काठमाडौं- गत वर्ष २४ अगस्टमा विश्व फुटबल वृत्त युरोपतिर केन्द्रित थियो। यूईएफए च्याम्पियन्स लिगको फाइनल खेलले विश्वभरका फुटबल फ्यानलाई तानेको थियो। युरोपको सशक्त फुटबल टिम मानिने बायर्न र पीएसजी उपाधिका लागि मैदानमा थिए।
पोर्चुगलको लिस्बन रंगशालामा दर्शकलाई फाइनल हेर्न अनुमति नभए पनि धेरैका नजर टेलिभिजन सेटअघि थिए।
पीएसजीलाई १–० ले हराउँदै उपाधि जर्मन क्लब बायर्नले लगेको थियो।
मंगरबार (आज) राति पीएसजी त्यही दिनको बदला दिने तरखरमा छ। पछिल्लो सिजनको फाइनलमा भेट भएका यी दुई टिम यो सिजनको क्वार्टरफाइनलमै भेट भएका हुन्। जारी सिजनकै सबैभन्दा रोमाञ्चक हुने विश्वास गरिएको पीएसजी र बायर्नबीचको खेल आज राति पीएसजीकै मैदानमा पौने १ बजेबाट हुँदैछ।
उसो त पीएसजीले पहिलो लेगमा जित निकालिसकेको छ। तर फर्ममा रहेको बायर्न हार मान्ने टिम होइन। गत वर्ष क्वार्टरफाइनलमा बार्सिलोनालाई ८–२ गोलअन्तरलाई हाराएको बायर्न यो सिजनमा पनि कमजोर छैन।
पहिलो लेगमा पीएसजीसँग आफ्नै मैदानमा ३–२ गोलको हार व्यहोरेको बायर्न पीएसजीलाई पन्छाउँदै सेमीफाइनल पुग्न चाहन्छ। ६ पटक उपाधि जितेको टिमका लागि त्यो सपना टाढा नरहेको बताउनेहरू धेरै छन्।
अहिलेको समयमा च्याम्पियन्स लिग जित्ने बढी महत्वाकांक्षा लिएको टिम पीएसजी हो। च्याम्पियन्स लिगको उपाधिको चाहना बायर्नभन्दा पीएसजीलाई बढी छ। पिएसजीका मालिक नासर अल खेलाइफीदेखि प्रशिक्षक माउरिसियो पोचेटिनो पनि उपाधि जित्न चाहन्छन्। च्याम्पियन्स लिग जित्दै ब्राजिलियन फरवार्ड नेयमार विश्वकै ठूलो मूल्यमा पीएसजी गएको भनेर आलोचना गर्नेको मुखमा बुझो लगाइदिन चाहन्छन्।
पिएसजीका मालिक नासर अल खेलाइफीदेखि प्रशिक्षक माउरिसियो पोचेटिनो पनि उपाधि जित्न चाहन्छन्।
फिफा विश्वकपमा आफूलाई 'अब्बल' सावित गरिसकेका फरवार्ड केलियन एम्बाप्पे भने च्याम्पियन्स लिगमा पनि आफूलाई स्थापित गर्न चाहन्छन्।
उनीहरुको सपना पछिल्लो सिजन बायर्नकै कारण सफल हुन सकेको थिएन। यो पटक पनि बाधा बायर्न नै छ। गेमचेन्जर नेयमारका निम्ति बायर्न चुनौती दिने टिम हो।
निरन्तर अपराजित यात्रा गरिरहेको बायर्नलाई हराउनु कठिन हो। त्यसैले मंगलबार राति फ्रान्सको राजधानी पेरिसमा सम्भवतः यो सिजनकै 'घमसान' प्रतिस्पर्धा हुँदैछ। यो खेलमा जित निकाल्ने टिम लिगको उपाधिको बलियो दाबेदार मानिनेछ।
मंगलबार राति नै हुने च्याम्पियन्स लिगको अर्को खेलमा प्रिमियर क्लब चेल्सीले पोर्चुगिज क्लब पोर्टोको सामना गर्दैछ। यो खेल पनि उत्तिकै प्रतिस्पर्धात्मक हुनेछ। कोभिड प्रोटोकलका कारण चेल्सी र पोर्टोबीचको खेल स्पेनको सेभियामा हुनेछ।