काठमाडौं- कराँतेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र फुटबलकै हरि खड्का विभिन्न मान पदवीबाट विभूषित भएका छन्।
नेपाली खेलकुदमा विषेश योगदान दिने विभिन्न व्यक्तिहरु शुक्रबार राष्ट्रिपति निवासमा आयोजित एक कार्यक्रमबीच विभूषित भएका हुन्। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मान पदकसहित सम्मान गरिन्।
१३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानि भए।
फुटबल प्रशिक्षक हरि खड्का र राष्ट्रिय महिला फुटबल टिमकी सावित्रा भण्डारी जनसेवाश्री चतुर्थबाट सम्मानित भएका छन्।
खड्काले १३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनी पुरुषतर्फ सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन्। निरन्जन रायमाझीले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
यता महिला टिमकी फरवार्ड भण्डारी नेपाली राष्ट्रिय टिमकी सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म ३८ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्।
शितल निवासमा आयोजित समारोहमा ब्याडमिन्टनका प्रिन्स दाहाललगायत अन्य खेलाडी पनि विभूषित भएका थिए।