काठमाडौं- दाङको लमहीमा सम्पन्न पीएपम कपको विजेता प्रदेश १ लाई दुई विकेटले हराउँदै विभागीय टिम एपीएफले ललितपुर मेयर कप टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ।
शनिबार त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पुरा ओभर खेलेर चार विकेट गुमाउँदै १०६ रन बनाएको थियो।
१०७ रन लक्ष्य पाएको एपीएफले दुई विकेटको क्षतिमै १२ बल बाँकी रहँदा पुरा गरेर पहिलो जित पोल्टामा पार्यो।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४२ र रोमा थापाले ३३ रन जोडिन्। एपीएफका रेखा रावल, करुणा भण्डारी, कप्तान सीता राना मगर र बिनु बुढाले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा कप्तान मगर र ज्योति पाण्डेले क्रमशः ५२ र ३२ रन बनाए। प्रदेश १ की कप्तान क्षेत्री र संगीता राईले १–१ विकेट लिए।
आजकै दोस्रो खेलमा मेयर ११ लाई सुदूरपश्चिमले ७ विकेटले हराएको छ। टस जितेर ब्याटिङ राजेको मेयर ११ ले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०७ रन बनाएको थियो।
१०८ रनको लक्ष्य सुदूरपश्चिमले एक ओभर बाँकी रहँदै मात्र तीन विकेट गुमाएर पुरा गर्यो।
खेलमा मेयर ११ की कन्चन श्रेष्ठले अविजित ६३ रन बनाइन्। त्यस्तै सुदूरपश्चिमकी मन्जु बोगटीले ४१ रनको योगदान दिइन्।
यो जितसहित एपीएफ र सुदूरपश्चिमले समान २–२ अंक जोडेका छन्।