काठमाडौं- फुटबल फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)को तालिका सार्वजनिक भएको छ। स्पोट्स एन्ड इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा वैशाख ११ देखि जेठ १ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो।
५ दिन डबल हेडर (एक दिनमा दुई खेल) र बाँकी दिन एकएक खेल हुने जानकारी आयोजकले दिएको हो। दशरथ रंगशालामा हुने प्रतियोगितामा बाँकी १५ दिन एकएक खेल हुनेछन्।
२५ खेल हुने प्रतियोगिताको लिग चरणमा २१ खेल हुनेछन् भने प्ले अफमा ४ खेल हुने तय भएको छ। आयोजकका अनुसार लिग चरणका कुनै खेलको बीचमा रेस्ट डे दिइएको छैन। तर लिग चरणपछि २७ वैशाखमा र फाइनलको एक दिन अघि (३१ वैशाख)मा ब्रेक दिइएको छ।
लिग चरणका विजेता र उपविजेताबीच पहिलो क्वालिफायरमा भेट हुनेछ। सो खेलमा जित निकाल्ने टिम प्रतियोगिताको फाइनलमा पुग्नेछ। त्यस्तै, लिग चरणको तेस्रो र चौथो स्थानमा रहने टिमले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्।
दोस्रो क्वालिफायरमा पराजित टिम प्रतियोगिताबाट बाहिरिने छ भने विजेता टिमले पहिलो क्वालिफायरमा पराजित भएको टिमसँग इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ।
इलिमिनेटरमा विजयी भएको टिम फाइनलमा प्रवेश गर्नेछ। इलिमिनेटरको विजेता र पहिलो क्वालिफाइरको विजेताबीच उपाधि भिडन्त जेठ १ गते हुनेछ।