काठमाडौं- वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ। आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कास्य जित्दै च्याम्पियन बनेको हो।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोस्रो भयो।
तेश्रो स्थानमा चित्त बुझाएको रेज फिट्नेसले १ स्वर्ण र १ कांस्य हात पार्यो। शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे।
ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका रोशन अछामी र महिलामा रेजकी तेजी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
पुरुष ६० केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका रजत विजेता एपीएफका मंगलप्रसाद थारू, खुला तौलसमूहमा एपीएफका सञ्जीव महर्जन, ७५ केजीमा आर्मीका दलबहादुर घले, ६५ केजीमा आर्मीका राजेश चौधरी, ५५ केजीमा एपीएफका तीर्थराज थापा, ७० केजीमा आर्मीका सन्नी सुनार र ५० केजीमा एपीएफका रोशन अछामीले स्वर्ण जिते।
महिला ६० केजीमा एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी मन्जु विक, खुला तौलसमूहमा आर्मीकी विन्दु पुन मगर, ५० केजीमा रेजकी तेजी गुरुङ र ५५ केजीमा आर्मीकी मनीषा प्रधानले पहिलो स्थान हात पारे।
प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले समान ८–८ हजार नगद पुरस्कार हात पारे।