काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले भारतको उत्तराखण्डसँग टी–२० र एक दिवसीय मैत्रीपूर्ण महिला क्रिकेट आयोजना गर्ने निर्णय गरेको छ। आइतबार बसेको बैठकले आगामी अप्रिल तेस्रो साताबाट मैत्रीपूर्ण खेल खेलाउने निर्णय गरेको क्यानले जानकारी दिएको हो।
डेढ वर्षदेखि रिक्त महिला राष्ट्रिय टिमको प्रशिक्षकमा जगत टमटालाई नियुक्त गर्ने निर्णयसमेत भएको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मैत्रीपूर्ण खेल आयोजना गर्ने निर्णय भएपनि क्यानले अहिलेसम्म महिला टिमको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट भने गरेको छैन।
यसैगरीऽ महिला तथा पुरुष खेलाडीको सेन्ट्रल कन्ट्याक्ट मे महिनाको दोस्रो हप्तासम्ममा सम्पन्न गर्ने क्यानको निर्णय छ। यसका लागि राजुबाबु श्रेष्ठ, सञ्जयराज सिंह र प्रशान्त विक्रम मल्ल गरी तीन सदस्यीय समितिसमेत बनाइएको छ। समितिमा थप दुई जना एक्सपर्ट रहनेछन्। समितिले सन् २०२१ का लागि सेन्ट्रल कन्ट्राक्टमा पर्ने खेलाडीको निधो गर्नेछ। सेन्ट्रल कन्ट्याक्टमा पुरुष र महिला टिमका समान १८-१८ खेलाडी रहनेछन्।
क्यानको बैठकले यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको प्रायोजनका लागि वाइवाईसँग सम्झौता गर्ने निर्णय समेत भएको छ।