काठमाडौं– जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबारको पहिलो खेलमा चितवन फुटबल क्लब बुटबल लुम्बिनी फुटबल क्लबसँग बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा चितवन र बुटवल लुम्बिनीले २(२ गोलको बराबरी खेलेका हुन्।
चितवनका लागि जर्ज पृन्स कार्की र टेक बहादुर गुरुङले १–१ गोल गरे भने बुटबल लुम्बिनीका लागि आशिष लामा र लक्ष्मण रुचालले गोल गरे।
खेलको १५ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीले पोस्ट अघिबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
त्यस्तै दुई पटकसम्म किपरको हातबाट उम्किएको बललाई प्रहार गर्दै खेलको १९ औं मिनेटमै टेक बहादुर बुढाथोकीले अग्रतालाई दोब्बर बनाएका थिए।
यससँगै पहिलो २० मिनेट अगाबै चितवन २(० गोलको अग्रतामा आयो। तर खेलको ३१ औं मिनेटमा आशिष लामाले बुटबल लुम्बिनीका लागि गोल गर्दै पुनरागमन प्रयास गरेका थिए।
पहिलो हाफमा यसबाहेक अन्य गोल नभएपछि खेल २–१ को नतिजामा रोकिएको थियो। दोस्रो हाफको ५६ औं मिनेटमा बुटबलले गोल गर्दै पुनरागमन सफल बनाएको थियो।
यसपटक मिडफिल्डर लक्ष्मण रुचालले पावरफुल सट प्रहार गर्दै बललाई नेट चुमाएका थिए। त्यसलगत्तै चितवनका रुप बहादुर लामाले बिटबलको पोस्टमा बलियो प्रहार गरे पनि गोलकिपर विशाल श्रेष्ठले बचाए।
दोस्रो हाफमा दुवै टिमले अन्य केही राम्रा मुभ बनाए पनि गोलमा परिवर्तन हुन नसकेपछि खेल २(२ गोलको बराबरीमा रोकियो।
यससँगै चितवनले लगातार दुई बराबर खेल्दै २ अंक जोडेको छ। पहिलो खेलमा जित निकालेको बुटबल लुम्बिनिले दोस्रो खेलमा बराबरी गर्दै ४ अंक बनाएको छ।
आजको दोस्रो खेलमा विराटनगर सिटी फुटबल क्लबले पोखरा थन्डर्सको सामना गर्दैछ।