काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले गौरव बस्नेतलाई छ महिनाका लागि राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
मंगलबार एन्फाका महासचिव इन्द्रमान तुलाधरले हेड कोचमा नियुक्त भएका बस्नेतलाई जिम्मेवारी दिएको एन्फाले जानकारी दिएको छ।
एन्फाको फुटसल कमिटीको सिफासिमा संघले उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो। उनले यसअघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक भएर काम गरेका थिए। उनले एएफसी र एन्फाको ए लाइसेन्स कोर्ष गरेका छन्।
‘मलाई प्रशिक्षणको जिम्मेवारी दिएकोमा एन्फालाई धन्यवाद दिन चाहन्छु। नेपाली फुटसलको विकासमा केन्द्रित रहनेछु,’ हेड कोचमा नियुक्त भएपछि बस्नेतले भने।
उनको प्रशिक्षणमा नेपाली टिमले आउँदो अक्टोबरमा हुने २०२२ एएफसी फुटसल एसिया कपको छनोट खेलमा सहभागी बन्नेछ।