदे सुगाले जनताको पक्ष लिनुपर्ने बाध्यात्मक परिस्थिति आइपरेपछि पहिलोपटक भने कि सरकारले ओलम्पिकलाई पहिलो प्राथमिकतामा राख्ने छैन। जापनी जनताको विरोध चरमोत्कर्षमा पुगेपछि मात्र उनी यति भन्न बाध्य बनेका थिए। यद्यपि उनले अन्तिम निर्णय भने आईओसीको हातमा हुने बताएका थिए।
त्यसो भए खेलहरू रद्द गर्न कसले धेरै भूमिका खेल्छ ? के रद्द हुने सम्भावना छ ? भन्ने प्रश्न पैदा हुन सक्छ।
आईओसी र आयोजक सहर टोक्योबीच भएको सम्झौता स्पष्ट छ, त्यहाँ प्रतियोगिता रद्द गर्नेबारे कुनै कुरा छैनन्। त्यसैले गेम्स रद्द गर्ने अधिकार आईओसीलाई मात्र हुनेछ, जापानलाई हुने छैन।
‘यो किनभने ओलम्पिक गेम्स आईओसीको सबैभन्दा ठूलो सम्पत्ति हो,’ अन्तर्राष्ट्रिय खेलकुदका अधिवक्ता अलेक्जेन्डर मिगल मास्ट्री भन्छन्, ‘त्यसैले आईओसी नै गेम्सको अधिकारी भएकाले उसले मात्र सम्झौता फिर्ता लिन सक्ने छ।’
मिहीन रूपले हेर्दा ग्लोबल प्रतियोगिता रद्द गर्न युद्ध, शीतयुद्ध वा अराजकताबाहेक एक कारण अवश्य छ। त्यो कारण टोक्योले आईओसीलाई लिखित रूपमा देखाए आईओसीले आफ्नै विवेक प्रयोग गरेर रद्द गर्ने बाटोतर्फ जान सक्ने छ।
अहिलेको जस्तो अवस्थामा स्थगन गर्ने आधारहरू त प्रशस्त छन्। खेलमा सुरक्षित रूपले उपस्थित हुने सम्भावना छैन, कुनै पनि कारण खेलाडीलाई संक्रमण हुन सक्छ। तार्किक रूपमा भन्नुपर्दा महामारी मुख्य सुरक्षा थ्रेट हो।
ओलम्पिकको बडापत्रमा खेलाडीको सुरक्षा सुनिश्चितता गर्नुपर्ने र सुरक्षित खेललाई बढावा दिनुपर्ने बताइएको छ। यी सबै कुराका बाबजुद आईओसी प्रतियोगिता गराउने पक्षमा रहेको मास्ट्री बताउँछन्।
त्यसो भए के जापानले आईओसीको विरूद्धमा गएर प्रतियोगिता रद्द गर्ला त ? ‘आयोजक सहरको सम्झौताका विभिन्न बुँदाहरूमा यदी जापानले एकल रूपमा प्रतियोगित रद्द गर्छ भने त्यसले स्थानीय आयोजकलाई चुनौतीसँगै ठूलो घाटा लाग्ने छ,’ मेलबर्न विश्वविद्यालयका प्राध्यापक ज्याक एन्डरसन भन्छन्।
यता खेल कानुन विज्ञहरूले पनि यो सम्झौता छुट्टै प्रकारको भएको र आफूलो हस्ताक्षर गरेको आयोजकलाई त्यतिबेला नै थाहा भएको बताएका छन्। तर, विश्वभरि महामारी आउने छ भन्ने कुरा आयोजकलाई थाहा हुने कुरा होइन र थिएन। एन्डरसन भन्छन्, ‘सम्झौताले केही आकस्मिक घटना त देख्न सक्छ। तर अहिलेको जस्तो अवस्था देख्दैन। यो अवस्था अनुमानभन्दा धेरै फरक छ।’
उनले थपे, ‘क्यालेन्डरमा ओलम्पिक सबैभन्दा ठूलो कार्यक्रम हो। स्टेकहोल्डरले हजारौं हजार लगानी गरेका छन्। त्यस्तै आईओसीले पनि लगानी गरिसकेको छ। र, प्रतियोगिताको लागि धेरैको दायित्व सँगसँगै हुन्छ।’
तसर्थ वास्तविकतामा टेकेर अहिले जापान र आईओसी आफ्नो सम्झौताको काम पूरा गर्न लागिपरेका छन्। यो प्रतियोगिताका लागि सधैँ बिमा कम्पनी साथमा जोडिएको छ। आईओसी, आयोजक, खेलाडी र ब्रोडकास्टरले पनि आआफ्नो क्षेत्रमा बिमा गरेको हुन्छन्।
‘यो कुरा भन्न ठिक हुनेछ कि यदि प्रतियोगिता रद्द भएमा बिमाको ठूलो रकम भुक्तानी हुनेछ। यसबारे कुनै प्रश्न नै छैन,’ एन्डरसनले भने। बिमाले आयोजकको रकम पूर्ति गर्न सहयोग गर्नेछ। तर, अप्रत्यक्ष खर्च भने पूर्ति हुन सक्ने छैन। जुन समर्थकबाट उठाउन खोजिएको हुन्छ। त्यो रकम पूर्ति हुँदैन।
उदाहरणका लागि जुन होटेलहरूमा गरिएको खर्च छ त्यो पूरा हुन गाह्रो पर्नेछ।
आलोचनाको गुन्जाइस
अहिलेको सन्दर्भमा खेलको भविष्य अनिश्चयको बन्दी भएको छ। पछिल्लो वर्ष स्थगित भएपछि ओलम्पिकको बाटो निकै अप्ठ्यारो भएको देखिन्छ। अन्तर्राष्ट्रिय समर्थकलाई जापान आउन बन्देज गरिएको छ।
साथै प्रतियोगिता बन्द रंगशालामा गर्ने पनि कुराहरू भइरहेका छन्। केही खेलाडीहरूले प्रतियोगिताले जन्माउन सक्ने खतराबारे पनि बोलेका छन्। केहीले यो कुरालाई सामान्य बताएका छन्।
खासमा त्यस्ता खेलाडी जसले ओलम्पिकका लागि भनेर वर्षौँदेखि मेहेनत गरिरहेका छन्। उनीहरूको योगदानलाई कदर गर्दै विश्वभरिको महामारीलाई लिएर पनि ध्यान दिनुपर्ने छ। यो व्यक्तिगत र सामुदायिक स्वास्थ्यसँग जोडिएको कुरा पनि हो। त्यसैले ओलम्पिकलाई एउटा मात्रा डाइमेन्सनमा हेर्न मिल्दैन।
जापानीकी ग्लोबल टेनिस स्टार नाओमी ओसाकाले यो विषयमा बयान दिएकी छन्। ‘म ओलम्पिक आयोजना होओस् भन्ने चाहन्छु,’ उनले यो हप्ता भनेकी छन्, ‘तर मलाई लाग्छ विश्वमा त्यो भन्दा धेरै महत्त्वपूर्ण कुराहरू चलिरहेको छ। खासगरी पछिल्लो वर्षबाट।’
‘त्यसैले मलाई लाग्छ यो आयोजना गर्नु भनेको मानिसलाई रिस्कमा राख्नु हो। र, आज मैले जे सोचिरहको छु, त्यो बहसको विषय पनि हो,’ उनले थपिन्, ‘र, अन्तिममा म चाहिँ एक खेलाडी मात्र हुँ। विश्वभरी महामारीको सन्त्रास फैलिएको छ।’
जापानमा सुरक्षा थ्रेट देखिएपछि ओलम्पिक तयारीमा रहेको यूएसएको ट्याक एन्ड फिल्डको टिमले गएको हप्ताबाट आफ्नो अभ्यास रद्द गरेको छ। त्यहाँका प्रदेश प्रमुखले पनि खेलाडीको हितका लागि अहिलेको अवस्थामा सबैभन्दा उत्तम निर्णय लिएको बताएका छन्।
ओलम्पिकमा सहभागिताबारे यस्तै खाले अनिश्चितता अन्य ठाउँबाट पनि भएका छन्। आयोजक सहरका केही टाउनहरूमा खेलाडीको नाम प्रतियोगिताबाट फिर्ता लिने काम भइरहेको छ।
प्रतियोगिता गर्नका लागि निश्चित गरिएका ठाउँहरूमा पनि कोभिडको त्रासका कारण स्थानीय आतंकित बनिरहेका छन्। यसैबीच टोक्यो सहरका गभर्नरले एक अस्पतालमा खेलाडीका लागि बेड सुरक्षित गर्ने प्रस्ताव अस्वीकार गरेको बताएका थिए। त्यसपछि उनले प्रतियोगिता स्थगन र रद्द हुनेबारे पनि शंका नगर्न सुझाएका थिए।
उनको वक्तव्यपछि डाक्टरहरूको समूहले एक सूचना जारी गर्दै माहामारीको ग्राफ उकालो लागिरहेको अवस्थामा प्रतियोगिता गर्न सम्भव नभएको उल्लेख गरेका थिए।
त्यसैले प्रतियोगिताबारे अहिले धेरै कुराहरू अन्योलमा छन्। रद्द हुने वा नहुनेबारे पनि थाहा छैन। तर, स्वास्थ्य विज्ञहरूले प्रतिकूलताको घण्टी बजिरहेको बताउँदा रद्द हुनेबारे खेल वृत्तमा हल्ला सुरू भइसकेको छ।
जापानका लागि प्रतिष्ठाको प्रतियोगिता
प्रतियोगिता आर्थिकभन्दा धेरै जापानको प्रतिष्ठासँग जोडिएको छ। त्यसैले गेम्स रद्द भएमा उसको प्रतिष्ठामा आँच आउने विश्वास गरिएको छ। त्यसमाथि अर्को ओलम्पिक २०२२ मा तय गरिसकिएको छ। जुन अर्को एसियाली मुलुक चीनको राजधानी बेइजिङमा हुनेछ। आउँदो फेब्रुअरीमा।
त्यसैले प्रतियोगिता स्थगित गरेर ग्लोबल क्यालेन्डरमा नयाँ मिति खोज्नु मुर्खता हुनेछ। र, जापानको सीमित शक्ति महामारीबीच नै सही प्रतियोगिता हुनुपर्नेमा अडिग छ।
जापानले अन्तिम पटक १९६४ मा ओलम्पिक आयोजना गरेको थियो। त्यतिबेला उनीहरूले आफ्नो देश विश्वकप पछि पुनर्निर्माण हुँदै गरेको ठूलो उदाहरण प्रस्तुत गरेका थिए। जसले उनीहरूलाई विश्वसामू उभिन प्रेरणा दिएको थियो। अहिले टोक्यो ओलम्पिक २०२० गेम्सले पनि जापानका लागि त्यस्तै महत्त्व राख्छ।
एन्डरसन भन्छन्, ‘जापानले आफूलाई आर्थिक हबका रूपमा लामो समयदेखि हेरिरहेको छ। त्यहाँ सुनामी र न्युल्कियर डिजास्टर भएको थियो। र, यो खेलले ऊ ती घटनाबाट मुक्त भइसकेको देखाउन सहयोग गर्छ। त्यो कुरामा गेम्सले ठूलो महत्त्व राख्छ।’
अन्त्यमा खेल अघि बढ्छ कि बढ्दैन भन्ने प्रश्न उनीहरूलाई नै जान्छ कि जापानीहरू अघि बढ्छन कि बढ्दैनन्। मोडर्न ओलम्पिकको इतिहासमा तीन पटक मात्र प्रतियोगिता रद्द गरिएको थियो। १९१६, १९४० र १९४४ मा। ती तीनै पटक विश्वयुद्ध चलिरहेको थियो।
त्यसैले चलिरहेको महामारीको दिशाविपरीत गएर आईओसीले प्रतियोगिता आयोजना गरे पनि कस्तो प्रतियोगिता होला अझै स्पष्ट छैन।
(आन्द्रेस इलमरले बीबीसीका लागि लेखेकाे सामग्री बिनय ज्याेति सापकाेटाले भावानुवाद गरेका हुन्।)