काठमाडौं- विराज महर्जन नेपाली फुटबल क्षेत्रको एक विराट नाम हो। उनकै संघर्ष पथबाट नेपालले थुप्रै अन्तर्राष्ट्रिय उपाधि उचालेको छ।
उनले आफ्नो १३ वर्षे खेल यात्रा निकै उतारचडावपूर्ण बिताए। बलसँग लडीबुडी गर्दै २००८ मा पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय मैदानमा टेकेका विराजको यात्रा आजसम्म जारी थियो।
तर, आज त्यो यात्रामा उनी आफैले पूर्णविराम लगाइदिए र बने पूर्वअन्तराष्ट्रिय खेलाडी ‘कप्तान विराज महर्जन।’
नेपाली फुटबलका १३ औँ कप्तान विराजले गह्रौं मन बताउँदै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्। र, आजैबाट आफ्नो १३ वर्षे अविछिन्न यात्रामा पूर्णविराम लगाएका छन्।
दशरथ रंगशालामा थ्री नेसन्स कप सम्पन्न हुँदै गर्दा तीन देशको सहभागितामा खेल ६ दिनसम्म चल्यो। कप्तान रहँदारहँदै कप्तानी सम्हाल्न नपाएको यो उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियागिता बन्यो।
अन्तिम पटक खेलिएको खेलबाट देशलाई उपाधि दिलाउँदै इतिहास रच्नु थियो उनलाई। उनले हजरौँ समर्थकमाझ बिदाइका हात हल्लाउँदै संन्यास घोषणा गरे।
को हुन् विराज ?
विराज अखिल नेपाल फुटबल संघ(एन्फा)का दोस्रो ब्याचका खेलाडी हुन्। उनले एन्फा एकेडेमी हुँदै न्यूरोड टिमबाट क्बल फुटबल सुरु गरेका हुन्।
सेप्टेम्बर १८, १९९० को दिन त्रिपुरेश्वरमा जन्मिएका उनी सानैदेखि फुटबलका सौखिन थिए। उनको परिवारको इच्छा पनि यही थियो कि विराजले राम्रो फुटबल खेल्न सकून्।
परिवारको त्यही भावनालाई आत्मसाथ गरेर खेल जीवनमा होमिएका उनले परिवार मात्र नभई देशलाई सुखद क्षणको महसुस गराए।
राष्ट्रिय टिमको यात्रा र उपाधि
पाकिस्तानविरुद्ध २००८ मा डेब्यु गरेका महर्जनले १३ वर्षको अन्तर्राष्ट्रिय खेल करियरपछि अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशसँग खेल्दै संन्यासको घोषणा गरे। पोखरा रंगशालामा भएको पाकिस्तानविरुद्धको फ्रेन्ड्ली खेलमा उनले २००८ मार्च २५ मा डेब्यु गरेका थिए।
तत्कालीन प्रशिक्षक श्याम थापाको विश्वासमा परेपछि उनले राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाएका थिए। त्यसपछि त उनी राष्ट्रिय टिमको पहिलो रोजाइमा परिरहे। दायाँ र बायाँ खुट्टा दुवैको उत्तिकै प्रयोग गर्न सक्ने क्षमतावान् विराज राष्ट्रिय टिमको राइट ब्याकमा जमेर खेल्नसक्ने खेलाडी हुन्।
डिफेन्डर रहँदै पनि उनले २००९ मार्च २८ मा एएफसी च्यालेन्ज कपमा कीर्गिस्तानविरुद्ध गोल गरेका थिए। राष्ट्रिय टिमबाट ७३ क्याप पाएका उनले यसअघि २०१९ जुन २ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मलेसियाविरुद्ध खेलेका थिए।
कप्तानी सम्हाल्दासम्हाल्दै राष्ट्रिय टिमको क्लोज क्याम्मै पर्न छोडेका महर्जन एन्फाले विश्वकप छनोटका लागि बोलाएको ५८ जनाको क्याम्पमा भने पर्न सफल भएका थिए।
तर उनको योजना भने त्यतिबेला नै आउँदो खेलबाट संन्यास लिने र एकजना उत्कृष्ट खेलाडीलाई कप्तानी सुम्पिने थियो। ‘एउटा राम्रो खेलमा अवसर पाएपछि राष्ट्रिय टिमको उत्कृष्ट लिडरलाई कप्तानी सुम्पिएर संन्यास लिन मन छ,’ मंसिर २८ गते लामो समयपछि बन्द प्रशिक्षणमा परेका महर्जनले भनेका थिए।
त्यसपछि उनी बंगलादेशविरुद्धको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै अन्तिम खेलमा २० मिनेट मैदानमा विताए। त्यसपछि उनले संन्यास घोषाण गरे।
संन्यास घोषणा गर्दै उनले भनेका छन्, ‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए पनि फुटबलबाट ‘गिभ अप’ गर्दिन। अब एक फ्याक्टरका कारण एक समय त खेल जीवन छोड्नु नै थियो। मेरो लागि यो नै उपयुक्त समय हो भन्ने लागेको छ।’
उनले थपे, ‘अहिले युवा ट्यालेन्टहरु पनि निकै आइरहेका छन्। उनीहरुलाई हौसला दिँदै म खेल जीवन अन्त्य गर्न गइरहेको छ। म चहान्छु हामीले पाएजस्तै वातावरण अन्य खेलाडीले पनि पाऊन्।’
नेपालका १६ औं कप्तान विराजले खेल जीवनमा राष्ट्रिय टिमबाट १८ खेलमा कप्तानी गरे। उनको कप्तानी नेपालका लागि सुखद रह्यो। २०१५ डिसेम्बर २७ मा भारतविरुद्धको खेलमा कप्तानी सम्हालेका उनले त्यसयता निकै उपाधि जितेका छन्।
त्यसयता उनले नेपाललाई बंगबन्धु कप र मलेसियामा आयोजित सोलिडारिटी कपको उपाधि जिताएका छन्। नेपालले दुवै उपाधि सन् २०१६ मा जितेको थियो।
उनको त्यो गुडलक नै भन्नुपर्छ कि नेपालको १५ औँ कप्तान अनिल गुरुङको अनुपस्थितिमा उनले आर्मब्यान्ड लगाउने अवसर पाएका थिए।
१२ औँ सागमा भने उनी पहिलो रोजाइका कप्तान थिए। उनको कप्तानीमा यू–२३ को त्यो टोली नेपालले पनि भारतको गुहावटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण चुमेको थियो।
नेपाली फुटबलका लिजेन्ड डिफेन्डर विराज सबैभन्दा धेरै पटक कप्तान सम्हाल्नेको चौथो स्थानमा पर्छन्। साथै राष्ट्रिय टोलीमा सबैभन्दा धेरै उपस्थित जनाउने खेलाडीमा पनि पर्छन् विराज।
घरेलु फुटबलमा विराज
राष्ट्रिय टिमका साथै उनको घरेलु फुटबलको उपस्थिति पनि निकै राम्रो छ।
थ्री स्टारबाट २००७ मा घरेलु लिगमा सफलता पाएका उनले २०१५ सम्म त्यहीँबाट खेले। डिफेन्डर रहे पनि उनले थ्रीस्टारबाट ११ गोल गरे। थ्री स्टारमा पुग्नुअघि उनले एनआरटीबाट पनि लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।
घरेलु लिगमा थ्रीस्टारबाट उपाधि जित्दै मनाङ मर्स्याङ्दी पुगेका उनले त्यहाँबाट पनि टिमको कप्तानी गर्दै क्लबलाई उपाधि दिलाएका थिए।
क्लबले आठौं उपाधि जित्दा कप्तान विराज नै थिए। पछिल्लो वर्ष मछिन्द्रले ठूलो लगानी गरेपछि मनाङ छुट्टिएर त्यसतर्फ लागेका उनले मछिन्द्रबाट कप्तानी गर्दै लिग जिते। यसरी उनी तीन फरकफरक टिमबाट सहिद स्मारक ए डिभिजन लिग जित्ने कप्तान बने।
थ्री स्टारबाट सन् २०१२–१३ बाट लिग जितेका कप्तानले मनाङ मस्र्याङ्दीबाट २०१८–१९ को सिजन जितेका थिए। मछिन्द्रबाट भने २०१९–२० मा तेस्रो पटक लिग जिते।
यसबाहेक उनले मोफसलका थुप्रै उपाधि जितेका छन्। माइभ्याली, झापा गोल्डकप, आहा रारा गोल्डकपदेखि खप्तड गोल्डकपसम्मको उपाधि उनले घरेलु फुटबलमा जितिसकेका छन्।
हाल मछिन्द्र क्लबबाट खेलिरहेका विराजले घरेलु फुटबलमा भने बुट बिसाएका छैनन्। फुटबललाई जीवन समर्पण गरेका उनको शरीरले धानेसम्म खेल्ने विचार छ।